२० असार २०७७ शनिबार
समाज

विज्ञ टोलीको निष्कर्ष : चिसो र चरन अभावले मौरी सखाप

मौरीको मह र अवस्था बुझ्दै जुम्लाका मौरीपालक किसान । तस्बिरः डिबी/नागरिक

जुम्ला – जुम्लाको मौरीमा देखिएको अज्ञात रोगबारे अनुसन्धान गर्न आएको मौरी विज्ञको टोलीले चिसो र चरन क्षेत्रको अभावमा मौरी सखाप हुँदै आएको निष्कर्ष निकालेको छ। तीन दिनसम्म जुम्लामै बसेर मौरीपालक किसानको घारमै पुगेर अनुसन्धान गरेको सो टोलीले पछिल्लो समयमा जडिबुडीको चरम उत्खनन् र चिसोले मौरीमा रोगको संक्रमण बढेको निष्कर्ष निकालेको हो।

राष्ट्रिय मौरी विकास केन्द्रका प्रमुख तिर्थकुमार श्रेष्ठको नेतृत्वको विज्ञ टोली जुम्ला पुगेको हो। मौरीमा देखिएको रोग किसानले भने जस्तो नभई चरन क्षेत्रको अभाव र चिसोले निम्तिएको हो, प्रमुख श्रेष्ठले भने, “पछिल्लो समयमा फूलजन्य जडिबुटी उत्खनन् बढेको छ, निरन्तर वर्षा भइदिन्छ, उजाड क्षेत्रमा आहारमा कमी आउँछ, मौरी रोगी हुँदै जान्छ।” जुम्लामा पालिदै आएको लोपोन्मुख एपि सेराना जातको मौरी नै मासिने अवस्थामा पुगेको भन्दै यहाँका किसान निकै चिन्तित बनेका छन्।

मौरीमा अज्ञात रोग देखिएको र बचाउन गाह्रो भएको भन्दै मौरीपालक किसानले मौरी विज्ञ बोलाइदिनको लागि स्थानीय प्रशासन समक्ष माग गरेका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडलेको पहलमा टोली जुम्लामा आएर नयाँ रोगबारे अनुसन्धान थालेको हो। विज्ञ टोलीले मौरीको आहार वृद्धिमा जोड दिन र चिसो समयमा राम्रो हेरबिचार गर्न किसानलाई सुझाव दिएको छ। टोलीले चिसो र चनक्षेत्र बाहेक रासायनिक विषादीको अत्याधिक प्रयोग पनि हुन सक्ने जानकारी दियो।

मौरी पालक किसानले मौरीको चरण यात्राका बारेमा हेक्का राख्नु पर्छ, मौरी विज्ञ श्रेष्ठले भने,“कुन कुन महिना कस्ता कस्ता फुल्छन्, कति दिन फुल्छन्, फूलमा रस र परागको मात्र के छ, सबै पहिचान गर्नुपर्छ।” जाडो सिजन भएकोले रानीले अण्डा पार्दैन, घारको सरसफाई छैन्, गोला स्वस्थ र मजबुद छैन्, हरेक वर्ष रानी परिवर्तन गर्नुपर्छ, रानीको व्यवस्थापन राम्रो भए दैनिक ८ सय देखि १ हजार २ सयसम्म फूल पार्छ। यहाँका किसानमा रानी फेर्ने चलन देखिएन। कृत्रिम रानी निकालेर पनि मौरीपालकले ८ सयमा बिक्री गर्न सक्छन्। प्रतिकुल मौसममा कृत्रिम आहारा खुवाउँदैन्न, त्यसैले मौरीमा रोग देखिन्छ। टोलीमा किट विज्ञान महाशाखाका प्रमुख सहदेव प्रसाद हुमागाईं पनि संलग्न छन्।

चिसो समयमा मौरीलाई कृत्रिम खाना आवश्यक पर्छ।  बनस्पतीजन्य विरुवा मौरी घार नजिकै लगाउनुपर्छ।   मौरीलाई अनुकूल समयमा चराउन समेत लिनुपर्छ, उनले भने,“जुम्लामा मौरीपालन गर्न अब सहज छैन्।  परम्परादेखि प्रचलनमा रहेको मुढे घारहरूको प्रयोगका कारण मौरीमा विभिन्न रोगहरू देखा पर्न सक्ने विज्ञ टोलीको भनाई छ। एपि सेराना सेराना जातको मौरीहरुमा देखिएको समस्यका कारण यस वर्ष जुम्लामा मह उत्पादनमा शुन्य भएको छ। जुम्लाका मौरी घारभित्र नमरेको भन्दै एकदुई गर्दै बाहिर निस्कने र त्यसपछि भित्र प्रवेश नै नगरी मर्ने गरेको किसानहरुले बताएका छन्।

यस वर्ष मौरीले मह उत्पादन नै गर्न नसकेको भन्दै किसानले न्युन रुपमा उत्पादन भएको मह पनि अमिलो र तितो रहेको गुनासो गरे। वर्षेनी ३ करोडसम्मको मह बेच्ने जिल्लाका किसान यसवर्ष माहुरीलाई खान पुग्ने मह समेत उत्पादन नभएकोले चिनी चास्नीको व्यवस्था गरेर आहारा संकलनमा जुटेको बताएका छन्। जुम्लामा रहेका ३० हजार मौरीका घार मध्ये ९० प्रतिशत घारहरू नास हुने अवस्थामा पुगेको मौरी प्रशिक्षक तथा किसान नारायण चौलागाईंले जानकारी दिए।

प्रकाशित: २१ पुस २०७५ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App