दाङ - घोराही उपमहानगरपालिका–१२ की ४ वर्षीया रेणु (नाम परिवर्तन) घरनजिकै खेल्दै थिइन्। १२ वर्षीय एक बालक पनि उनीसँगै खेल्न थाले। त्यस क्रममा ती बालकले रेणुमाथि बलजफ्ती गरे। मंसिर २ गतेको यो घटना पीडित परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दियो। बलात्कारमा संलग्न बालक अहिले प्रहरीको नियन्त्रणमा छन्।
सोही दिन उस्तै प्रकृतिको अर्को घटना भयो। घोराही–१२ कै ६ वर्षीया बालिकालाई छिमेककै १३ वर्षीय बालकले बलात्कार गरे। खेल्ने क्रममा ती बालकले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी ग-यो। बलात्कारमा संलग्न ती बालक पनि पक्राउ परिसकेका छन्।
दाङमा पछिल्लो समय बलात्कार भयानक बन्दै गएको छ। तथ्यांक हेर्दा जिल्लामा बलात्कारका घटना दोब्बर बढेको देखिन्छ। त्यसमा पनि बलात्कारीको शिकार बढी अवोध बालिकाहरू बन्ने गरेका छन्।
गत वैशाखमा एक वृद्धबाट एकै घरका तीन अवोध बालिका बलात्कृत भए। घोराहीकी ११ वर्षीया रमा (नाम परिवर्तन) छिमेकमै रहेका ८२ वर्षीय वृद्धबाट गत वैशाखमा बलात्कृत भइन्। आफ्नै घरमा आएका बेला ती बाजेले रमालाई बलात्कार गरेका थिए। तर रमाले यो कुरा कसैलाई भनिनन्। उनी ती वृद्धदेखि सतर्क भने भइन्। त्यसपछि ती वृद्धको गिद्धे नजर रमाकै ६ वर्षीया बहिनी सीतामा (नाम परिवर्तन) प-यो। सीतालाई पनि एक दिन घरनजिकै खेल्ने क्रममा भित्र बोलाएर उनले बलात्कार गरे। त्यसको केही दिनपछि ती वृद्ध फेरि उनकै ४ वर्षीया बहिनीमाथि जाइलागे। ती बालिकाले भने वृद्धको सबै कर्तुत परिवारलाई सुनाइन्। त्यसपछि पीडित परिवारले ती वृद्धविरुद्ध बलात्कार मुद्दा दर्ता ग¥यो। तीन बहिनीलाई गत वैशाख ८ गतेदेखि २४ गतेसम्म पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले वृद्धलाई नियन्त्रणमा लियो। तर अदालतले उनलाई डेढ लाख रुपैयाँ धरौटीमा छोडिदिएको छ।
दाङमा पछिल्लो समय बलात्कार भयानक बन्दै गएको छ। तथ्यांक हेर्दा जिल्लामा बलात्कारका घटना दोब्बरले बढेको देखिन्छ। त्यसमा पनि बलात्कारीको शिकार बढी अवोध बालिका बन्ने गरेका छन्। गत वर्षको पुसदेखि अहिलेसम्म एक वर्षभित्र जिल्लामा ६२ जना बलात्कारबाट पीडित बनेका छन्। यो संख्या अघिल्लो वर्षको भन्दा झन्डै दोब्बर हो। अघिल्लो वर्ष ३६ जना बलात्कारमा परेका थिए। मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक सेवा केन्द्र (इन्सेक)को तथ्यांकअनुसार यस वर्ष बलात्कृत कुल ६२ जनामध्ये ५० जना अवोध बालिका छन्। ‘जिल्लामा बर्सेनि बलात्कृत हुनेहरूको संख्या हेर्ने हो भने दोब्बर बढी देखिएको छ,’ इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले भने, ‘त्यसमा पनि सबैभन्दा बढी बलात्कार अवोध बालिकामाथि नै हुने गरेको छ।’
छरछिमेक तथा नातेदार मात्र हैन, आफ्नै घरभित्र पनि बालिकाहरू सुरक्षित नभएका घटना जिल्लामा अधिक छन्। आफ्नै बाबु तथा दाजुबाट बालिका बलात्कृत हुने गरेका छन्।
शान्तिनगर गाउँपालिका–४ की ३ वर्षीया बािलका घरनजिकैको मामाको घरमा गएका बेला दाजु नाता पर्ने मामाको छोराबाट बलात्कृत भइन्। ती बालिका अचेत अवस्थामा भेटिएपछि परिवारले प्रहरीमा उजुरी दियो। प्रहरीले बलात्कारमा संलग्न १३ वर्षीय बालकलाई नियन्त्रणमा लियो। तर यो घटनालाई पारिवारिक समस्याका रूपमा रहेको भन्दै दुई परिवारले मेलमिलाप गरेका थिए। यो सहमतिपछि बालक रिहा भएका थिए।
अवोध बालिकाहरू बलात्कारमा पर्नाको मूल कारण प्रलोभन देखिन्छ। सानो लोभ देखाएरै फकाउन सकिने भएकाले बलात्कारीहरूले बालिकामाथि नै निसाना लगाउने गरेको इन्सेक प्रतिनिधि जेएन बताउँछन्।
प्रकाशित: ३ पुस २०७५ ०१:३१ मंगलबार




-600x400.jpg)
