२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आँखा बैंक भए पनि नानी सुरक्षालाई तिलगंगाकै भर

चितवन - भरतपुर आँखा अस्पतालमा २०७४ जेठमा आँखा बैंक स्थापना भएयता ५५ जनाको आँखा प्रत्यारोपण गरिसकिएको छ। आवश्यक पूर्वाधार नहुँदा अस्पतालले आँखा बैंकमार्फत संकलन गरेको आँखाको नानी (कर्निया) तिलगंगाकै आँखा बैंकमा पठाउने गरिन्छ र आवश्यकताअनुसार समन्वय गरेर मगाइन्छ।

आँखा बैंकमा हालसम्म चार जनाको आँखाको नानी संकलन भइसकेको छ भने दुई सय ५२ जनाले नानी दानका लागि इच्छापत्र बुझाइसकेका छन्। ‘चितवनमा संकलित कर्निया प्रोसेसिङका लागि काठमाडौं पठाउनुपर्ने अवस्था छ,’ अस्पतालका प्रबन्धक दयाशंकर चौधरीले भने, ‘अस्पतालमा आवश्यक मेसिनरी पूर्वाधार तयार गर्ने योजनाअनुसार बैंक स्थापना गरिए पनि पूर्वाधार तयार भइनसकेको छैन।’ बैंकमा संकलित कर्निया एक दिनभित्रै तिलगंगामा रहेको आँखा बैंकमा पठाइन्छ।

आँखा बैंक स्थापना गर्न भरतपुरका दम्पती भीमराज र उषामाया पाठकले एक करोड ५० लाख रुपैयाँ अस्पताल सहयोग गरेका हुन्। सोही रकमबाट आँखा बैंकका लागि आवश्यक पूर्वाधार तयार गरिएको छ। अस्पतालले नानी संकलन गर्न चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ। नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपछि मृत्यु भएकै स्थानमा पुगेर संकलन गरिन्छ। व्यक्तिको मृत्यु भएको ६ घन्टादेखि १२ घन्टाभित्र नानी झिकिसक्नुपर्छ। इच्छापत्र नभरेका व्यक्तिको मृत्युपछि पनि आफन्तले खबर गरे नानी संकलन गर्न सकिने व्यवस्था अस्पतालले गरेको सहायक प्रबन्धक छाया श्रेष्ठ बताउँछिन्। उनका अनुसार देवघाटधामा अन्तिम संस्कार गर्न ल्याउने मृतकका शरीरबाट पनि आँखाको नानी संकलन गर्न सकिने सम्भावना छ। अस्पतालले देवघाटमा नानी संकलनका लागि उपसंकलन केन्द्र स्थापना गर्ने योजना अघि बढाएको उनले बताइन्।

आँखा प्रत्यारोपण गर्न सकिने बिरामीको संख्या धेरै भए पनि आँखाको नानी संकलन न्यून भएकाले प्रत्यारोपणका लागि तिलगंगा अस्पतालको आँखा बैंककै भर पर्नुपर्ने बाध्यता अस्पताललाई रहेको श्रेष्ठ बताउँछिन्।

११ हजार रुपैयाँमा आँखा प्रत्यारोपण गर्न सकिने सुविधा अस्पतालले दिँदै आएको छ। आँखा प्रत्यारोपण गर्न सकिने बिरामीको संख्या धेरै भए पनि आँखाको नानी संकलन न्यून भएकाले प्रत्यारोपणका लागि तिलगंगा अस्पतालको आँखा बैंककै भर पर्नुपर्ने बाध्यता अस्पताललाई रहेको श्रेष्ठ बताउँछिन्। आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र अन्य कारणले दृष्टि गुमाएका व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरिन्छ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाले आँखा अस्पताल सञ्चालन गर्दै आएको छ। अस्पताल २०४४ सालको चैतमा स्थापना गरिएको हो। अस्पतालले भरतपुर हाइटमा चिजकुमार विष्णुकुमारी बहिरंग सेवाका साथै नवलपुरको कावासोती, पर्साको टोरी, धादिङको सल्यानटार, बाराको सिमरनगढ, चितवनको माडी, पर्सा, टाँडी, सौराहा र चनौलीमा आँखा उपचार केन्द्र स्थापना गरेर आँखाका बिरामीलाई सेवा दिँदै आएको छ। चालू आर्थिक वर्षको आठ महिनामा ६६ हजार सात सय ७६ बिरामीले अस्पतालबाट सेवा लिएका छन्। जसमध्ये दुई हजार नौ सय २६ जना बिरामीको शल्यक्रिया गरेर आँखाको उपचार गरिएको छ। यो अवधिमा अस्पतालले १५ वटा सर्जिकल क्याम्प आयोजना गरेको छ। निःशुल्क उपचार गरिने क्याम्पमा १३ हजार दुई सय ३५ जनाले आँखा जाँच गराएका छन्। क्याम्पमा आएका दुई हजार तीनजना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

नेपाल नेत्रज्योती संघको ४१औं र आँखा अस्पतालको ३१औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरिएको संघको चितवन अध्यक्ष कृष्णराज धरेल बताउँछन्। स्थापना दिवसको अवसरमा चितवन जिल्ला कारागारमा रहेका कैदीबन्दीको चैत १३ गते, देवघाटधामको धर्मार्थ अस्पतालमा चैत १८ गते निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App