२७ श्रावण २०७७ मंगलबार
समाज

वर्षातका कारण इँटा उद्योग बन्द

चितवन– नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन्। विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन्।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। जिल्लामा रहेका सबै उद्योग बन्द भएको उनले बताए। जिल्लामा १८ इँटा उद्योग रहेका छन्।

यही समयमा उत्पादन गरेको इँटाले कात्तिक/मङ्सिरसम्म धान्नुपर्ने भए पनि इँटा उत्पादन नहुँदा आउँदो आर्थिक वर्षमा यसको प्रभाव देखिने सापकोटाले बताए। पछिल्ला वर्षमा विभिन्न कारणबाट नोक्सान बेहोर्दै आएका इँटा व्यवसायीले इँटा उत्पादनमा ऋण नपाउने, बीमा नहुने, खुला आकाशमुनि काम गर्नुपर्ने र अर्धशिक्षित/अशिक्षित जनशक्तिसँग काम गर्नुपर्दा विभिन्न समस्या बेहोर्नुपरेको जनाएका छन्।

सापकोटाका अनुसार एउटा उद्योगमा पाँच देखि १० करोड रुपैयाँ लगानी भएको छ। यहाँको इँटा कास्की, गोरखा, लमजुङलगायतका जिल्ला जाने गर्दछ। निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको भन्दै उनले वास्तविक तथ्याङ्क सङ्कलन नभए पनि करोडौँको क्षति भएको सापकाेटाले बताए। रासस

प्रकाशित: १५ वैशाख २०७६ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App