१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

हजुरआमाको भत्ताको भरमा नातिनातिना

हजुरआमाको भरमा अभावग्रस्त जीवन गुजार्न बाध्य गौतम, टिकमन र अलिना परियार। तस्बिर : दिनेश/नागरिक

रोल्पा - ‘बा जेल गएपछि भात खान पाएका छैनौं, आटो मात्र खाएर बाँच्नुपरेको छ,’ आफ्नै विद्यार्थी नौ वर्षीया अलिना परियारले दुखेसो पोखेको सुनाउँदै रोल्पा नगरपालिकास्थित मावि कोटगाउँकी शिक्षिका उपासना मल्लले सुनाइन्, ‘भात खान मन लागेको छ नि, तर के गर्नु, घरमा छैन। गएको दसैंतिहारमा पनि भात खान पाएनाैँ।’ शिक्षिका मल्लले पढाउने विद्यालयमा अलिना र उनका दुई दाजु हाम्रै स्कुलमा पढ्छन् तर खानेकुराकै जोहो गर्न नसकिरहेका उनीहरूले अत्यावश्यक शैक्षिक सामग्री पनि जुटाउन सकेका छैनन्। आर्थिक अभावले गाँजेपछि अलिनाकी १४ वर्षीया दिदी भने विद्यालय छाडेर इँटाभट्टामा काम गर्न गएको मल्लले बताइन्।

करिब डेढ वर्षअगाडि आमाको मृत्यु भएपछि बेसहाराजस्तै बनेको अलिनाको परिवार गत असारमा बुवा जेल गएपछि अलपत्र परेको छ। अब उनीहरू विद्यालयमा पढ्नै नसक्ने अवस्थामा पुगेका छन्। ‘असाध्यै अप्ठ्यारोमा छौं। बोई ‐हजुरआमा) को वृद्धभत्ताले घर चलेको छ। आमा मरेको केही समयमा बा पनि अपराध गरेर जेल गएका छन्,’ अलिनाका जेठा दाजु १६ वर्षीय गौतम परियारले भने, ‘घर नचलेपछि ठूली बहिनी इँटाभट्टामा कमाउन गएकी छन्।’

अलिनाको परिवारलाई खानाको मात्र अभाव नभएर कापीकलम र लत्ताकपडाले पनि सधैं पिरोलिरहन्छ। ‘धन्न भाइबहिनी सोझा छन्। एउटा भाइलाई सरहरूले स्कुलकै होस्टलमा राखिदिनुभएको छ। मैले दाइ भएर पनि केही गर्न सकेको छैन,’ गौतमले भने, ‘इँटाभट्टामा जाने बहिनीलाई पनि त पढ्ने मन थियो होला तर परिवार गरिब भएकाले बिजोग छ। आमाबुवा भइदिए यस्तो कष्ट हुँदैनथ्यो होला।’ यतिबेला चिसोयाम भएकाले न्यानो कपडा अभाव हुँदा यिनीहरूको परिवारमा झनै कष्ट थपिएको छ। स्कुलले सकेसम्मको सहयोग गरेको शिक्षकहरू बताउँछन्। ‘एउटा बाबुलाई होस्टेलमा राखिदिएका छौं। नगरपालिकासँग पनि छात्रवृत्तिका लागि अनुरोध गरेका छौं। स्कुल आफंै कठिनतापूर्वक चलिरहेको छ नत्र त अलि सहयोग गर्नुहुन्थ्यो,’ मावि कोटगाउँका प्रधानाध्यापक कृष्णबहादुर पुनले बताए। उनले थपे, ‘सबै बच्चा पढाइमा तेज छन्। उनीहरूमा पढ्ने इच्छा पनि छ तर समस्याले जेलिएपछि बिचल्लीमा छन्। कतैबाट सहयोग पाए यिनीहरूले राम्ररी पढ्न सक्थे।’

स्कुल आउँदा खाजाका रूपमा कहिलेकाहीँ भुटेको मकै ल्याउने गर्छिन् अलिना। उनका दुई दाजुले त त्यो अवसर पनि पाउँदैनन्। ‘अस्ति नै गणित मेडमले चामल दिनुभएको थियो। अलि दिन भात खायौं। त्यो पनि सकियो। शिव सरले लुगा पनि दिनुभएको थियो,’ उनले गम्भीर बन्दै सुनाइन्, ‘मलाई त घरभन्दा स्कुल रमाइलो लाग्छ। सरमेडमहरूले माया गर्नुहुन्छ।’ घरमा आमाबुवा नभएपछि हजुरआमालाई घाँसदाउरा गर्दा, बाख्रा हेर्दा हैरान भएको उनले बताइन्। एकै परिवारका १६ वर्षीय गौतम, ११ वर्षीय टिकमन र नौ वर्षीय एलिनाको सकसपूर्ण जीवनयात्रा नजिकबाट नियालेका शिक्षकहरूलाई उनीहरूको व्यथा देखेर टिठ लाग्ने गर्दछ। ‘ठुलाहरू घरको व्यथा सुनाउन लाज मान्छन् र दुःख देखाउँदैनन् तर सानीचाहिँ अरूलाई पनि पिर लाग्नेगरी घरको समस्या सुनाउँछिन्,’ शिक्षिका उपासना भन्छिन्, ‘सानोतिनो सहयोग गर्दा खुसी हुन्छन्। सधैं सहयोग दिन पनि नसकिने। हुनेखाने कसैले सहयोग गरिदिए पनि धर्म लाग्ने थियो।’

घरछेउमै स्थानीय सरकार छ। यी बालबालिकाकी हजुरआमाको भोट थापेर चुनाव जितेकाहरूले मासिक तलब थाप्छन्। छिमेक घरकी एउटी १४ वर्षीया बालिका घरखर्च चलाउन भन्दै उपत्यकाको इँटाभट्टामा काम गर्न गएकी छन् तर गाउँको सिंहदरबारले आजसम्म उनको परिवारलाई कुनै सहयोग गरेको छैन।

प्रकाशित: ४ माघ २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App