धादिङ - पाँच हजार नौ सय तीन मिटरको उचाइको धादिङकोे पाल्दोर हिमालका आरोहीले सफल आरोहण गरेका छन्। जिल्लाको पर्यटन विकासका लागि सातजना कोरियन, दुईजना मंगोलियन र पाँचजना नेपाली आरोहीले गणेश हिमालछेउ रहेको पाविल पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन्।
दक्षिण कोरियाका आरोही सांग लि हाको नेतृत्वमा कोरियन, नेपाली र मंगोलियन गरी १६ जना अप्रिल ७ मा सो हिमालको आरोहणमा गएका थिए। दुई जना कोरियन भने हाइक्याम्पसम्म मात्र पुगेका थिए।
एसिया पर्वतारोहण महासंघले आफ्नो २५औं स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै गरेको निर्णयका आधारमा पाल्दोर हिमाल छनोट गरी आरोहणको निर्णय गरेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए। ‘धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमालछेउ रहेको पाल्दोर हिमालको सफल आरोहण गरेका हौं,’ अध्यक्ष गुरुङले भने, ‘आरोहण टोलीले पाल्दोर हिमाल चुचुरोमा पर्यटन वर्ष २०२० का लोगो अंकित झन्डा र यूएएएको झन्डा फहराएका हुन्।’
आरोहण टोली चैत २४ मा काठमाडौंबाट हिँडेर धादिङको गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेंसी, गत्लाङ, सोम्दाङ, रुबी भ्याली हुँदै पाल्दोर पिक पुगी २०७६ वैशाख २ गते काठमाडौं फर्किएका थिए। यूएएए टोलीले संयुक्त रूपमा आरोहण गरेको यो दोस्रोपटक हो। यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो। संयुक्त आरोहण गर्दा एकअर्काका सिप तथा कला सिक्ने अवसर पनि पाउने गुरुङको भनाइ छ। पाल्दोक हिमालमा हालसम्म तीन सयभन्दा बढी आरोहीले आरोहण गरिसकेको पर्वतारोहण महासंघको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: ६ वैशाख २०७६ ०४:०० शुक्रबार