८ वैशाख २०८१ शनिबार
समाज

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङ – खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुव्र्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

यौन  दुर्व्यवहार भएको भन्दै फागुन १४ गते प्रहरीचौकी जालपामा निवेदन दिएकी पीडित युवती र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिन अस्वीकार गरेपछि यौन दुव्र्यवहारको घटनालाई आर्थिक प्रलोभनमा मिलाउने प्रयास भएको खुलेको हो। सुरुमा प्रहरीचौकीमा पीडकविरुद्ध निवेदन दिएकी युवतीले जाहेरी दरखास्त दिन भने आनाकानी गरेपछि सम्झाई–बुझाई गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

यौन  दुर्व्यवहार गरेको भन्दै प्रहरीचौकीमा निवेदन परेपछि विक फागुन १५ गते पक्राउ परेका थिए। उनले पीडित युवतीमाथि फागुन १३ गते यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। घटनाले अझै पनि बलात्कारका घटना आर्थिक प्रलोभनमा ढाकछोप हुने गरेको देखाएको छ। आरोपितले महिलाको संवेदनशील अंगमा छोएको र चुम्बन गरेको पीडित पक्षको भनाइ छ।

मिलापत्र गराउने षड्यन्त्रका बीच ढिलै भएपनि पीडकविरुद्ध मुद्दा दर्ता भएको अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताईन्। यौन दुव्र्यवहारका घटनामा मिलापत्र गराउन केही स्थानीय नेतासमेत लागि परेको स्रोतको भनाइ छ।

प्रहरी चौकीमा निवेदन दिए पनि जिल्ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दरखास्त दिन दुई दिनसम्म आनाकानी गरेपछि प्रहरी नै पठाएर पीडितलाई सम्झाई बुझाई गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बलात्कार प्रयास भएको जानकारी आएपछि प्रहरीचौकीबाट खटिएको प्रहरीले समेत युवतीमाथि यौन दुव्र्यवहार भएको यकिन गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमै युवतीमाथि यौन दुव्र्यवहार भएको देखिएपछि सम्झाई–बुझाई गरेर फागुन १७ गते पीडकविरुद्ध जाहेरी दरखास्त परेको डिएसपी केसीले बताए। ‘प्रहरी चौकीमा परेको निवेदनका आधारमा पीडकलाई पक्राउ गरियो तर पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दरखास्त दिन अस्वीकार भयो,’ डिएसपी केसीले भने, ‘महिलाको अस्मितासँग जोडिएको विषयमा छलफल या मिलापत्र हुँदैन, कानुनी हिसाबले मुद्दा दर्ता गरेर कारबाही अघि बढाउनुपर्छ भनेर पीडितलाई जाहेरी दिन तयार पारिएको हो।’

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App