७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पोस्टमार्टममा कठिनाइ

खोटाङ - लघु जलविद्युत् आयोजनाको नहरमा डुबेर माघ १३ गते ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का नरबहादुर राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइयो। ऐंसेलुखर्क–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव ट्याक्टरमा हालेर दिक्तेल पठाउनुपरेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। यस्तै माघ ५ गते खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा फेला परेको बेवारिसे शव पनि पोस्टमार्टमका लागि कठिनाइका साथ उदयपुरको गाईघाट पुर्‍याइयो।

यी त उदाहरण मात्र हुन्। दिक्तेलबाट टाढाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नियमित नहुँदा मृतकका आफन्त शव ट्याक्टरमा हालेर दिक्तेलमा रहेको जिल्ला अस्पताल वा उदयपुर पुर्‍याउन बाध्य छन्। झुन्डिएर वा विष सेवन गरेर आत्महत्या गरेका, हत्या गरिएका र लडेर मृत्यु भएका शवलाई पोस्टमार्टम गर्नुपर्ने कानूनी प्रावधान छ। तर जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क र चिसापानीमा नियमित पोस्टमार्टम गर्ने व्यवस्था नहुँदा मृतक परिवार तनाव र अनावश्यक आर्थिक बोझ खेप्न विवश छन्। नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक समयमा पोस्टमार्टम हुन नसक्दा शव अस्पताल पुर्‍याउन ट्याक्टर उपयोग गर्नुको विकल्प छैन। ट्याक्टरमा शव बोक्न ५० हजारसम्म भाडा तिर्नुपर्ने अवस्था छ। शव बोक्ने सवारीसाधनको भाडा, ओहोरदोहोर गर्ने आफन्तका लागि गर्नुपर्ने खर्चका कारण कतिपय स्थानीय ऋणमा भासिन बाध्य छन्।

प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्कमा एमबीबीएस डाक्टर नहुँदा सो क्षेत्रका अधिकांश शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याउने गरिएको छ। ऐंसेलुखर्क गाउँपालिकाभित्रकै पोस्टमार्टम गर्नुपर्ने प्रकृतिका शवलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन आफन्तलाई १० हजार दिने गरिएको गाउँपालिका प्रमुख निरौलाले बताए। ऐंसेलुखर्कमा कार्यरत डा. कालीप्रसाद यादव सरकारी कोटामा नाम निकालेर एमडी अध्ययनका लागि गएको र छात्रवृत्तिमा करारस्वरूप आएका डा. अश्विन भट्टराई कान्ती बाल अस्पतालमा सरुवा भएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क डाक्टरविहीन छ। डाक्टर नहुँदा पोस्टमार्टम मात्र प्रभावित भएको छैन, अन्य उपचार सेवासमेत प्रभावित छ। ‘दरबन्दी छ, पोस्टमार्टम घर छ, डाक्टर छैन। डाक्टर चाहियो भन्दै जनताले घेर्छन्,’ निरौलाले भने, ‘डाक्टरका लागि तीनपटक मन्त्रालय पुगें। मन्त्रालयले पुसमा डाक्टर पठाइसकेको भने पनि कसलाई पठाएको भन्ने अहिलेसम्म थाहा छैन।’

नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक समयमा पोस्टमार्टम हुन नसक्दा शव अस्पताल पुर्‍याउन ट्याक्टर उपयोग गर्नुको विकल्प छैन। ट्याक्टरमा शव बोक्न ५० हजारसम्म भाडा तिर्नुपर्ने अवस्था छ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पनि डाक्टर नियमित नहुँदा जन्तेढुंगा, बराहपोखरी र खोटेहाङ गाउँपालिकाका पोस्टमार्टम गर्नुपर्ने प्रकृतिका कतिपय शव उदयपुर पुर्‍याउने गरिएको छ। गाउँपालिका प्रमुख शंकर राईका अनुसार अध्ययनका कारण प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा डाक्टरको उपस्थितिलाई नियमित गर्न सकिएको छैन। स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले भने डाक्टरकै कारण चिसापानीमा पोस्टमार्टम नरोकिएको बताए। ‘स्वास्थ्य केन्द्रमा ल्याइएका शवको पोस्टमार्टम रोकिएको छैन,’ पोखरेलले भने, ‘उदयपुरनजिक पर्ने ठाउँका शव उदयपुरतिरै लगिएको हो।’

यसैगरी अर्कातर्फ इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क र चिसापानीमा २०७४ साउनदेखि प्रहरी निरीक्षकको दरबन्दी रिक्त हुँदा अपराध अनुसन्धाका लागि जिल्ला प्रहरी कार्यालयबाटै प्रहरी टोली खटाउनुपर्ने बाध्यता छ। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीका अनुसार गत साउनयता खोटेहाङ र बराहपोखरी गाउँपालिका आसपासबाट १० वटा शव पोस्टमार्टमका लागि उदयपुर पुर्‍याइएको छ। यही आर्थिक वर्ष सुरु भएयता एेंसेलुखर्क गाउँपालिका क्षेत्रबाट तीनवटा शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको तथ्यांक छ। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको नियमित उपस्थितिका लागि स्वास्थ्य सेवा विभागसमक्ष पटकपटक कुरा राख्दा पनि कार्यान्वयन नभएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए।

सडकको दुरवस्थाका कारण खोटाङका कतिपय विकट गाउँका स्थानीय डोकोमा शव बोकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुग्न बाध्य छन्। ट्याक्टर चालकले बोक्न नमानेपछि गत भदौ ४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ मझौका महेन्द्रबहादुर खत्रीको शव डोकोमा बोकेर अस्पताल पुर्‍याइएको थियो।

प्रकाशित: २५ माघ २०७५ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App