११ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

माघ १ देखि इटा पोल्न थालिने

देशभरिका इटा उद्योगीहरूले यो वर्ष माघ १ गतेदेखि मात्रै इटाभट्टामा इटा पोल्न थाल्ने भएका छन्। वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरूले पहिलाभन्दा ढिलो इटा भट्टामा इटा पोल्न आगो लगाउने भएको जनाए।

वातावरण मन्त्रालयले वातावरण प्रदूषण बढी हुने गरेको भन्दै व्यवसायीहरूलाई सकेसम्म फागुनमा मात्रै इटाभट्टामा इटा पोल्न केही वर्षदेखि अनुरोध गर्दै आएको थियो। तराईमा शीत लहर, काठमाडौं उपत्यकामा हुसु लाग्ने गरेकाले पुस महिनामा इटाभट्टामा आगो लगाउँदा वातावरण प्रदूषण बढी हुने सरकारको भनाइ हो।

माघ फागुनदेखि हावाहुरी चल्ने भएकाले वातावरण प्रदूषण कम हुने सरकारको दाबी छ। सरकारी आग्रहलाई स्वीकार गर्दै व्यवसायीले गएका वर्षहरू भन्दा ढिलो गरी उद्योग सञ्चालन गर्ने भएका हुन्। बागमती प्रदेश इटा व्यवसायी संघका अध्यक्ष आशाकाजी त्वानाबासु व्यवसायीलाई पनि मर्का नपर्ने र वातावरण प्रदूषणलाई पनि ध्यान दिएर यो वर्ष देशभरि साविकभन्दा ढिलो मात्रै इटाभट्टामा इटा पोल्ने मिति तय भएको बताए।

सरकारले भनेजस्तै फागुनमा मात्रै इटा पोल्न सुरु गर्दा हामी व्यवसायी मर्कामा पर्छाैं, उनले भने, ‘यसो भनेर वातावरण प्रदूषण हुने विषयलाई पनि वेवास्ता गर्न भएन, त्यही कारण दुवैलाई मिलाएर माघ १ गते मात्रै इटा पोल्ने भएका हौंं।’

माघदेखि जेठसम्म पाँंच महिना उद्योग सञ्चालन गर्न पाउँदा व्यवसायीलाई पनि खासै समस्या नभएको उनको भनाइ थियो।

भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले भक्तपुरले सरकारको अनुरोध स्वीकार गरी गतवर्षदेखि नै माघ १ गतेबाट मात्रै इटा पोल्न थालेको स्मरण गरे। मंसिर महिना सिद्धिए लगत्तै भक्तपुरमा काँचो इटा उत्पादन गर्न सुरु हुने भएकाले पनि माघ १ गतेदेखि मात्रै इटा पोल्न थालिने उनले सुनाए। काठमाडौं उपत्यकाका इटाभट्टामा उपत्यकाबासीसँगै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, बारा, पर्सा, सर्लाही, महोत्तरी, सिराहा, सप्तरीलगायत जिल्लाका मजदुर परिवारसहित इटा बनाउन आउँछन्।

 त्यस्तै पश्चिमका रुकुम, रोल्पा, सल्यान र बाँकेका मजदुर इटा बोक्न प्रत्येक वर्ष यहाँ आउने गरेका छन्। इटा व्यवसायीहरूका अनुसार अहिले पनि इटा बनाउने मजदुर आउने क्रम जारी छ। इटा बनाउने र इटा बोक्ने मजदुर आउन बाँकी रहेको उनीहरूको भनाइ छ। त्यस्तै इटा पोल्ने भट्टामा काम गर्ने बोझाइम्यान र फायरम्यान पनि आउनै बाँकी रहेको जानकारी व्यवसायीहरूले दिएका छन्।

व्यवसायीहरूका अनुसार बोझाइम्यान र फायरम्यान सबै भारतबाट आउँछन्। इटाभट्टामा आगो लगाउने समय नभएसम्म उनीहरू आउँदैनन्।

एउटा इटाभट्टाले एक सिजनमा करिब ४५ लाखसम्म पाकेको इटा उत्पादन गर्ने तथ्यांक छ। नेपालभरि ११ देखि १२ सय इटा उद्योग रहेको तथ्यांक छ। बागमती प्रदेशको सन्दर्भमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङलगायतका जिल्लामा इटा उद्योग सञ्चालन हुन्छन्। यसबाहेक बागमती प्रदेशबाहेक सर्लाही, रौतहट लगायतका तराई जिल्लामा इटा उद्योग सञ्चालन हुँदै आएका छन्। साइज र गुणस्तर अनुसार अहिले सामान्यतया एक हजार पाकेको इटाको मूल्य डेलिभरीसहित १५ हजारदेखि १६ हजारसम्म रहेको जनाइएको छ।

प्रकाशित: ११ पुस २०८१ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App