धादिङ - जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ। नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन शासकहरूका पालामा निर्माण भएको मानिने उक्त गढी संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।
उक्त गढीको मर्मत–सम्भारमा नेपाली सेना सक्रिय भएको हो। गजुरीस्थित देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले ८० सेना खटेर गढी क्षेत्रको सफाइ, मर्मत तथा बाटोसमेत निर्माण गरिएको जानकारी दिए। घाँस र झाडी हटाएर होर्डिङ बोर्डसमेत राखिएको छ। उनले भने, ‘कान्द्राङगढीको पर्खाल भत्किनुका साथै यहाँका शिलालेख तथा पुराना युद्ध सामग्रीहरू हराएका छन्।’
कान्द्राङमा रहेको उक्त गढी समुद्री सतहबाट १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको उक्त गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ। नजिकै साना–ठूला गरी चार सुरुङ छन्। ठूलो मुख्य गढी ५०/६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ। पूर्वपट्टि तल बलि दिने स्थान पनि फेला परेको नेपाली सेनाले जनाएको छ। गढी वरपरका केही सुरुङबाट तातो वाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन्। पुरातत्व विभागले यसको अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।
नेपाल एकीकरण तथा नेपाल–अंग्रेज युद्ध र त्यसपछिका विभिन्न समयमा प्रयोगमा आएका गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरिसकेको छ। ऐतिहासिक महवका गढीहरू पाँच वर्षभित्र पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजनाअनुरूप कान्द्राङगढीको संरक्षणमा नेपाली सेना जुटेको जनाइएको छ।
भत्किएको पर्खाल सेनाले लगाइदिएको छ। गढीको भग्नावशेष उत्खनन र संरक्षण गर्न गाउँपालिकासमेत लाग्ने बेनिघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापाले बताए। यस क्षेत्रमा चेपाङ समुदायको बसोबास छ। पृथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडकको यात्रापछि रहेको कान्द्राङगढी पुगिन्छ।
गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवनका विभिन्न स्थान सजिलै देख्न सकिन्छ। तत्कालीन सेन शासकहरूले दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढी बनाएको जनविश्वास छ। सेन वंशको तत्कालीन मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ।
क्याप्सन ः धादिङस्थित कान्द्राङगढीको संरक्षणमा जुट्दै नेपाली सेना।
तस्बिर सौजन्य ः सीताराम अधिकारी
प्रकाशित: १६ पुस २०७५ ०२:३३ सोमबार