१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आफ्नो तलब उपकारमा खर्च गर्ने वडाध्यक्ष

सर्लाहीको रानीगन्जस्थित फौदसिंह माविका प्रधानाध्यापकलाई मंगलबार सुइटर हस्तान्तरण गर्दै वडाअध्यक्ष नवराज अधिकारी। तस्बिर : टंक/नागरिक

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाका एक वडाअध्यक्षले राज्यबाट पाउने आफ्नो तलबभत्ता परोपकारी काममा खर्च गरिरहेका छन्। लालबन्दी–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका हुन्। यसै क्रममा मंगलबार उनले स्थानीय दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ थान सुइटर सहयोग गरेका छन्।

वडाभित्र पर्ने फौदसिंह मावि र कालिञ्जोर माविमा पढ्ने दलित, गरिब, जेहेन्दारलगायत विद्यार्थीलाई उनले एक कार्यक्रमका बीच सुइटर वितरण गरेका हुन्। वडाअध्यक्षबाट सुइटर पाउँदा विद्यार्थीलाई निकै राहत पुगेको फौदसिंह माविका प्रधानाध्यापक मनीबहादुर गुर्मछानेले बताए। ‘आर्थिक अभावका कारण जाडोमा काम्दै विद्यालय आउन बाध्य विद्यार्थीलाई न्यानो सुइटर प्रदान गर्नुभएकामा वडा ध्यक्षज्यूलाई धेरै–धेरै धन्यवाद,’ कार्यक्रममा उनले भने, ‘यस्ता रचनात्मक अनि सहयोगी कार्यमा वडाअध्यक्षज्यूको ध्यान गइराखोस्।’

विद्यालयले नै छानेका विद्यार्थीलाई आफ्नो तलबभत्ताबाट सुइटर किनेर प्रदान गरिएको वडाअध्यक्ष अधिकारीले बताए। ‘प्रायः विपन्न वर्गका विद्यार्थी पढ्ने उक्त दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोबाट बच्न सुइटर बाँडेको हुँ।’

वडाअध्यक्ष अधिकारीले यस दसैंमा पनि तलबभत्ताकै रकमबाट सुकुमबासी परिवारलाई चामल तथा अन्य सामान किन्न नगद सहयोग गरेका थिए। पूर्व–पश्चिम राजमार्गबाट उत्तर मनकामना सामुदायिक वनको छेउमा रहेको नयाँबस्तीस्थित १५ सुकुमबासी परिवारलाई उनले जनही एक बोरा चामल र एक हजार रुपैयाँ प्रदान गरेका थिए।

सर्लाहीको लालबन्दी नगरपालिका–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका हुन्। यसै क्रममा मंगलबार उनले स्थानीय दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ सुइटर वितरण गरेका हुन्।

पुस्तौंदेखि सडकमै बास बसिरहेका ३६ सुकुमबासी परिवारले वडाअध्यक्ष अधिकारीकै पहलमा नगरपालिकाको बजेटबाट पाँच–पाँच धुर जमिनसमेत पाएका छन्। सोही जमिनमा घर बनाएर सरिसकेका १५ परिवारलाई दसैं मनाउन उनले सहयोग गरेका थिए।

त्यस्तै वडाअध्यक्ष अधिकारीले लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म भुवनेश्वरी वृद्ध सेवाआश्रमलाई केही दिनअघि ४० इन्चीको एलइडी टेलिभिजन सेटसमेत प्रदान गरेका छन्। आश्रमका ज्येष्ठ नागरिकले टेलिभिजन हेर्न नपाएको जानकारी पाएपछि आफूले सहयोग गरेको अधिकारीले जानकारी दिए। ‘मलाई खान र लाउन पुग्ने आफ्नै सम्पत्ति छ,’ वडाअध्यक्ष अधिकारीले भने, ‘त्यसैले वडा कार्यालयको बजेट पनि परिषद्बाट पारित भएअनुसार पारदर्शी ढंगले काम गरिरहेको छु र आफूले पाएको तलब भत्ताबाट विपन्न समुदायको सहयोगमा खर्च गरिरहेको छु।’

सुइटर वितरण कार्यक्रममा पूर्व पशुपक्षी विकास राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले वडाअध्यक्ष अधिकारीको मनकारी भावना साह्रै सह्रानीय भएको बताए। ‘वडाअध्यक्षज्यूको यो काम निकै सह्रानीय छ,’ उनले भने, ‘माथिल्लो तहमा प्रतिनिधित्व गर्ने हामीजस्ता राजनीतिकर्मीलाई समेत उहाँको कामले मार्गदर्शन गरेको छ।’

प्रकाशित: १६ माघ २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App