२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

सर्लाही - जिल्लाकाे छुट्टाछुट्टै स्थानमा रहेकाे जलाशयमा पौडी खेल्ने क्रममा शनिबार डुबेर दुई बालकको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

जिल्लाको उत्तर–पूर्वी ईश्वरपुर नगरपालिका–९ कुरैनिया निवासी बिजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा डुबेर ज्यान गएको हाे। बाख्रा चराउन गएका बालकको पक्की बाँधमा डुबेर त्यहीँ मृत्यु भएको प्रहरीले जनाएकाे छ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।

दुवै बालकको शव पोष्टमार्टमका लागि साँझ जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

गर्मी छल्न खोला, नदी, नहरजस्ता जलाशयमा पौडी खेल्ने क्रममा डुबेर जिल्लामा हरेक गर्मी माैसममा  सर्वसाधारणकाे मृत्यु हुने गरेकाे छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा शनिवार दिउँसो बेहोस भएर ढलेका एक पुरुषको मृत्यु भएको छ।

हरिवन नगरपालिका–११ स्थित प्रहरी बिट अगाडि बेहोस भएर ढलेका बेवारिसे पुरुषलाई उपचारका लागि सुरक्षाकर्मीले तत्कालै नमूना अस्पताल हरिवन पुर्याएका थिए। तर अस्पताल पुग्नेवितिकै चिकित्सकले ऊनलाई मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ। 

अन्दाजी ७० वर्षका ती पुरुषको परिचय खुलाउन सबैतिर सोधखोज गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी बताए । खैरो रङको ट्राउजर र टि–सर्ट लगाएका पुरुषले हरिवन नगरपालिका ८, २०७५ लेखेको कालाे ब्याग बाेकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित: १४ वैशाख २०७६ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App