८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सावधानी र पुनर्निर्माणमा खेलाँची

काठमाडौं - २०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

भूकम्पमा क्षति पुगेका आधाभन्दा बढी सम्पदा टेकाको भरमा छन्। हजारांै नागरिक पालमुनि रात कटाइरहेका छन्। अबका दिनमा आइपर्ने आपत्विपद् सामना गर्न पूर्वतयारी नअपनाइएको विज्ञ बताउँछन्। भूकम्प प्रविधि समाजका पूर्वअध्यक्ष तथा भूकम्पविद् अमोदमणि दीक्षित भूकम्पले ठूलो पाठ सिकाएर गए पनि हामीले भावीको दिनमा यस्ता जोखिमबाट बच्नका लागि गरिएका तयारी निम्छरो रहेको बताउँछन्।

उनले भने, ‘भुँइचालो खुला विश्वविद्यालय हो। २०७२ को भूकम्पले धेरै कुरा सिकाएर गयो। तर, हामीमा चेत अझै आएन, फेरि लड्छौं।’ उनका अनुसार भूकम्पपछि विभिन्न संघसंस्था र यससँग सम्बन्धित अध्ययनकर्ताहले छुट्टाछुट्टै विवरण सार्वजनिक गर्दै आएका छन्। प्राकृतिक विपत्तिबाट जोगिनका लागि गरिएका प्रयास पनि चित्त बुझ्दो छैनन्। केही व्यक्तिगत संरचना भूकम्प प्रतिरोधात्कम शैलीमा ठडिए पनि अरु संरचनाको हालत उस्तै छ। यसले जनमानसमा गलत सूचना प्रवाह भइरहेको छ। ‘हामीकहाँ भूकम्पको अवस्था थाहा पाउने एउटै आधिकारिक निकाय छैन, खानी तथा भूगर्भ विभाग, अध्ययनकर्ता तथा अन्य निजी संस्थाले गरेको अड्कलबाजी फरकफरक छ,’ उनले भने, ‘भूकम्प यही बेला आउन सक्छ भनेर संसारमा कसैले भन्न सक्दैन, तर हामीले त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सक्छौं, यो हिसाबमा नेपाल निकै पछाडि छ।’ उनले भूकम्प गएको चार वर्ष बित्दा पनि यसले भत्काएका ऐतिहासिक सम्पदा उठाउने विषयमा सरकार गम्भीर नभएको बताए। ‘जनमानसमा जनचेतना बढेको चाहिँ छ, व्यक्तिगत रुपमा बनाइएका संरचनाको अवस्था पनि केही सुध्रिएको छ, तर सरकारले गर्नुपर्ने काम सारै नै सुस्त भए,’ उनले भने।

मानवनिर्मित संरचनाले नै थिचेर कैयौंको ज्यान गएको भूकम्पपछि पुष्टि भएको थियो। संरचनाकै कारण हुने क्षतिलाई ध्यानमा राखेर त्यति काम भएको छैन। केही निजी संघसंस्थाले निजी घर बनाउन नागरिकलाई तालिम दिए पनि सरकारी तवरबाट कमै काम भएका छन्।

विज्ञ भन्छन्– भुइँचालो खुला विश्व विद्यालय हो। २०७२ को भूकम्पले धेरै कुरा सिकाएर गयो। तर, हामीमा चेत आएन, फेरि लड्छौं।

पुनर्निर्माण प्राधिकरणकाअनुसार पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेकामध्ये ५० प्रतिशत प्रभावितले घर पुनर्निर्माण गरेका छन्। हालसम्म ७ लाख ६२ हजार ३ सयले अनुदान सम्झौता गरेका छन्। त्यसमध्ये ३ लाख ८२ हजार जनाले घर पुनर्निर्माण गरिसकेको प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक छ। अनुदान सम्झौता गरेकामध्ये ३० प्रतिशत घर निर्माणाधीन अवस्थामा छन्। २ लाख ३० हजार ६ सय घर पुनर्निर्माण भइरहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणका सहसचिव शिवहरि शर्माले सबै क्षेत्रको पुनर्निर्माणलाई चासो दिएर प्राधिकरणले काम गरिहेको बताए। उनले भने, ‘उपत्यकाका धरोहर पुनर्निर्माण काम पनि तीब्र रुपमा भइरहेको छ, पुनर्निर्माण कार्य सुरु भएदेखि नै प्राधिकरणले सम्पदाको अनुगमन निरन्तर गरिहेको छ। सम्पदा पुनर्निर्माण शैली अवलोकनका लागि कर्मचारी समेत छुट्याइएका छौं।’ उनका अनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माणको काम सकिएको छ। त्यस्तै, भूकम्पबाट ५ सय ४४ वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए। तीमध्ये ३ सय १२ वटाको भवन पुनर्निर्माण भइसकेको छ। विद्यालयतर्फ भत्किएका ७ हजार ५ सय भवनमध्ये ५६ प्रतिशत बनिसकेका छन्। २१ प्रतिशत भवन हाल पुनर्निर्माण अवस्थामा छन्।
गति लिँदै तीन सम्पदा

उपत्यकाभित्र रहेक तीनवटा महŒवकांक्षी सम्पदा धरहरा, काष्ठमण्डप र रानीपोखरी पुनर्निर्माणको काम अघि बढेको छ। काष्ठमण्डप १०, धरहरा १२ र रानीपोखरी ५ प्रतिशत काम भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पुनर्निर्माण कार्य सुरु भएको ३÷४ महिनामा सन्तोषजनक रुपमा काम भइरहेको छ। काष्ठमण्डप माघ, धरहरा पुस र रानीपोखरी फागुनमा पुनर्निर्माण कार्य थालिएको थियो। तीनवटै सम्पदालाई मूर्त रुप दिन उत्तिकै संख्यामा कामदार खटाइएको छ।

काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौत्तम डंगोलले पुनर्निर्माणका लागि सबैजसो सामग्री जुटाइसकिएकाले पकाम गति तीव्र रुपमा भएको जानकारी दिए। उनले समितिले पुनर्निर्माणका लागि चाहिने सबै पक्षसँग सहजीकरण गर्दै आइरहेको बताए। काठमाडौं महानगरपालिका– १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले सरसफाइलगायत काम सकेर रानीपोखरी सम्याउने काम भइरहेको बताए। ‘रानीपोखरी पुरानै शैलीमा बन्नेछ। बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने योजना तय भइसकेको छ। पोखरी वरिपरिको पोखरी क्षेत्रलाई थप आधुनिक र आकर्षक बनाइने छ,’ उनले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको विधिअनुसार पोखरीको मध्य भागमा कालिमाटी राखिने छ, माटोको तह तयार भएपछि करिब दुई फिट बालुवा राखिनेछ।’ काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ।

डंगोलका अनुसार धरहरा पनि मौलिक शैलीमा उठ्दै छ। २९ रोपनी फैलिने धरहरा ११ तलाको बन्नेछ। टुप्पोबाट उपत्यका पूरै नियाल्न पाइनेछ। पुनर्निर्माण सकिएपछि यो क्षेत्रफल आकर्षक हुनेछ। परिसर वरपर म्युजियम, वाटर फाउन्टेन, थिएटर, आकर्षक बगैंचा, पार्किङ, रेष्टुराँलगायत सुविधा रहनेछन्।

बुङमती १० प्रतिशत पनि काम भएन
ऐतिहासिक किम्वदन्ती बोकेको प्राचीन बस्ती बुङमतीलाई प्राथमिकतामा राख्दै त्यतिबेलाको सरकारले पुनर्निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै काम थालेको थियो। तर, चार वर्ष बित्दासम्म जम्माजम्मी १० प्रतिशत घरमात्रै बनेका छन्। त्यो पनि स्थानीयको पहलमा बनेका हुन्। यसबाहेक त्यहाँका ऐतिहासिक संरचना निर्माणको काम अलपत्र छ। स्थानीयले भत्किएका घरको भग्नावशेषसमेत हटाउन सकेका छैनन्। १३ सय घरधुरीमध्ये ८ सय ५३ घर भूकम्पबाट भत्किएका थिए। त्यसमध्ये जम्मा ७५/८० वटा मात्रै घर बनेका छन्। ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अमिरराज शाक्यले हालसम्म ७५/८० वटा मात्रै घर बनेको जानकारी दिए। उनले कतिपय स्थानीयले जबर्जस्ती मापदण्ड मिचेको बताए। ‘नगरपालिकाको मापदण्डलाई कुल्चेर यस क्षेत्रका धनी व्यक्तिले नै यसरी मापदण्ड मिचेका छन्,’ उनले भने, ‘२÷३ पैसामा बनेका घर छन्।’ बुङमती पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काटेर आरम्भ गरेका थिए।

प्रकाशित: १३ वैशाख २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App