२ असार २०८१ आइतबार
image/svg+xml
समाज

यार्सा टिप्न जान बालबालिकालाई रोक

जुम्ला–जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए। गाउँपालिकाले कुनै बालबालिकालाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ।

अधिकृत बढथापाले यार्सा टिप्न बालबालिकालाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताए। ‘बालबालिका यार्सा टिप्न जाँदा तीन महिना विद्यालय बन्द हुन्छन्, जसका कारण कोर्स सकिँदैन,’ उनले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौं।’ यार्सा संकलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावकहरू पाटन जाने गर्छन्, जसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन्। यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सरोकारवालाहरूले बालबालिकाको शिक्षा र भविष्यप्रति जिम्मेवार बन्न अभिभावकलाई दबाब दिँदै आएका छन्।

‘बालबालिका यार्सा टिप्न जाँदा तीन महिना विद्यालय बन्द हुन्छन्, जसका कारण कोर्स सकिँदैन,’ पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौं।’

गाउँपालिका अध्यक्ष लछिमाने बोहोराले पाटनबाट यार्सा बेचेर ल्याएको पैसा एकातिर बालबालिकाको शिक्षामा लगानी नहुने र अर्कोतिर विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएकाले स्थानीय तह निकै गम्भीर बनेको बताए। आय ‘आर्जनका लागि अभिभावक पाटन जाने कामले बालबालिकाको पढाइ प्रभावित हुनुहुँदैन,’ अध्यक्ष बोहोराले भने, ‘हामी शिक्षा नै जीवनको आधार हो भन्ने मान्यतालाई स्थापित गर्न शिक्षक, अभिभावक र विद्यालयलाई जिम्मेबार बनाउन लागिपरेका छौं।’

गाउँपालिकामा बालबालिकालाई पाटन नलैजान आग्रह गर्दै माइकिङसमेत गर्न थालिएको छ। अन्यत्र विद्यालय भर्ना अभियान सुरु वैशाख महिनामा जुम्लामा भने प्रत्येक विद्यालयमा गाउँ भेला गरेर बालबालिकालाई पाटन नलैजान र छोराछोरीको भविष्यप्रति जिम्मेवार हुन अभिभावकलाई आग्रह गर्ने गरिन्छ। अध्यक्ष बोहोराका अनुसार बालबालिकालाई पाटन जानबाट रोक्न निकै मिहिनेत गरिँदै छ, शैक्षिक सचेतना बढाउन ठाउँ–ठाउँमा सडक नाटक प्रदर्शनलाई अभियानकै अंग बनाइएको छ। ‘आशा छ यो वर्ष विद्यार्थी नभएर तीन महिना विद्यालय बन्द गर्नुपर्ने अवस्था आउनेछैन,’ बोहोराले भने।

पाटन नपठाउनेबारे छलफल चलाउन प्रत्येक विद्यालयलाई गाउँपालिकाले परिपत्रसमेत गरेको जनाउँदै अध्यक्ष बोहोराले भने, ‘तीन महिना पाटन बस्दा ५० हजार कमाउँछन् तर नियमित विद्यालय गए भविष्य बनाउनेछन्।’ पातारासीका नौ आधारभूत विद्यालयबाट थालिएको शैक्षिक जागरण अभियान वैशाख १० गतेसम्म चल्ने बताइएको छ। विशेष गरी माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाइएको हो। गाउँपालिकाले गरेको निर्णय अवज्ञा गरेर पाटन लैजाने अभिभावकलाई के गर्ने भन्ने विषयमा पुनः गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गर्ने बताइएको छ। वैशाख, जेठ र असार महिनामा यार्सा टिप्न यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन जाने चलन छ। अभिभावकहरू काखको बच्चा बोकेरसमेत यार्सा टिप्न पाटन जाने गर्छन्। जुम्लामा पढ्ने समयमा पाटन जाने र पछि महँगो शुल्क तिरेर ट्युसन पढ्ने परम्परासमेत हाबी छ।

प्रकाशित: २७ चैत्र २०७५ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App