२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विषयमा विवाद बढ्दै

तेह्रथुम – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदायबीच विवाद बढ्न थालेको छ। मेन्छ्यायेमको उच्च भू–भागमा किराँत धर्मावलम्वीले माङहिम (मन्दिर) निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बु समुदायले लिम्बु जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गर्न थालेपछि लिम्बू समुदायबीच विवाद बढ्न थालेको हो।

ऐतिहासिक स्थलहरूमा धर्मको नाममा संरचना बनाउदा मेन्छ्यायेम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा उत्रिएका युमा धर्म मान्ने लिम्बू समुदायले मेन्छ्यायाम डाँडा संरक्षण समिति नै गठन गरेका छन्। समितिले मेन्छ्यायाम डाँडामा लिम्बू समुदायको इतिहास र मौलिकतासँग जोडिएको हुनाले पनि भौतिक संरचना निर्माण गर्न नदिने घोषणा गरेका छन्। विरोधपछि निर्माणाधीन मन्दिर निर्माणको काम रोकिएको छ। संरक्षण समितिका सचिव भिमसेन लिम्बुले लिम्बु समुदायको हरेक संस्कारसँग जोडिएको मेन्छ्यायेम डाँडामा सिमेन्ट, रड, इँटालगायतका सामग्री प्रयोग गरेर भौतिक संरचना निर्माण गर्दा लिम्बु समुदायको संस्कार र अस्तित्वमाथि आक्रमण भएको आरोप लगाए।

‘यो क्षेत्रमा मानव निर्मित कुनै संरचना बन्नु हुँदैन, जस्तो छ त्यस्तै अवस्थामा छाडिनुपर्छ।’ लिम्बुहरूको मौलिकता भनेको प्रकृति पुज्नु र ऐबा, साम्बा तथा फेदाङमाहरुबाट संस्कार चलाउनु भएको मुन्धुमबिध तथा लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावोहाङले बताए। उनले मेन्छ्यायेम डाँडा सिद्धीप्राप्तीको स्थल भएकोले पनि यो पबित्र ठाउँको नाम मुन्धुम बाचनमा मात्र आउँछ त्यसैले पनि भौतिक बस्तुहरूले आस्थालाई धरापमा पार्न तर्क दिएका छन्।

समुन्द्र सहतबाट ३२ सय मिटर उचाईमा रहेको यस डाँडामा लिम्बु मुन्धुम अनुसार प्रारम्भिक कालमा युवादेवी खेली हिँड्ने, पालाम गाई हिँड्ने, बिहानीको समयमा बालक, मध्यान्हमा मस्त तरुनी र बेलुकीपख बुढी महिलाको रुपमा रुप धारण गरी विलय भएर हराउने खालको अद्भुत शक्ति भएकोले यस ठाउँमा भौतिक संरचना बनाउन नहुने मुन्धुमबिध माबोहाङको भनाई रहेको छ। मेन्छ्यायाम डाँडाको इतिहास केही फरक भएकाले यो डाँडामा बलीभोग, होम होमादी, मूर्ति पूजा, मदिरा जन्य भौतिक पूर्वाधार निर्माण लगायतका केही पनि काम र पूर्वाधार निर्माण गर्न नहुने उनको भनाइ छ। लिम्बू जातिहरू तागेरानिङवाफुमा युमा माङका सन्तान भएको र लिम्बुहरू जन्मिदै युमाधर्मी भएको भन्दै युवा साम्यो महासभा धरानले पनि पनि किराँत धर्म मान्ने लिम्बुहरूले मेन्छ्यायाम डाँडामा निर्माण थालेको भौतिक संरचनाको विरोध गरेको छ।

यता किराँत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमले भने मेन्छ्यायाम डाँडा संरक्षण समिति र युमा साम्योवालाको गतिविधिमा आपत्ति जनाएको छ। किराँत धर्मावलम्बीले ०५२ देखि सोही स्थानमा पूजाआजा गर्दै आएको र पूजालाई निरन्तरता दिन मन्दिर निर्माण गर्न थालिएको ति धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताए। आफूहरूले धार्मिक रूपमा संरक्षण गर्न थालेको डाँडालाई पुन संरक्षणको नाममा युमाधर्मावलम्वीले हस्तक्षेप गरेको भन्दै किराँत धर्मावलम्वीहरूले आक्रोस पोखेका छन्।

संघले प्रेस विज्ञप्ति मार्फत युमाधर्मावलम्वीले गरेको कार्यको विरोध गर्ने जनाएको छ। मन्दिर निर्माणका लागि तेह्रथुमको मेन्छ्यायाम गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र ताप्लेजुङको मैवाखोला गाउँपालिकाकासँग स्वीकृति लिएरै मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष मणिकुमार चोङबाङले दाबी गरेका छन्। मन्दिर निर्माण र आसपास क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माण गर्न मेन्छ्यायाम गाउँपालिकाले  ७ लाख विनियोजन गरेको छ।

प्रकाशित: १६ मंसिर २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App