८ वैशाख २०८१ शनिबार
समाज

मुस्कुराउँदै कालिकोटका हिमशृंखला

तस्बिर : पवित्र/नागरिक

कालिकोट - बिहानीको उज्यालोसँगै कालिकोट सदरमुकाम मान्म नजिकैको चुलीको काखबाट दर्जनौं सुन्दर हिमशृंखला नियाल्न सकिन्छ। मध्यमाघको चिसो हावाको सिरेटोसँगै हिउँले सेताम्मे बनेका हिमशृंखला मनमोहक लाग्छन्। खडेरीको वेला सुख्खा र नरमाईला लाग्ने डाँडा काँडा हिमपात र बर्षा भएपछि निकै सुन्दर देखिन्छन्।

अग्लो डाँडामा रहेको मान्म सदरमुकामबाट हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा स्वर्गीय आनन्द मिल्छ। कालिकोटका हजारौं स्थानीय हिमशृंखलासँग रमाइ रहेका छन्। हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन्।

सुन्दरताले भरिपुर्ण हिमाल र वनजंगलको यतिवेला स्थानीयले हात जोडेर वन्दना गर्ने गरेका छन्। खाँडाचक्रबाट देखिने रास्कोटको लेकाली क्षेत्र, सान्नीत्रिवेणीको उपैयाँ डाँडा, नरहरीनाथको दुदुल्ली, र चुलीमालीका हिमाल हिउँले भरिभराउ छन्। हिमपातले भरिएको दृश्य नियाल्न आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। माघको पहिलो साता नै हिमपात र बर्षा भएसँगै यो क्षेत्रमा वनजगंल र हिमालहरु रसाएका छन्। 

स्थानीय पुजारी जयचन्द्र अधिकारीका अनुसार हिमाल पवित्र देवता हुन्। कालिकोटमा हिउँले भरिएका अग्लो हिमालहरुमा देवि देवताका मन्दिरहरु छन्। हिमशृंखलालाई पुजाआजा गर्ने हाम्रो परम्परा भएको उनले बताए। हिमपात भएपछि चम्किलो देखिने रास्कोटको ठीगेल्नी, खाँडाचक्रको चुली मालिका हिमाल दर्शन गरेपछि फूर्तिलो अनुभव हुने गरेको अधिकारीले सुनाए।

बिहान उठ्ने बित्तिकै हिमालको दर्शन गरे विपत्ति, अनिकाल नलाग्ने परम्परागत मान्यता छ। सांस्कृतिक रुपमा पनि यस्ता प्राकृतिक सम्पदालाई सम्मान र पूजा गर्ने मौलिक परम्परा नेपालमा छ। सदरमुकाम वरपर घुम्ने र हेर्ने छोटा गन्तव्यहरू धेरै छन्। बिदाको सदुपयोग गरेर शनिवारको दिन केही छोटा गन्तव्यमा आन्तरिक पर्यटकले पदयात्रा गरेर रमाइलो गर्ने गरेका छन्।

पर्यटकीय पूर्वाधारका रुपमा होटल, रिसोर्ट, होमस्टे भने खुलेका छैनन्। निश्चित गन्तव्यसम्म पुग्न निकै कठिनाइ हुन्छ। माघ महिनाको १५ गते देखि यता अहिले वर्षा सकिने, जाडो र गर्मी दुवै कम हुने हुँदा उज्यालो आकाशमा टाढैबाट पनि रमणीय हिमालहरु देखिने गरेका छन्। हिमपातले गर्दा किसानमा पनि निकै खुसी छाएको छ। अन्न उब्जनीदेखि शुभ समृद्धि, साइतका लागि कालिकोटबासीले पुर्खौली रुपमा हिउँको मन्दिर बनाएर पूजाआजा गर्ने चलन छ।
तस्बिरहरु : पवित्र/नागरिक

तस्बिर : पवित्र/नागरिक
तस्बिर : पवित्र/नागरिक
तस्बिर : पवित्र/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App