२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बबन्डरले टुक्रयायो घरपरिवार

बारा - फेटा गाउँपालिका ६ पुरैनियानिवासी ४५ वर्षीय फैजुलहक मियाँ ठकुराई सोमबार दिनभर हावाहुरीले लडाएको घरमा टोलाएर बसेका थिए। आइतबार साँझ अचानक आएको हावाहुरीले फैजुलको अर्धपक्की घर ध्वस्तमात्र पारेन, जीवनसँगिनीसहित परिवारका दुई सदस्यसमेत उनले गुमाए।

हावाहुरीले घर लडाउँदा भित्र रहेका फैजुलकी श्रीमती मुस्तकिमा खातुन र बुहारी गुलाबसा खातुनको मृत्यु भयो। ‘म त जितपुर जान हरिपुर पुगेको मात्र थिएँ,’ फैजुलले मलिन अनुहार पार्दै भने, ‘हावाहुरीले घर लडायो भन्ने खबर पाउनेबित्तिकै फर्किंदा साढे ९ बजे राति घर आइपुगें। श्रीमती र बुहारीको शव बाहिर निकालिसकिएको रहेछ। गाउँ पूरै अन्धकारमय बनेको रहेछ। घरबाहिर भएका बाबुछोरा बाँच्यौं तर घरमा बसेका श्रीमती र बुहारी गुमाउन पुग्यौं।’ फैजुलका एकमात्र छोरा रहिस आलम वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन्।

आइतबार साँझ अचानक आएको हुरीले बाराका विभिन्न गाउँमा २६ जना तथा पर्सामा एकजनाको मृत्यु भयो। सबैभन्दा जनधनको क्षति पुरैनिया गाउँले बेहोर्नुप-यो। पुरैनियामा मात्र दुई बालबालिकासहित नौजनाको मृत्यु भयो भने इजहार मियाँ अन्सारीको एकै परिवारका चारजनाको मृत्यु भयो। मुस्लिम समुदायको बाहुल्य रहेको पुरैनियामा मृत्यु हुने सबै मुस्लिम समुदायका छन्। बढीमा २ मिनेट चलेको हावाहुरीले पुरैनिया पूरै खण्डहर बनेको छ। ‘अचानक आगोको गोला आएको जस्तो लाग्यो, २ मिनेट जति होस नै उडेजस्तो भयो,’ पुरैनियाका सफी मोहम्मदले बेलिविस्तार लगाए, ‘लगत्तै मेरो घरवरिपरिका घर त पूरै लडिसकेछन्, हेर्दाहेर्दै गाउँ नै ध्वस्त भयो।’ यस्तो हावाहुरी र क्षणभरमै भएको विनाश आफ्नो जीवनकालमा पहिलो पटक देखेको ७२ वर्षीय मोहम्मदले बताए।

असिनापानी परेको र सबै गाउँले घरभित्र छिर्नेबित्तिकै अकल्पनीय ढंगले हावाहुरी आएर ठूलो जनधनको क्षति गरेको स्थानीय जफिर आलमको भनाइ छ। ‘असिना र पानी परेपछि सबै घरभित्र छिरे,’ आलमले भने, ‘तत्कालै यति जोडको धक्का महसुस भयो कि कल्पनै गर्न सकिएन, क्षणभरमै गाउँ ध्वस्त भयो।’ हावाहुरीले गाउँभरका बिजुलीका पोल भाँचेका कारण विद्युत् अवरुद्ध भएको र उद्धारमा समेत समस्या भएको आलमले जानकारी दिए। ‘जताततै ध्वंस भएको र विद्युत्समेत नहुँदा निकै कष्ट आइप¥यो,’ उनले भने, ‘स्थानीय प्रहरी प्रशासन पनि घटना भएको झन्डै २ घण्टापछि मात्र आइपुग्यो, बिजुली नहुँदा उद्धारमा समस्या भयो।’

हावाहुरीले पूरै खण्डहर बनेको पुरैनियामा सोमबार दिनभर महिलाहरू जताततै रोइरहेका देखिन्थे। मरेका चौपाया जताततै छरपस्ट लडिरहेका थिए। सीमित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय वृद्धदेखि बालबालिकासम्म लडेको घरका भग्नावशेष मिलाउनै व्यस्त थिए। स्थलगत अवलोकनका लागि आउने भिभिआइपीको सुरक्षा व्यवस्था तथा स्कर्टिङमै खटिनुपर्दा उद्धारमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको देखिएन।

बाँसका दर्जनौं झ्याङसमेत उखेलेर उल्टाएको हावाहुरीले गहुँ, मकै, दलहन, तरकारी बाली त सखाप नै पारेको छ। सडकमा जताततै बिजुलीका पोल, ट्रान्सफर्मर र तार छरपस्ट छन्। खाद्यान्न सहितको राहत वितरणको काम भने छिटफुट मात्र सुरु भएको छ। विद्युत् र टेलिफोन नहुँदा पुरैनिया पूरै अस्तव्यस्त बनेको छ। घरमा रहेको खाद्यान्न, लत्ताकपडा समेत लथालिंग पारेकाले खाने र बस्ने चिन्ताले पुरैनियावासीलाई गाँजिरहेको छ। उद्धार र राहत वितरणको काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले उनीहरू साँझबिहान खाने र रात काट्ने कुराले चिन्तित बनेका छन्। ‘उद्धार त समयमा हुन सकेन, राहतको कुरै छाडौं,’ सफिर आलमले चिन्ता व्यक्त गरे, ‘पीडितलाई अब बेलुकाकै छाक टार्न र रात काट्न ठूलो समस्या देखिएको छ।’

कति घर क्षतिग्रस्त छन् र कति धनमालको नोक्सान भयो भन्नेबारे स्थानीय प्रहरी प्रशासनले यो समाचार तयार पार्दासम्म यकिन तथ्यांक निकालिसकेको छैन। तथापि पिलर नभएका र सिमेन्ट एवं माटाको जोडाइ रहेका सबै पक्की घर ढलेर नष्ट भएको देखिन्छ। राज्यका उच्चपदस्थ अधिकारीहरूमध्ये गृहसचिव प्रेमबहादुर राईको नेतृत्वमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोली पहिलोपटक बिहान साढे ११ बजे मात्र हेलिकोप्टरबाट पुरैनियामा उत्रियो। त्यसको एक घण्टापछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीसमेत पुरैनिया आइपुगेको थियो। प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्कै टोली भने दिउँसो २ बजेतिर मात्र पुरैनिया आएको थियो। प्रधानमन्त्री केपी ओली पनि बिहानै पुरैनिया आउने हल्ला चले पनि हेलिकोप्टरबाट एक फन्का आकाशमै घुमेर कलैया अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर फर्किए।

प्रकाशित: १९ चैत्र २०७५ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App