१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खोलामा प्रदूषित पानी मिसाउने उद्योगलाई कारबाही गर्न माग

श्रीराम सुगर मिल्स्बाट बग्ने प्रदूषित पानी विसर्जन गर्ने गरिएको झाँझ खोला। तस्बिरः मदन/नागरिक

रौतहट-रौतहटको दुर्गाभगवती गाउँपालिकाले स्थानीय खोलामा प्रदूषित पानीको ढल मिसाउने जिल्लाका दुई उद्योगलाई कारबाही गर्न माग गरेको छ। जिल्लास्थित श्रीराम सुगर मिल्स् र ज्योति डिस्टिलरी प्रालिले आफ्ना ढल झाँझ खोलामा विसर्जन गर्ने गरेका छन्।

यसरी दूषित पानी खोलामा मिसाउँदा जलचर जीवहरूको अस्तित्व नै संकटमा परेको तथा उक्त प्रदूषित पानी पशुचौपायाले खाँदा मर्ने सम्भावना बढेको भन्दै उक्त दुवै उद्योगलाई कारबाही माग गर्दै गाउँपालिकाले आइतबार जिल्ला प्रशासन कार्यालय (रौतहट) मा ज्ञापनपत्र बुझाएको हो।

झाँझ खोलामा बगाउने गरिएको उद्योगको ढल गाउँपालिकाको वडा नम्बर ५, बडहर्वास्थित बागमती नदीमा समेत मिसिएर पानी प्रदूषित हुने गरेको स्थानीयले बताएका छन्। गहुँ, दलहन र तेलहन बालीमा सिँचाइ गर्नुपर्ने बेला उद्योगबाट निस्कने रसायनयुक्त दूषित पानी खोला नदीमा मिसिएका कारण खेतीपातीमा पनि प्रतिकूल असर परेकाले कारबाही माग गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बताए।

रौतहटका श्रीराम सुगर मिल्स् र ज्योति डिस्टिलरी प्रालिले आफ्ना ढल झाँझ खोलामा विसर्जन गर्ने गरेका छन्। यसले खोलाको पानी दूषित भएर वातावरणमा प्रतिकूल असर परेको भन्दै दुर्गाभगवती गाउँपालिकाले कारबाहीको माग गर्दै ज्लिला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो।

चालु आर्थिक वर्षका लागि दुर्र्गाभगवती गाउँपालिकाले झाँझ खोलाअन्तर्गत जेठरहियादेखि बडहर्वा गाउँसम्म करिब पाँच किलोमिटर क्षेत्रमा गत साउनमा माछा ठेक्का लगाएको छ। १ लाख ३ हजार रुपैयाँमा माछा ठेक्का लिएका स्थानीय भोला सहनीले उद्योगबाट झाँझ खोलामा आउने दूषित पानीका कारण माछाका भुरा मरेकाले धेरै घाटा लाग्ने देखिएको गुनासो गरे। हरेक वर्ष यसरी प्रदूषित पानी खोलामा मिसाएर माछालगायत जलचर जीवहरू मर्ने अवस्था सिर्जना गर्ने दोषी उद्योगहरूलाई कारबाही गरी क्षतिपूर्तिसमेत उपलब्ध गराउन ठेकेदार सहनीले सरकारसँग माग गरेका छन्।

यता ज्योति डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश जयसवालले भने आफ्नो उद्योगबाट दूषित पानी खोलामा नछाडिएको र उद्योग छेउमै आधा दर्जनभन्दा बढी पोखरी खनेर भण्डारण गर्ने गरिएको दाबी गरेका छन्। जुनसुकै निकायले निरीक्षण गरेर सत्यतथ्य पत्ता लगाउनसक्ने उनले बताए। यस्तै श्रीराम सुगर मिल्स्का महाप्रबन्धक पिके झाले एक साताअघि प्रशोधन गरेर मात्र झाँझ खोलामा उद्योगको पानी छाडिएको दाबी गरे। बताए। प्लान्टभित्रै क्यानलमार्फत् दूषित पानीलाई फिल्टर गरेर मात्रै खोलामा छाडिएकाले यसबाट कुनै असर नपर्ने उनले दाबी गरे।

प्रकाशित: २३ पुस २०७५ ०३:४६ सोमबार

खोला प्रदूषित_पानी उद्योग कारबाही