८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले दुई तिहाई बहुमतको दम्भ देखाउँदै अहिलेसम्म विपक्षीले नगरसभा हुन नदिएको आरोप लगाएका छन्। नगरपालिकाको कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरी मेयर यादवले कार्यपालिकामा दुई तिहाईको बहुमतमा रहेको नेकपाले नगरसभा हुन नदिँदा चालू खर्चबाहेक अन्य कुनै पनि शीर्षकको रकम खर्च हुन नसकेको बताएका छन्।

नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामध्ये १७ जना नेकपाको रहेका छन्। गत हप्ता ८ वटा वडाध्यक्षसहित उपमेयर कान्तिदेवी महतोले पत्रकार सम्मेलन गरी मेयर यादवले नगरसभा नै बोलाउन नचाहेको र प्रमुख प्रशासकीय अधिकृतसित मिलेर एकलौटी नगरपालिका सञ्चालन गरेको आरोप लगाएकी थिइन्। उपमेयरको पत्रकारसम्मेलन विरुद्ध मेयर यादवले मंगलवार तीनवटा वडाध्यक्षसहित पत्रकार सम्मेलन गरी उपमेयर पक्षले लालबकैया नदीको गिटी, बालुवा, ढुंगाको राजस्व असुली गरी केही रकम अहिलेसम्म बैंक दाखिला नगरेको आरोप लगाएका छन्।

गत पुसको पहिलो हप्तादेखि नगरपालिकाका कर्मचारीले नै गिटी, बालुवा र ढुंगाको राजस्व उठाइरहेको बताउँदै मेयर यादवले अहिलेसम्म बैंक खातामा ३३ लाख रुपैया जम्मा भइसकेको स्पष्ट पारेका छन्। मेयर यादवले उपमेयरको सहमतिमा प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत र वडाध्यक्षहरुको संयुक्त सहमतिमा कार्यालय अर्को ठाउँमा सारेको बताए पनि कार्यालय स्तरीय वा कार्यपालिकास्तरीय निर्णय भने नभएको स्वीकार गरेका छन्। उपमेयर पक्षले बिना निर्णय कार्यालय सारिएकोमा विरोध गर्दै आएको छ। 

पत्रकार सम्मेलनमा नगरपालिकाका खरिदार बिल्टु राय यादवले भूकम्प आउँदाको अवस्थाको जस्तो मेयर यादवको निर्देशनमा आफूले कार्यालय सारेको स्वीकार गरेका छन्।

लालबकैया नदीबाट चालू आर्थिक वर्षमा कति घन मिटर नदीजन्य पदार्थ उत्खनन गर्ने भन्ने विषयमा आफूलाई जानकारी नरहेको र कार्यालय प्रमुख सागर रोक्काले मात्र स्पष्ट पार्न सक्ने बताएका थिए। मेयरको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सागर रोक्का उपस्थित थिएनन्।

प्रकाशित: २९ माघ २०७५ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App