१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परिवारका ४ सदस्य गुमाएका अन्सारी भन्छन्, ‘हेर्दाहेर्दै घर नै चिहान भयो’

भुवार अन्सारीको भत्केको घरको दृश्य, आइतबार बेलुका घर भत्किँदा ४ जनाको ज्यान गएको छ। तस्बिर : उपेन्द्र/नागरिक

बारा– फेटा गाउँपालिकाका भुवार अन्सारी आइतबार साँझ खाना खान परिवारका ६ जना सदस्यसहित घरभित्र प्रवेश गरेका थिए। घरमा प्रवेश गरेको केही मिनटमै भीषण हावाहुरी चल्यो। घर भत्कायो। घर भत्किँदा भुवारसहित सातै जना पुरिए। तर, उनी बल्लतल्ल जिवित निस्किन सफल भए। 

इट्टाको पर्खाल र खपडाको छानो भएको घर भत्किँदा त्यसमा थिचिएका बुवा इजहार मिया, छोरा इसमान, आमा मिना खातुन र श्रीमती हुसैन तारा खातुनका साथै घरमा पाहुना बसेका दुई जना भान्जी रुखसार खातुन र दर्खसिदा खातुन गरी ६ जनालाई गाउँलेको सहयोगमा बाहिर निकालियो।

ती मध्ये बुवा र छोरा मात्रै जिवित छन्। आमा, श्रीमती र घोघलरियाबाट घरमा आएकी सात बर्षीया भान्जी रुखसार खातुन र हरपुरबाट आएकी आठ बर्षीय भान्जी दर्खसिदा खातुनलाई बचाउन नसकिएको भुवार मियाँले बताए। ‘आमा र श्रीमतीसँगै घरमा पाहुना आएका भान्जीहरुको मृत्युले घर नै चिहानजस्तो बनेको छ’, उनले दुखेसो गरे। सोमबारदेखि फेटा गाउँमा लागने जाल्सा (मुस्लिम समुदायको धार्मिक कार्यक्रम) हेर्नका लागि घरमा भाञ्जीहरु पाहुना बनेका आएको उनले जानकारी दिए।

पुरैनियाका पीडित मंजुर मियाले बाहिर खेलिरहेको अवस्थामा छोरीहरु सबनम खातुन र रुबी खातुनलाई घरभित्र बोलाउँमा थिचिएर मृत्यु भएको सुनाए। ‘ठूलो हवाहुरी र धुलोका बचाउन भित्र बोलाए। तर, घरनै काल बन्यो’, उनले दुखेसो गरे, ‘कहिल्यै नदेखेको तीव्र गतिमा आएको हावाले एकै छिनमा घर भत्काएर मेरो दुई छोरीको ज्यान लियो।’ हावाहुरीले छोरीको मृत्युका साथै बस्ने बास घर पनि पूर्ण रुपले क्षति हुँदा परिवार नै विचल्लीमा परेको उनले बताए। 

घर भत्किँदा परिवारको दुई सदस्य गुमाएका अर्का पीडित फैजुलहक मियाले आफू घरबाहिर रहेकाले बाच्न सफल भएको बताए। उनको घर भत्किँदा श्रीमती टैरी खातुन र बुहारी बिवी खातुनको मृत्यु भएको छ। ‘हावाहुरीले श्रीमती र बुहारी लग्यो, बस्ने घर पनि लग्यो, अब कहाँ जाने?’ उनले प्रश्न गरे।

पुरैनियाका स्थानीय कपिला मियाका अनुसार फेटा गाउँपालिका ६ पुरैनियामा आइतबार अचानक आएको तीब्र गतिको हावाहुरीले गाउँको ४० प्रतिशत घर पूर्ण रुपमा क्षति गरेको छ। १० जनाको मृत्यु भएको छ भने सयौं घाइते छन्।  

उनले गाउँमा रहेको पुस, खपडा र पक्की घरहरु पूर्ण रुपले क्षति हुनुको साथै विद्युतीय पोल, रुख र बाँसलाई समेत हावाहुरीले उखेलेको बताए। पुरैनियामा मात्रै एक सय १० वटा भन्दा बढी घरलाई पूर्ण रुपले क्षति पुगेको बारा प्रहरीले जनाएको छ। हावाहुरीका कारण जिल्लामा २६ जनाको मृत्यु भएको छ भने मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ।

बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हावाहुरीले पुरैनियामा १०, भलुहिमा ५, धर्मनगरमा ४ जनाको मृत्यु भएको बताए। त्यसैगरी सुवर्णनमा १ जना, गण्डकमा १ जना र अन्य स्थानमा गरी २६ जनाको मृत्यु भएको पुष्टि भएको शाहीले बताए।
डिएसपी शाहीका अनुसार हावाहुरीमा परी सयौंको संख्यामा घाइते भएको र उनीहरुको कलैया अस्पताल, वीरन्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेजसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भुवार अन्सारीको भत्केको घरको दृश्य, आइतबार बेलुका घर भत्किँदा ४ जनाको ज्यान गएको छ। तस्बिर : उपेन्द्र/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App