११ आश्विन २०७७ आइतबार
समाज

साना आयोजनामा जुट्नै स्थानीय

प्युठान नगरपालिका–३ सेपुंगका स्थानीय श्रमदानमा सडक निर्माण गर्दै। तस्बिर : शमशेरविक्रम/नागरिक

शमशेरविक्रम जिसी
प्युठान - प्युठान नगरपालिका जिल्लाको सबैभन्दा जेठो र सम्पन्न नगरपालिका हो। सम्पन्न नगरपालिकामा पनि यस्ता गाउँ छन् जहाँ अझैसम्म सडक सञ्जालको राम्रो व्यवस्था पुग्न सकेको छैन। भएका सडक पनि भत्किएर हिँड्नै नमिल्ने भएका छन्।

सडकले साह्रै सास्ती पाएपछि प्युठान नगरपालिका–३ सेपुंगका स्थानीयले डोजरबिनै गाउँमा सडक निर्माण अभियान सम्पन्न गरेका छन्। सेपुंगका स्थानीयले गाउँमा पुग्ने सडक आफ्नै श्रमदानमा निर्माण गरेका हुन्। सरकारले एक करोडभन्दा कम बजेटका आयोजनामा डोजर लगाउन प्रतिबन्द गरेसँगै श्रमदानबाटै सडक निर्माण गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले बताए।

सडक निर्माणका लागि गाउँमा बेरोजगार बसेका युवायुवतीले रोजगारी पाएपछि स्थानीयले नगरप्रमुखलाई धन्यवाद दिए। तीन किलोमिटर सडक निर्माण गर्ने गरी स्थानीय अहोरात्र खटिएका छन्। उनीहरु घरमा भएका गैटी, बेल्चा, कुटो, कोदालो लिएर बाटो खन्ने काममा लागेका छन्। मोटरबाटो निर्माण भएपछि प्युठान नगरपालिकाको मुख्य व्यापारिक केन्द्र बिजुवार जुर्मिसँग सेपुंगको सिधा सम्पर्क हुनेछ। सडक निर्माण पुरा भएपछि प्यूठान– रोल्पाको सिधा सम्पर्क पनि स्थापित हुनेछ। सडक खदचौर, डाडाँगाउँ, सेपुंग हुँदै देउराली पुग्नेछ।

गत सातादेखि सेपुंगबासीले बाटो निर्माण थालेका हुन्। आठ वर्ष पहिले गाउँमा सडक सञ्जाल पुगेको थियो। ‘एक पटक बनेको बाटोको समयसमयमा मर्मतसम्भार नहुँदा आउजाउ गर्नै समस्या भएको थियो,’ स्थानीय तुलसा कुँवरले बताइन्, ‘अहिले नगरपालिकाले बजेट दिएपछि आफैं निर्माणमा जुटेका छौं।’ एक साता पहिलेदेखि निर्माण थालिएको सडक केही दिनमै सकिने वडा अध्यक्ष प्रेम हमालले बताए। सडक निर्माण गाउँका ३६ युवाहरु संलग्न छन् जसमा २४ महिला र १२ पुरुष छन्।

आयस्रोत पनि हुने र बाटो पनि हुने भएपछि बाटो निर्माणमा गाउँले कस्सिएका हुन्। ‘गाउँमै काम पाएपछि गाउँहरुले पनि खुसी छन्,’ वडा अध्यक्ष हमालले भने, ‘सडक निर्माणको काममा लाग्दा आयस्रोतको आधार पनि भएको छ र बाटो पनि बन्ने भएको छ।’ दिनभर काम नभएर खाली समय बिताइरहेका स्थानीयलाई वडाले काम दिएकोमा खुसी लागेको युवा किसान विकले सुनाए। सडक खेनेबापत महिला पुरुष दुवैले समान ५ सय रुपैयाँ ज्याला पाउँछन्।

३६ जनाको समूहले दैनिक १९ हजार २ सय रुपैयाँ ज्याला बुझेर काम गरिरहेका छन्। २ लाख रुपैयाँलागतमा निर्माण गर्न लागिएको हो। २ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने वडा अध्यक्ष हमालले जनाए।
यसअघि वडा कार्यालयले डोजर लगाएर काम गर्ने तयारी थालेको थियो। तर स्थानीय आफैंले सडक खन्ने भनेपछि गाउँलेबाटै सडक खनिएको वडा अध्यक्ष हमालले बताए। वडावासीका प्राथमिकतालाई नै प्राथमिकता दिएर काम गरेको वडा अध्यक्ष हमालले बताए। ‘वडाले लगाउने काममा पहिलो प्राथमिकता स्थानीय वडावासी नै हुन्छन्,’ उनले भने, ‘डोजर लगाउनुभन्दा बरु हामीले नै खन्छौं भन्ने कुरा आएपछि हामीले स्थानीयलाई खन्ने जिम्मा दिएका हौं।’सो गाउँका पुरुषहरु रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएपछि गाउँमा महिला बढी छन्। सडक निर्माणमा पनि महिलाकै संख्या अधिक छ। ‘आम्दानीको बाटो भयो। मान्छले काम पाए। सबै दंग छन्,’ स्थानीय तुलसा सुनारले भनिन्। कामबापत आएको पैसाले खर्चको जोहो भएको उनले बताइन्। ‘यही पैसाले केटाकेटीको कापीकलम र फिस तिर्न त पुग्यो नि,’ सुनारले भनिन्।

प्रकाशित: ३ चैत्र २०७५ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App