सोलुखुम्बु - वैशाख १ गते बिहान तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थलीतर्फ उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट अनियन्त्रित हुँदै हेलिपार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर तीन जनाको मृत्यु भएको घटनाले सरोकारवालाहरू झस्किएका छन्। सरोकारवालाहरूले यसको विकल्पको खोजी पनि थालेका छन्।
समुद्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरू बताउने गर्छन्।
अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए लुक्ला विमानस्थलमा विमानलाई सिधा अगाडि वा दायाँबायाँ मोड्न नसकिने हवाईसम्बन्धी जानकारहरूको भनाइ छ। नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले विमान अवतरणका बेला कारणवश मानिस, कुकुर, स्याललगायतका कारण धावनमार्गमा समस्या देखिए ‘गो–अराउन्ड’ गर्न सम्भव नहुने बताए। उनले भने, ‘त्यस्तो बेलामा अरू कुनै विकल्प छैन।’
अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलका रूपमा चिनिएको छ।
उडा र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलका रूपमा चिनिएको छ। अवतरणका समयमा विमान ओरालोबाट हल्का उकालो गुड्ने हुँदा ब्रेकका कारण छोटो धावनमार्गमा नियन्त्रण गर्न गाह्रो हुने अधिकारीको भनाइ छ। एकछेउमा सात सय मिटर अग्लो भीर भएकाले पनि तेन्जिङ हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ।
सगरमाथाको प्रवेशद्वार मानिएको लुक्ला विमानस्थलमा मौसमको चुनौती पनि उत्तिकै छ। हिमाली क्षेत्र भएकाले हुस्सु र हावाले उडानमा जटिलता थप्ने विमान चालकहरू बताउँछन्। यहाँ प्रायः बिहानी मौसम सफा रहने भएकाले अधिकतर उडान बिहानकै समयमा हुने गर्छन्।
विमानस्थल वरपरका डाँडामा पश्चिमी वायु ठोक्किएर बीचमै हावा घुमिरहने भएकाले पर्यटक आउने सिजन मानिने चैत–वैशाखमा पनि जहाज नियन्त्रणमा चुनौती देखिने गर्छ। वर्षा र वसन्त ऋतुमा बढी चल्ने हावाले विमालस्थलमा जटिलता थप्दै आएको छ। लुक्ला विमानस्थलको नाम पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्दै तेन्जिङ हिलारी विमानस्थल राखिएको हो।
आइतबार भएको दुर्घटनाको यही कारणले भयो भनेर यकिन गर्न सकिने अवस्था नभएको उड्ययनकर्मीहरूले बताएका छन्। धावनमार्गमा कुनै समस्या नभएको अवस्थामा यो दुर्घटना के कारणले भयो भनी यकिन गर्न नसकिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
आधा दर्जन दुर्घटना
सन् १९७१ देखि सञ्चालनमा आएको लुक्ला विमानस्थलमा सन् १९७३ यता साना–ठूला गरी १० भन्दा बढी दुर्घटना भएका छन् भने ती दुर्घटनामा परी दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ।
सन् २००८ मा भएको दुर्घटना लुक्ला विमानस्थलमा भएको सबैभन्दा ठुलोे दुर्घटना हो, जसमा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो। त्यसैगरी सन् १९९८ मा नेपाल एयरलाईन्सको विमान दुर्घटनामा परेको थियो। १ अक्टोबर २००४ अवतरणका क्रममा सीता एयरवेजको डोर्नियर–२२८ र ३० जुन २००५ मा विमानस्थलको धावनमार्गमा धस्सिएर गोरखा एयरलाइन्सको डोर्नियर–२२० विमान दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना चालक दलका तीन तथा नौ जना यात्रु घाइते भएका थिए।
विकल्पको खोजी
खुम्बु–पासाङल्हामू गाउँपालिकाभित्र पर्ने अर्को विमानस्थल हो, स्याङबोचे। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको सो विमानस्थलमा एमआई सेभेन्टिनको हेलिकोप्टरले कार्गो सेवा दिँदै आएको छ भने कुनै विमानले उडान नगरेको वर्षौं भइसकेको छ। सरकारले सिंगल इन्जिनका जहाजलाई रोक लगाएपछि डबल इन्जिनका लागि चाहिने रनवे नभएकाले त्यहाँ विमान अवतरण गर्न छाडिएको हो।
सो विमानस्थलमा नेपाल एयरलाइन्स, काष्ठमण्डप र तारा एयरले उडान गर्दै आएको थिए। विमानस्थल संचालन भएको केही समयपछि नेपाल एयरलाइन्सको जहाज कोङदे भीरमा ठोक्किएर दुर्घटना भएको थियो।
स्थानीय तहको निर्वाचनपछि स्याङबोचेलाई खुम्बु प्रवेशको विकल्पको रूपमा संचालन गर्न स्तरोन्नतिको काम अघि बढाइएको छ। स्तरोन्नतिका लागि टोपोग्राफी सर्भे सम्पन्न भइसकेको र निकुञ्जसँग छलफल गर्दै बाँकी प्रक्रिया अघि बढाइने खुम्बु–पासाङल्हामू गाउँपालिका–४ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले बताए। लुक्ला विमानस्थलको तुलनामा अपेक्षाकृत सुरक्षित मानिएको स्याङबोचे विमानस्थलमा डबल इन्जिनका जहाज उडान तथा अवतरणका लागि रनवेको दूरी लम्ब्याउनुपर्ने आवश्यकता रहेको छ।
प्रकाशित: ५ वैशाख २०७६ ०२:२८ बिहीबार