१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनप्रतिनिधि पनि तुइनमा तुर्लुंङ

खार्पुनाथ गाउँपालिकाको कार्यालय जान तुइन तर्दै पालिका उपाध्यक्ष सिन्धु शाही। तस्बिर : जनक/नागरिक

हुम्ला - सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुन्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नुपर्ने दिनचर्या नै बनेको छ हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको। जनप्रतिनिधि मात्र नभई स्थानीयले पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नुपर्ने बाध्यता रहेको खार्पुनाथ–३ की महिला सदस्य धना शाही बताउँछिन्।

चार–पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौंडा र याङचु कुनामा पुल बनाउने भन्दै बर्सेनी सर्भे त हुन्छ तर अहिलेसम्म पुल बनेको छैन। पुल नभएकाले पाँचवटा वडा भएको खार्पुनाथका २,३ र ४ वडाका जनता अध्यक्ष र उपाध्यक्षलाई पालिकाको केन्द्रमा जान तुइनमा तुर्लुङ्ङ झुन्डेर यात्रा गर्नेगरेका छन्। ‘कर्णालीमाथि तुइनमा यताउता गर्दा डर लागेर आङ सिरिङ हुन्छ,’ खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही भन्छिन्, ‘बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गर्छ।’

खार्पुनाथका मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन्। गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको छ। गाउँपालिका अध्यक्ष कर्ण रावलले पुल नहँुदा दैनिक स्थानीयको गुनासो सुन्दै आएको बताए । आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको उल्लेख गर्दै रावलले भने, ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । बिहान तुइनमै कर्णाली तर्छु । साँझ तुइनमै फर्किन्छु । वर्षौँदेखि तुइनकै भरमा यताउता गरेकाले बानी परिसक्यो ।’

रावलले पुल बनाउन आफूले कोसिस गरिरहेको पनि बताए। पछिल्लो चरणमा पालिका भित्रका तुइन भएका सबै स्थानमा पुल निर्माणका लागि टेण्डर प्रक्रिया चलिरहेको उल्लेख गर्दै उनले भने, ‘एक वर्षभित्र पुल बन्ने म आशावादी छु।’

प्रकाशित: २८ चैत्र २०७५ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App