१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आमा भन्छिन् : अपराधी पत्ता लागेमात्र मनले शान्ति पाउँछ

कञ्चनपुर - ‘आँसु चुहाएर मात्र पीडा देखिने होइन। चौबीसै घण्टा मेरो छाती जलिरहेको हुन्छ’, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भनिन्, ‘छोरीको पीडाले तीनचार महिना रुँदा आँखाको आँसु पनि सकिन थाल्यो।’ वास्तविक अपराधी छिटो पत्ता लागोस् भन्ने उनको चाहना छ। ‘मलाई न्याय चाहिएको हो। अपराधी पत्ता लागेमात्र मन शान्त हुन्छ’, उनले भनिन्।

‘अपराधी पत्ता नलाग्दा छोरीको आत्मा पनि तड्पिरहेको होला’, उनले थपिन्, ‘जन्म दिने आमा हुँ। कलिलो उमेरकी छोरीलाई बलात्कार गरेर हत्या गरेको घटनाले मलाई कति पीडा भएको होला। अपराधी पत्ता लागेमात्र मेरी छोरीको आत्माले र मेरो मनले पनि शान्ति पाउनेछ।’ अनिश्चितकालीन धर्नामा बस्ने क्रममा असामान्य व्यवहार देखाएपछि पति यज्ञराजलाई लिएर उपचार गराउन काठमाडौं गएकी उनी केही दिनअघि घर फर्केकी हुन्।

‘पहिले दिलीप बिष्टले पनि स्विकारेको हो, स्विकारेर मात्र अपराधी हो भन्न मिल्दैन। डिएनए रिपोर्टलगायत सबै प्रमाण मिले अपराधी हो भन्न सकिन्छ।’

प्रहरीले भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाले उनी पनि डिएनएको रिपोर्ट पर्खेर बसेकी छन्। प्रदीप र विशालका आफन्तले गरिब भएकाले फसाउन लागेको बताएका छन्। महेन्द्रनगरका केही अधिकारकर्मीले पनि उनीहरु निर्दोष भएको भनिरहेका बेला दुर्गादेवीले प्रमाण जुटे न्याय पाएको मान्ने अभिव्यक्ति दिएकी छन्। अहिले समातिएका दुईजनाले हत्या गरेको स्विकारेको सुनेको तर सबै प्रमाण नमिलेसम्म केही भन्न नसकिने उनले बताइन्। ‘पहिले दिलीप बिष्टले पनि स्विकारेको हो, स्विकारेर मात्र अपराधी हो भन्न मिल्दैन’, उनले भनिन्, ‘डिएनए रिपोर्टलगायत सबै प्रमाण मिले अपराधी हो भन्न सकिन्छ।’ अहिले पक्राउ परेकाहरुले निर्मलालाई मारेको हो पनि भन्न नसकिने र होइन पनि भन्न नसकिने उनको भनाइ छ। ‘सबैले होइन भने पनि कसले होला ? एकजना कोहीले मारेर त मेरो छोरी मरिहोला’, उनले भनिन्, ‘सबै प्रमाण जुटेमा साँचो अपराधी रहेछ भन्न सकिन्छ, अहिले केही भन्न सक्दिन।’

हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका प्रदीप साउन ९ गते राति पाले चौधरीको पसलबाट कुखुराको मासु चोरेको आरोपमा साउन १० गते बिहान पक्राउ परेका थिए। त्यही दिन दिउँसो निर्मलाको हत्या भएको थियो। प्रदीपलाई चौधरीकै पसलबाट प्रहरीले पक्राउ गरेको भए पनि कति बेला छोडेको भन्ने स्पष्ट भएको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुवेर कडायतले सालघाडी प्रहरी पोस्टबाट गएको प्रहरी टोलीले साउन १० गते बिहान प्रदीपलाई समोतर पोस्टमा ल्याएको बताएका छन्। ‘उसले (प्रदीपले) विशाल चौधरीको नाम मुछेपछि १० मिनेटमै प्रहरीले छोडिदियो’, एसपी कडायतले भने, ‘उसलाई हिरासतमा राखिएको होइन।’ उसलाई सोधपुछ मात्र गरेकाले रोहबरमा नभई त्यत्तिकै छोडिएको उनी बताउँछन्। ‘प्रहरीमा उसलाई समातेको कुनै डकुमेन्टेसन छैन। त्यति बेला प्रहरीलाई सोधेर मैले यो कुरा थाहा पाएको हुँ’, उनले भने।

प्रदीपका आफन्त त्यो दिनभरि प्रदीप प्रहरी हिरासतमै भएकाले उनले हत्या गरेको हुन नसक्ने बताउँछन्। ‘कुखुरा चोरेकोमा प्रहरीले प्रदीपलाई साउन १० गते समातेको छ’, उनकी काकी मन्जु रावलले भनिन्, ‘उमेर पनि १६ वर्षको बच्चा हो।’

यस्तै विशाललाई कुखुरा चोरेको आरोपमा साउन १० गते दिउँसो ४ बजेतिर प्रहरीले पक्राउ गरेको आमा सलमती चौधरीले बताएकी छन्। एसपी कडायतले विशाललाई भगतपुर विद्यालय आसपासबाट साँझ प्रहरीले पक्राउ गरेको बताए। उनलाई साउन ११ गते आमा सलमती गएर छुटाएकी थिइन्।

आँखामा कालोपट्टी बाँधेर प्रदर्शन
अधिकारकर्मी महिलाले निर्मलाका हत्यारा पत्ता लगाउन माग राखी आइतबार महेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालयअगाडि आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरे। दिउँसो १ बजेदेखि करिब २ घण्टासम्म उनीहरुले प्रदर्शन गरेका थिए। चार महिनासम्म पनि हत्यारा पत्ता नलगाएको भन्दै महिला अधिकारकर्मीले आन्दोलन जारी राखेका छन्। ‘निर्मलाको हत्यारा पत्ता नलागेसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले भनिन्, ‘आज (आइतबार) दुई घण्टा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन ग¥यौं।’ सोमबार दिउँसो निर्मलाको शवको प्रतीक बनाएर प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताइन्।

आफन्तको धर्ना जारी
निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिन कात्तिक २५ गतेदेखि निर्मलाका आमाबुवाले सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ। धर्नाकै क्रममा असामान्य व्यवहार देखाएपछि बुवा यज्ञराज पन्तलाई उपचारार्थ काठमाडौं लगिएको थियो। उनको महाराजगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था अहिले सामान्य छ। पतिको उपचार गर्न काठमाडौं गएकी निर्मलाकी आमा दुर्गादेवी घर फर्किएकी छन्। उनीहरु दुवैजना काठमाडौं गएका बेला निर्मलाकी कान्छी आमा लक्ष्मीले धर्नालाई निरन्तरता दिएकी थिइन्। उनी अहिले पनि दिनरात धर्नामै बसिरहेकी छन्। काठमाडौंबाट फर्केपछि निर्मलाकी आमा दुर्गादेवी पनि धर्नामा बसेकी छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App