४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

थपेको म्याद गुज्रिँदा पनि बनेन स्वास्थ्यचौकी भवन

खोटाङको याम्खास्थित निर्माणाधीन स्वास्थ्यचौकी भवन । तस्बिर : दमन राई/नागरिक

खोटाङ – थप गरिएको म्याद गुज्रँदासमेत खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन सकेको छैन। सम्झौताअनुसार २०७४ असार मसान्तभित्र हस्तान्तरण गरिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माण नसकिएपछि पुनः थप गरिएको म्याद पनि गत मंसिरमै गुज्रिसकेको छ। तर भवन निर्माण पूरा भएको छैन। भवन निर्माणमा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दाको गुनासो छ।

स्वास्थ्यचौकीको दुईतले भवन ठडिए पनि फिनिसिङ पूरा नभएको हो। झ्याल–ढोका, शौचालय, पर्खाल प्लास्टर, घेराबेराका काम बाँकी नै छन्। सहरी विकास तथा भवन विभागको २ करोड ४८ लाख रुपैयाँ लागतमा ठेक्का लागेको स्वास्थ्यचौकी भवन निर्माण अलपत्र परेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। भवन अभावमा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

भवन निर्माण पूरा गर्न पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गरेको गाउँपालिका प्रमुख राईले बताए। ‘अहिलेसम्म भवनको करिब ७५ प्रतिशत मात्र काम सकिएको देखिन्छ,’ उनले भने, ‘फिनिसिङको काम अलपत्र छ। सोधखोज गर्दा माघभित्र पूरा गर्ने जवाफ आएको छ।’ यसैबीच ठेकेदार शम्भु घिमिरेले अब दुई महिनाभित्र स्वास्थ्यचौकी भवन निर्माण पूरा हुने दाबी गरेका छन्।

यसैबीच याम्खामै रहेको महेन्द्रोदय आधारभूत विद्यालयको प्रशासन कक्ष पक्की भवनमा सारिएको छ। गाउँपालिकाको नौ लाख रुपैयाँ लागतमा एककोठे पक्की भवन बनेपछि विद्यालय प्रशासन सारिएको हो। भौतिक संरचना अभाव झेलिरहेको विद्यालयका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा शाखाको ६३ लाख रुपैयाँ लागतमा चार कोठाको दुईतले भवन पनि निर्माण भइरहेको छ।

प्रकाशित: १७ माघ २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App