१० आश्विन २०७७ शनिबार
समाज

‘रोलमोडल’ मधेसी महिला

रामझरी यादव तस्बिरः मिथिलेश/नागरिक

सिरहा - तीन वर्षअघि कृषि फर्म सञ्चालन गर्ने योजना सुनाउँदा गाउँका धेरैले रामझरी यादवको खिल्ली उडाए। तर अहिले उनै रामझरी गाउँकै ‘रोलमोडल’ मधेशी महिला बन्न सफल भएकी छन्।

सिरहाको औरही गाउँपालिका–४, खजनपुरकी उनी एकीकृत महिला कृषि फर्म खोलेर सफलताको सिढी उक्लिँदै गएपछि गाउँकै उदाहरणीय उद्यमी महिला बन्न सफल भएकी हुन्। अहिले उनले माछा, गाई, हाँस पालन तथा तरकारी खेती गरेर मनग्य आम्दानीमात्र गरिरहेकी छैनन्, मधेशी समाजमा नयाँ सोचको सञ्चारसमेत गरिरहेकी छन्। दूरदराजको देहात (गाउँ) मा महिलाको दिनचर्या चुलोचौकाबाट सुरु भई चुलोचौकामै सकिन्छ। घर बाहिर निस्किएर अन्य काम र उद्यममा लाग्ने इच्छा राख्नु असम्भव सपना देख्नुजस्तै हो। तर रामझरीले आफ्नो त्यस्तै सपनालाई साकार पारेरै छाडिन्। भन्छिन्, ‘धैर्यताका साथ आफ्नो कर्ममा अडिग भएर अघि बढिरहे एक दिन अवश्य सफल भइन्छ।’

सिरहाको औरही गाउँपालिका–४, खजनपुरकी रामझरी यादव गाउँकै उदाहरणीय उद्यमी महिला बन्न सफल भएकी छन् ।

उनी अगाडि थप्छिन्, ‘समाजले के सोच्छ, के भन्छ भन्दा पनि आफ्नो काममा केन्द्रित हुनुपर्ने रहेछ।’ अहिले उनैलाई हेरेर मधेसी समाजमा व्यवसायमा लाग्ने महिला बढ्दै गएका छन्।

संघर्ष यात्रा
रामझरी यादव तीन वर्षअघिसम्म गाउँमै छाप्रे पसल गर्थिन्। तर त्यसको कमाइले परिवारको गुजारा गर्न उनलाई धौ–धौ प-यो। त्यसपछि २०७२ सालमा रामझरीले गोलबजारमा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर मिर्चैयास्थित कृषि विकास बैंकबाट १० लाख रुपैयाँ ऋण लिइन्। त्यसमा आफ्नो बचतको रकमसमेत थपेर उनले गाउँमै २ बिघा ६ कठ्ठा जग्गा भाडामा लिएर दुईवटा गाई र तीनवटा पोखरीबाट कृषि व्यवसाय सुरु गरिन्। अहिले उनका नौवटा पोखरी र १५ गाई छन्। करिब दुई सय हाँस छन्। जसबाट दैनिक तीन हजारदेखि चार हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनी सुनाउँछिन्।

गाउँको छाप्रे पसलबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले महिला एकीकृत कृषि फर्मसम्म आइपुगेको छ। मधेसका थोरै सफल महिला उद्यमी÷व्यवसायीको सूचीमा माथि नै पर्छ उनको नाम। उनको कृषि फर्मबाट उत्पादित दूध नजिकैको गणेशपुर चोकस्थित चिस्यान केन्द्रमार्फत विभिन्न डेरीमा पुग्छ। व्यापारीहरू उनको फर्ममै आएर माछा तथा हाँसका अन्डा खरिद गर्छन्। महिनाको एक लाख रुपैयाँभन्दा बढीको व्यापार हुने रामझरी सुनाउँछिन्। रामझरीको मेहनतमा ऊर्जा थप्ने काम उनका पति रामप्रबल यादवले गर्छन्। उनी तालिममा गएका बेला फर्मको काम रामप्रबलले गर्छन्। ‘पतिको साथ नभएको भए परम्परागत मान्यताविपरीत म यस्तो व्यवसाय गर्न सक्दिनथें,’ रामझरी भन्छिन्।

घरेलु तथा साना उद्योग कार्यालय (लहान)का निमित्त प्रमुख लक्ष्मी पौडेल विगतमा छाप्रोमा पसल थापेर जेनतेन गुजारा गर्ने रामझरी अहिले यस भेगकै रोलमोडेल व्यवसायीको परिचय बनाउन सफल भएको बताउँछिन्। उनी भन्छिन्, ‘पैसामात्र होइन, इज्जत कमाउन पनि काम गर्नुपर्छ।’ रामझरी व्यवसायी मात्र होइनन्, गाई पालन, माछा पालन तथा घाँस उत्पादनसम्बन्धी तालिम दिने प्रशिक्षक पनि हुन्। उनी गाउँका अन्य महिलालाई समेत उद्यम, व्यवसाय, व्यापारमा लाग्न प्रेरित र प्रोत्साहित गर्ने गर्छिन्। अहिले उनी गाउँका महिलालाई समेटेर महिला सहकारी खोल्ने अन्तिम तयारीमा छिन्।

सामाजिक अभियन्ता रामरिझन यादव रामझरीको संघर्षबाट समाजले सिक्ने कुरा धेरै रहेको बताउँछन्। रामझरीले परम्परागत सोचलाई बदल्नुका साथै मेहनत गरे केही असम्भव छैन भनेर प्रमाणित गरेर देखाएको उनी बताउँछन्। ‘पहिला गिज्याउने, होच्याउने खिल्ली उडाउने समाज अहिले उनको सफलताको चर्चा गर्छन्,’ उनले भने।

प्रकाशित: २७ फाल्गुन २०७५ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App