अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिक-५ चिसेनी डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय बिजय तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह रहेका छन्।
उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अमरबस्ती बस्ने २२ वर्षीय अर्जुन मल्ल, सोही नगरपालिका-१० भिमबस्ती बस्ने २६ वर्षीय नविन सुनार र कृष्णपुर नगरपालिका-८ बस्ने ३० वर्षीय गणेश बिष्ट रहेका छन्।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश०२-०२८ प ०९३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
नुवाकोट, विदुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५२ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० गैरीखर्क बस्ने २४ वर्षीय युनिक तामाङ भन्ने सन्देश तामाङ र रसुवा कालिका गाउँपालिका-३ धारापानी बस्ने २१ वर्षीया युनिषा तामाङ भन्ने पुष्पा तामाङ रहेका छन्। प्रहरी चौकी सिमुटार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरी, रामधुनी नगरपालिका-६ बक्लौरी चोकस्थित मनोकामना मोबाइल सेन्टर पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २४ ट्याब्लेट, डाइक्लोमाइन ८ सय ४९ ट्याब्लेट, स्पास्पेन २५ ट्याब्लेट र नगद १ लाख २२ हजार ३ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय एकराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी सुनसरी, धरान उपहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय निशान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देही, बुटवल उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पाल्पा रिब्दीकोट गाउँपालिका-८ फेक घर भएका ३२ वर्षीय सुसान भन्ने सुसन रायमाझी र २२ वर्षीय उमेश रावत रहेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-१० शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३६ वर्षीय मनोज बराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय उमेश श्रेष्ठ भन्ने संजिब श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ ग्राम सहित सोही उपमहानगरपालिका-९ बङ्ग्राकटान बस्ने २७ वर्षीय निराजन ठकुल्लालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका भारत पलिया बस्ने २८ वर्षीय रिङ्गल गुप्तालाई समेत नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १४ जेष्ठ २०८३ १७:१७ बिहीबार




