१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बैकल्पिक लोकमार्ग ‘उदयपुर खण्ड’मा कालोपत्रे सुरु

गाईघाट–चुहाडे खण्डमा प्रथम चरणको कालोपत्रे लेयर हालिदै । तस्विरः महेश्वर/नागिरक

उदयपुर – राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’ को उदयपुर खण्डमा कालोपत्रे सुरु भएको छ । लोकमार्गको पूर्वी खण्डअन्र्तरगत सदरमुकाम गाईघाटदेखि चुहाडे–मुर्कचीसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको हो। 

लोकमार्ग निर्माणको जिम्मा पाएको कम्पनी जेडआईइसी/शर्मा/लामा जेवीले कालोपत्रेको काम थालेको र छिट्टै पश्चिमतर्फ कटारी, सिन्धुलीसम्म र पूर्वतर्फ बेलटार बसाहासम्म कालोपत्रे गर्ने जनाएको छ । त्रियुगा नगरपालिकाको ७ को होक्सेमा कालोपत्रेको प्लाण्ट तयार गरेर निर्माण कम्पनीले कालोपत्रे थालेको हो । सडक कालोपत्रे गर्नुअघि गर्नुपर्ने संरचनाहरु पुल, कल्भर्ट, कज–वे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब ढलानलगायत सबै कामहरु सकिएको ठाउँबाट कालोपत्रे थालिएको र बाँकी ठाउँमा ती कामहरु अन्तिम चरणमा भईरहेको छ। 

लोकमार्गको चतारादेखि बसाहासम्म एसियाली विकास बैंकको सहयोगमा ‘नदाहा–कन्चनपुर’ खण्डको सडक निर्माण गतवर्ष नै सम्पन्न भईसकेकाले बसाहादेखि गाईघाट हुँदै कटारी, सिन्धुलीबीचको काम कम्पनीले गरिरहेको छ । अहिले सडकको सबैतिर सबबेस कार्य धमाधम भईरहेकाले छिट्टै कालोपत्रेको कामले सदरमुकामको पूर्व–पश्चिम दुवैतिर गति लिने आयोजना कार्यालय गाईघाटले जनाएको छ । ११ मिटर चौडाईमा कालोपत्रे २ पत्रमा गरिने जनाइएको छ । पहिला ११ मिटरमा प्रथम लेयर हालेर अर्कोपटक ७ मिटर चौडाइमा दोस्रो लेयरको कालोपत्रे गर्ने आयोजनाका नासु पहलमान खड्काले बताएका छन् । यसो गर्दा कालोपत्रे गुणस्तरीय हुने भएकाले दह्रो र टिकाउ हुने प्राविधिकलाई उद्धृत गर्दै खड्काले बताए।

उदयपुरको अर्थराजनीतिमा महत्वपूर्ण प्रभाव छाड्ने यो लोकमार्ग निर्माण भएपछि उदयपुरलाई सुनसरी र मकवानपुर हुँदै राजधानी तथा पूर्वी भेग जोड्न सहज हुने कार्यालयले जनाएको छ । निर्माण कम्पनीले सडकतर्फ ३ अर्ब ५० करोड र पुलतर्फ १ अर्ब ५० करोड लागतमा निर्माण हुने सडक कालोपत्रे भएपछि गाईघाटदेखि २ घण्टामा धरान र दुईघण्टामै सिन्धुली छिचोल्न सकिने यातायात व्यवसायीहरु बताउँछन् । कालोपत्रे नभई अहिले नै गाईघाटदेखि कटारी २ घण्टा र धरान ३ घण्टामा पुग्न सकिने सडक तयार भईसकेको छ।

०६४ भदौ ३ गते सप्तकोसीमा आएको भिषण बाढीले सुनसरीको भान्टाबारी आसपास पूर्व–पश्चिम लोकमार्ग कटान गरेर महिनौं यातायात आवागमन ठप्प भएपछि वैकल्पिक लोकमार्गको अवधारणा अघि सारिएको हो । सो अवधारणा अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले लोकमार्ग निर्माणार्थ सर्भेक्षण गरेको थियो । त्यसपछिका सरकारले पनि निरन्तरता दिँदै  सडक अहिले कालोपत्रे गर्ने अवस्थामासम्म आईपुगेको हो । कालोपत्रे आउँदो असारभित्रै ५० किलोमिटर निर्माण गरिसक्ने लक्ष्य सडक कार्यालयले लिएको छ।  

सुरुमा धरानदेखि चतारा, गाईघाट, कटारी, सिन्धुली हुँदै हेटौंडा जोडेर राजधानीसँग सोझो यातायात आउजाउ गराउन महेन्द्र लोकमार्गको बिकल्पको रुपमा निर्माण थालिएको सडकलाई पछिल्लो सरकारले ‘मदन भण्डारी लोकमार्ग’मा परिणत गरेर पूर्वको झापादेखि पश्चिम कर्णालीसम्म जोड्ने देशकै मेरुदण्ड लोकमार्गको रुपमा विस्तार गर्ने भएको छ । धरानदेखि हेटौंडासम्म २ सय ५० किलोमिटरमध्ये उदयपुर खण्ड १ सय ३४ किमि दूरीमा सडक र पुल दुवैतर्फ गरी ४५ प्रतिशत काम भईसकेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकतर्फ ५५ प्रतिशत र पुलतर्फ ४५ प्रतिशत काम सम्पन्न भईसकेको छ।

सडक विभागका कामु सुपरीटेण्टेण्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठले धरानदेखि गाईघाट,  सिन्धुली हुँदै हेटौंडा भएर राजधानीसँग सोझो यातायात सम्पर्कका लागि सुरु सडक पछिल्लो सरकारले ‘मदन भण्डारी लोकमार्ग’ मा परिणत गरेर मुलुककै लामो लोकमार्गको रुपमा स्थापित गर्न लागेको बताए । सुई श्रेष्ठका अनुसार धरानदेखि हेटौंडासम्म २ सय ५० किलोमिटरको लोकमार्गलाई अव विस्तार गरी पूर्वमा झापाको बाहुनडाँगीसम्म र पश्चिममा कर्णालीको डढेलधुरा रुपालसम्म १ हजार २ सय किलोमिटर लामो बनाउन लागिएको हो । 

त्यसका लागि विभागले प्रारम्भिक सर्भेक्षण सकेर दोस्रो चरणको सर्भे कार्य थालिसकेको छ । पूर्वतर्फको सर्भेक्षण सकेर विभागको प्राविधिक टोली पश्चिमतर्फ सर्भेक्षणमा खटिरहेको उनले बताए । पश्चिममा कर्णाली नदीपारीको रुपालसम्मको सर्भेक्षण कार्य भईरहेको तथा दाङको घोराही–प्युठान खण्ड तथा सुर्खेतको बोटेचौर–तुलसीपुर खण्डको सर्भेक्षण अन्तिम चरणमा पुगेको सुई श्रेष्ठले बताएका छन् । उनका अनुसार विस्तारित खण्डमा पनि आगामी वर्षदेखि काम सुर हुने र ५ वर्षाभित्र झापादेखि डढेलधुरासम्म मदन भण्डारी लोमार्ग निर्माण सकिइसक्ने गरी विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बनाउने तयारी विभागले गरिरहेको छ ।

प्रकाशित: १९ माघ २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App