२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पको ४१ महिनापछि बल्ल सर्भे

गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय। तस्बिर : हिमनाथ/नागरिक

रसुवा - भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।

चीन सरकारले निर्माणका लागि जिम्मेवारी लिएका तीनवटा विद्यालयमध्ये दुईवटाको सर्भे सुरु गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रसुवाले जनाएको छ। सर्भेका लागि ११ सदस्सीय चिनियाँ टोली रसुवा आएको छ।

टोलीले सर्भे सकेपछि विद्यालयसँग छलफल गरी निर्माण सुरु गर्ने जानकारी दिएको एकाइ प्रमुख शरद् भण्डारीले बताए। ‘विद्यालय निर्माण नहुँदा पठनपाठनमा समस्या आएको छ’, उनले भने,‘ ढिलै भए पनि काम सुरु हुने देखिएको छ।’

जिल्लाको कालिका गाउँपालिका–५ जीवजीवेमा रहेको नीलकण्ठ नमुना माविको भवन निर्माण पनि चीन सरकारले नै गर्ने छ। यो विद्यालयको सर्भेका लागि भने अर्को टोली आउने बताइएको छ। जिल्लाका अन्य विद्यालय पुनर्निर्माण धमाधधम भइरहेको छ। चारवटा विद्यालय हस्तान्तरणको तयारीमा छन्।

जिल्लामा भूकम्पले क्षति गरेको ९८ वटा विद्यालयको कक्षाकोठा निर्माण गरिएको छ। भूकम्पले पूर्ण तथा आंशिक क्षति गरेका ९८ वटा विद्यालयका तीन सय ९१ वटा कक्षाकोठा निर्माण सम्पन्न भएको छ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ, जिल्ला आयोजना कार्यान्वयन एकाइ, विभिन्न गैरसरकारी संस्था र व्यक्तिले सामुदायिक विद्यालय निर्माण गरेका हुन्। जिल्लामा अहिले ३४ वटा सामुदायिक विद्यालयका भवन निर्माण भइरहेको बताइएको छ। भूकम्पले क्षति गरेको ६ सय ५९ कक्षाकोठामध्ये सरकारले ९८ वटा र गैसरकारी संस्थाले तीन सय ३३ वटा निर्माण गरिसकेका छन्।

विद्यालय भवन र कोठा भूकम्पप्रतिरोधी बनाइएको एकाइले जनाएको छ। जिल्लामा अहिले निर्माण भइरहेका सम्पूर्ण विद्यालय चालु आर्थिक वर्षमा सम्पन्न गर्ने योजना छ। ‘निर्माण भइरहेका विद्यालय एक वर्षभित्रै सम्पन्न हुन्छन्,’ उनले भने।

जग्गा अभाव, भौगोलिक कठिनाइ, विद्यालय व्यवस्थापन समिति आफैंले निर्माण नगरेर ठेक्कामा लगाउनेलगायत पुनर्निर्माणमा ढिलाइ भएको हो। भवन निर्माण छिटो सम्पन्न गर्न अनुगमन र सहजीकरण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७५ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App