७ वैशाख २०८१ शुक्रबार
समाज

दूधकोशी गाउँपालिकाका वडामा सार्वजनिक सुनुवाइ

सोलुखुम्बु – स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको जनगुनासो बढ्दै गएको अवस्थामा थुलुङ दूधकोशी गाउँपालिकाले भने हरेक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ। जनप्रतिनिधिलाई सुशासन, पारदर्शिता र जवाफदेहितामा सबल बनाउन गाउँपालिकाले वडा २ काँगेलबाट उक्त कार्यक्रम सुरु गरेको हो।

शनिवार सम्पन्न कार्यक्रममा काँगेलका सर्वसाधारणबाट आधा दर्जनभन्दा बढी गुनासा आएका छन्। सर्वसाधारणले सडक, सिँचाइ, अलपत्र स्कुल भवन र स्वास्थ्य चौकी भवन, प्रक्रियाअनुसार उपभोक्ता समिति गठन नगरिएको, कतिपय योजनागत बजेट गुपचुपमा राखिएको जस्ता गुनासो गरेका थिए। कार्यक्रममा उनीहरूले वृद्धभत्ता र विद्युत्को सवाललाई प्राथमिकताका साथ उठाएका थिए। वडा कार्यालयको आयोजना तथा सगरमाथा सतर्कता समाजद्वारा सञ्चालित सुशासन प्रवद्र्धन परियोजनाको सहजीकरणमा भएको सुनुवाइ कार्यक्रममा वडाअध्यक्ष उदयनारायण बस्नेतले वडा तहको योजनागत प्रगति, गाउँपालिका र प्रदेश सरकारबाट प्राप्त बजेट र योजनाको विषयमा जानकारी दिएका थिए।

अध्यक्ष बस्नेतले दिगो विकासका लागि सुशासन र पारदर्शितामा नचुकेको दाबी गरे। सर्वसाधारणको जिज्ञासामा जवाफ दिँदै उनले विकासका क्रियाकलापमा उपभोक्ता समिति र उपभोक्ता दुवैले सहयोग गरे दिगो विकासका काम गर्न सकिने बताए। काँगेल क्षेत्रमा चालू आवमा ४७ लाख ५२ हजार रुपैयाँबराबरका १५ वटा योजना सञ्चालित छन्। दोस्रो चौमासिकसम्म ७५ प्रतिशत योजना कार्यान्वयन भइसकेको वडा कार्यालयले बताएको छ।

चैत १७ गते वडा ६ मुक्लीमा, १८ गते वडा ३ पञ्चनमा, २० गते वडा ८ देउसामा र चैत २३ गते वडा ९ लोखिममा सार्वजनिक सुनुवाइ कार्यक्रमको तय भएको बताइएको छ। चैत २४ गते वडा ४ जुबु तथा चैत २५ गते वडा ५ जुबु र वडा ७ देउसामा सार्वजनिक सुनुवाइ हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए। वडा १ नेलेमा भने कार्यक्रमको मिति तय हुन बाँकी रहेको छ।

प्रकाशित: १९ चैत्र २०७५ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App