१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झुक्याएर भारत पुर्‍याई हत्या

लहान - सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही गाउँका एक युवकलाई चिनजानकै व्यक्तिले झुक्याएर भारत लगि हत्या गरेको खुलेको छ। १७ वर्षीय सुभाष यादवको भारतमा लगि गोली हानी हत्या गरिएको हो।

पारिवारिक स्रोतका अनुसार फागुन ८ गते बुधबार परिचित व्यक्तिले बोलाएपछि सुभाष गाउँबाट कसहातर्फ आइरहेको ट्याक्टरमा बसेर कसहासम्म आएका थिए। कसहामा उनी भारतीय नम्बर प्लेटको मोटरसाइकल चालकको (चिनजानकै) पछाडि बसेर दक्षिणतर्फ गएका थिए। त्यसपछि घरपरिवारलाई ९ गते बिहीबार मात्र उनको मृत्युको खबर पुगेको थियो।

भारतीय प्रहरीलाई उद्धृत गर्दै मृतकका काका रामशेवक यादवले भने,‘गोली लागि घाइते अवस्थामा बुधबार राती उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। ढाँड र पेटमा गोली लागेका उनलाई खुटौना प्रहरीले उपचारका लागि दरभंगास्थित बिएमसिबी अस्पताल पुर्‍याएका थिए। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रहरीले पटना पुर्‍याए। उनको सोही अस्पतालमा मृत्यु भएको थियो। शुक्रबार लौकाहा ल्याएर प्रहरीले उनको शव परिवारको जिम्मा लगाएका थिए।

खुटौना प्रहरीसँग यादवले आफुलाई गोली हान्नेको हुलिया र नामका बारेमा जानकारी दिएका छन्। मृतकका काका यादवका अनुसार उपचारका लागि लैजादै गर्दा शुभाषले घटनामा संलग्नहरुको नाम खुटौना प्रहरीलाई दिएका छन्। खुटौना प्रहरीले सिरहा प्रहरीलाई घटनाबारे जानकारी दिइसकेको छ।

शुक्रबार पीडित परिवारले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) माधवराज खरेलले नागरिकसँग भने,‘शुक्रबार पीडित परिवारले किटानी जाहेरी दिएको छ, मैले जाहेरी अध्यन गरिसकेको छैन्।' घटनाबारे अनुसन्धान सुरु गरिसकिएको उनले बताए।

दीलिप यादव र सकुन्ता यादवका एक्ला छोरा थिए सुभाष। उनी लहानस्थित मनोकामना सेकेन्ड्री स्कुलमा कक्षा ९ मा अध्यनरत थिए। अष्टजामका (धार्मिक अनुष्ठान) लागि उनी घर आएका थिए। मृतकको बुबा दीलिप वैदेशिक रोजगारमा साउदी गएका छन्। घटनापछि आमा सकुन्ता पटक–पटक मुर्छा परिरहेकी छिन्। 

 

प्रकाशित: ११ फाल्गुन २०७५ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App