काठमाडौं- बुद्धिकृष्ण लामिछानेले एउटा गीत गाए। पिँढीमा बसेर मेरै बाटो हेरेर…। रेडियो नेपालबाट गीत गुन्जियो। उनले यो गीत गाउँदा रेडियोको सुविधा अहिलेको जस्तो थिएन। गाउँ वा सहरमा सिमितरुपमा रेडियो थिए। अब लामिछानेको रेकर्डेड स्वर मात्र गुन्जने छ। ‘काठे भाका’ का गीतलाई सरल तरिकाबाट जनमानसमा लगेर प्रिय बनेका उनको शुक्रबार ६६ वर्षको उमेरमा निधन भएको छ।
पश्चिम नेपालमा लाहुरे संस्कृति पहिले देखिकै हो। लाहुरेको खवर थाहा पाउन हुलाकीको चिठ्ठि वा आकासवाणी (आवा) नै कुर्नु पर्थ्यो। ति लाहुरे परिवारलाई लामिछानेको यो गीतले कहिले आफ्ना परदेशीएका आफन्तको सम्झना गराइदिन्थ्यो भने कहिले पीडा भुल्ने सहारा भएर विस्तारै गुन्जिन्थ्यो। गल्फमा रोजगारी सुरु हुनु भन्दा अगाडि नेपाली समाजमा ब्रीटिस लाहुरे (बेलायती सेना), सिंगापुरे लाहुरे र कामको खोजीमा भारत जाने चलन थियो। 'लाहुर' को चरित्र फेरिएको छ, यसको मानक फेरिएको छ तर 'विरह' र पीडा उस्तै छन्।
वैदेशिक रोजगारिमा जान लामवद्ध युवाहरुले हाम्रो अन्तराष्ट्रिय विमानस्थल भरिएको छ। विदेशबाट फर्कने युवाहरुले उस्तै खचाखच छ। पिँढीमा बसेर आफ्ना सन्तानको खवर कुरिरहने आमा, वुवाको संख्या हिजो भन्दा आज थपिदै गएको छ। वैदेशिक रोजगारिका पीडा आफ्नै ठाउँमा छन् देशमा रेमिट्यान्स भित्रिएको छ। तर मायाँको डोरो भने पैसाले मात्र कहाँ रोक्न सक्छ र? परदेशी छोरा छोरीको याद उनीहरुले पठाउने रेमिट्यान्समा तुलना हुन सक्दैन।
काम गर्न नसक्दा
खाना लाउन नपाउँदा ।
जाडोमा लुगलुग काम्दी हुन्
भोकै बसी रुँदी हुन्
विदेशबाट रेमिट्यान्स आए पनि घरमा पारिवारिक समस्या उस्तै छन्। युवाहरु नहुँदाका उनका आश्रीत परिवारले भोग्नु परेका पीडा रेमिट्यान्सले परिपुर्ती गर्न सक्दैन।
भक्तपुर चाँगुनारायण नगरपालिका–७ बागीश्वरीका लामिछानेले पिँढीमा बसेर आफन्तको खबर र बाटो कुर्नेको गीत मात्र गाएनन् मेला पात जानेहरुका गीत पनि गाए बैंस जोवनका गीत पनि गाए।
घाँस काट्नु खुर्केर…। ‘तिम्रो र मेरो मायाको डोरो…’ लामिछानेको अर्को चर्चित गीत हुन्। यसमा कोमल वलीसँगको युगल स्वर छ लामिछानेको। २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका उनका गीत र भाकामा मौलिकता थियो। लामिछानेले नेपालको गीत संगीतमा मौलिकता दिने प्रयास गरे। मानिसका दैनिक जीवनसँग जोडिएका शव्दहरुलाई टिपेर संगीतको स्वरमा गाँसिदिए।
स्थानीय बोलिचालीको भाषालाई लयमा बुन्न सक्ने प्रतिभाशाली गायकको रुपमा उनलाई सम्झिन्छन् गीतकार बमबहादुर थापा जिताली। उनका गीतले भावना र मनोरञ्जन सँगै दिने गरेको उनको बुझाइ छ।
आज अर्थतन्त्र रेमिट्यान्समा अडिएको छ। देशको लाभांस जनसंख्या विदेशमा छ। पिँढीमा बसेर परदेश गएका सन्तानको बाटो पर्खने आमाहरुको संख्या दिनानुदिन बढ्दो छ।
लामिछानेले मार्मिक गीत मात्र गाएनन् उनले ठट्यौली गीत पनि गाए। उनले दुई फरक धारमा गीत गाएर आफ्ना स्रोता बनाए। हल्ला चल्यो टोल टोल भयो डामाडोल…गीत गाएका उनले एउटा थाप्ला दुईटा नाम्लो , ज्यानलाई पर्यो पीर पर्यो...। जस्ता जीवनका गीत पनि गाए।
आज पनि उनको 'पिँढीमा बसेर मेरै बाटो हेरेर…' गीतले नेपाली समाजको वास्तविक चरित्र बोलिरहेको छ। फरक यत्ति हो हिजो खवर पाउन हुलाकी कुर्नु पर्थ्यो, आज वाइफाईको सिग्नल।
प्रकाशित: १४ पुस २०७५ ११:१२ शनिबार