१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र खुम्बुको स्वच्छताका लागि सप्ताहव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ। अभियानभरि दुई हजार केजी फोहोर संकलन गरिएको निकुञ्जले बताएको छ। निकुञ्जको २४औं वन्यजन्तु सप्ताहका अवसरमा पर्यटकको प्रमुख गन्तव्यस्थल रहेको खुम्बु क्षेत्र सफा राखी पर्यटकको आकर्षणलाई कायम राख्न सरसफाइ अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।विश्वभरिमै परिचित पर्यटकीय क्षेत्र खुम्बुलाई स्वच्छ र सुन्दर तुल्याइराख्न सरसफाइको आवश्यकता रहेको र त्यसका लागि अभियानले महŒवपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

खुम्बुको प्रवेशस्थल लुक्लाबाट गत आइतबार सरसफाइ अभियान थालिएको थियो।सातौं दिन दिङ्बोचेदेखि बेसक्याम्पसम्मको क्षेत्र सरसफाइ गरेसँगै शनिबार अभियान पूरा भएको थियो। निकुञ्जवरपरका वन क्षेत्रको समेत सरसफाइ गरिएकाले वन्यजन्तुको वासस्थानको प्राकृतिक अवस्था कायम रहने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने निकुञ्जको भनाइ छ।पर्यटक तथा उनीहरूका सहयोगीले प्रयोग गरेका सामग्री जथाभावी फाल्ने र त्यस्ता फेहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा सो क्षेत्रमा फोहोर बढ्दै गएको थियो।अहिले दैनिक सयौंको संख्यामा पर्यटक तथा सगरमाथा आरोही खुम्बु क्षेत्रमा आउने गरेका छन् ।

दुई हजार केजी बढी फोहोर संकलन

सगरमाथा क्षेत्र सरसफाइ अभियानले खुम्बु क्षेत्र सफा भएको सन्देश जाने निकुञ्जले विश्वास लिएको छ।सरसफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, नेपाली सेना तथा निकुञ्जका कर्मचारीहरूको सहभागिता रहेको बताइएको छ।खुम्बु पासाङल्हमूु गाउँपालिकाका सम्बिन्धत वडाका वडाध्यक्ष, शमशेर गुल्म नाम्चेका गुल्मपति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय स्तरमा रहेका सरकारी कार्यालयका प्रतिनिधिहरू र स्थानीय समुदायको उल्लेख्य सहभागिता थियो ।

संकलित फोहोर काठमाडौं र ओखलढुंगा पठाइयो
सरसफाइबाट संकलित दुई हजार केजी फोहोर नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं र ओखलढुंगा पठाइएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।फोहोरलाई विभिन्न भागमा वर्गीकरण गरी स्थानीय स्तरमा व्यवस्थापन गर्न सकिनेजतिलाई नाम्चे क्षेत्रमै व्यवस्थापन गरिएको छ भने कुहिने र नकुहिने गरी हजार केजी फोहोर ओखलढुंगा र क्यान, सिसाको बोतलजस्ता नकुहिने र प्रशोधन गर्न सकिने फोहोर काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए ।

प्रकाशित: ९ वैशाख २०७६ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App