जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ। आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न सकेको थिएन्।
यो भवन देख्दा बिरामी झस्कन्थे। असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए। आगजनीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोले समयमै अनुसन्धान प्रतिवेदन बुझाउन नसक्दा भवन निर्माणको काम अघि बढ्न सकेको छैन। अस्पतालको बीचैमा भताभुंग, लथालिंग भवन देख्दा बिरामीको मनस्थिति पनि बिग्रन्थ्यो।
तर कर्णाली प्रतिष्ठानले पटक पटक अनुसन्धानका विषयमा चासो राख्दै जादा प्रहरीले पत्र काटेर भवन नयाँ बनाउँदा पनि फरक नपर्ने जनाएको हो। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले आगजनी भवन प्रमाणका लागि राखिराख्न आवश्यक नदेखिएको भन्दै पत्र पठाएपछि आगलागी भवन भत्काएर नयाँ भवन लगाउन बाटो खुलेको बताउँछन्। उनले भने, ‘आगजनी भवन निर्माण गछौँ, अहिलेसम्मको सन्त्रास हटाउँछौँ। आकर्षक र बिरामीमैत्री भवन निर्माणमा जोड दिन्छौँ।’
जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र काट्दै आगजनी भवन निर्माणको काम अघि बढाउदा कुनै फरक नपर्ने बताएको छ । पत्रमा भनिएको छ,“ओपिडि भवनमा आगजनी भई क्षति भएको घटना सम्बन्धमा भवनको अनुसन्धान प्रक्रिया जारीरहेको र अनुसन्धानमा आवश्यक पर्ने भवन संग सम्बन्धीत विवरण प्राप्त भईसकेकोले भत्काउदा फरक नपर्ने उल्लेख गरेको छ।’ अनुसन्धान प्रक्रियाका लागि आगजनी भवन राखिराख्न जरुरी छैन। अनुसन्धान अघि बढेको छ। प्रतिवेदन आउँदै गर्छ, भवन निर्माण प्रक्रिया अघि बढाउँदै गर्दा हुन्छ।’
अहिलेसम्म आगजनी भवन अलपत्र अवस्थामा थियो। अब प्रतिष्ठानले आफ्नै लगानीमा भवन बनाउँदैछ। आगजनीबाट भएको क्षतिको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ। ओपिडी कक्षामा सञ्चालित उपकरण एकै ठाउँमा नहुँदा बिरामी अलमलमा पर्ने गरेका छन्।
जलेको उपकरणको कंकाल पनि अनुसन्धानका लागि पठाइसकिएको छ। प्रतिष्ठानले अनुसन्धानमा आवश्यक पर्ने सबै कागजात पठाइसकेको थियो। तर भवन निर्माणका लागि औपचारिक पत्र आउन सकेको थिएन। पत्र प्राप्त भए सँगै सुविधासम्पन्न भवन निर्माण गर्ने योजनामा कर्णाली प्रतिष्ठान छ।
आगजनीबाट यूएसजी मेसिन दुई वटा २७ लाख ३० हजार रुपैयाँ, यूएसजी मेसिज कलर डेप्लोपर २ लाख २९ हजार ६ सय २३, इन्डोस्कोपी मेसिन दुई वटा गरेर ३१ लाख, वायोएनआइजर मेसिन दुई लाख ५५ हजार, इलेक्ट्रोलाइट एरवा दुई लाख ४५ हजार, इसिजी सेट ५ लाख ९० हजार ९ सय ९० रुपैयाँ र एक्सरे मेसिन ९ लाख ५ हजार रुपैयाँ र जलेको ओपिडी भवनको मूल्य ८६ लाख २१ हजार ८ सय ४४ रुपैयाँ गरेर दुई करोड ७४ लाख ४१ हजार ९ सय ९ रुपैयाँ बराबर क्षति पुगेको थियो।
कर्णाली प्रतिष्ठानमा आगलागी भएको भवन ः डिबी ÷नागरिक
प्रकाशित: १२ वैशाख २०७६ १३:३२ बिहीबार