१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

दूधकोसीपारि यातायात भाडामा मनपरी

सोलुखुम्बु - सोलुखुम्बुको दूधकोसीपारिको क्षेत्रमा चल्ने साना सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन्। थुलुङ दूधकोसी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाटस्थित दूधकोसी नदीमा पुल नबनेको मौका छोपी व्यवसायीले करिब २७ किलोमिटर धुले सडकको यातायाता भाडा ९ सयदेखि १२ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन्।

यात्रु टनाटन हुँदा दूधकोसी नदीको घाटदेखि सोताङसम्मको ५ सय र सोताङदेखि बुङ चोकसम्मको ४ सय भाडा असुल्दै आएका यातायात व्यवसायीले यात्रु कम भएका बेला प्रतियात्रु एक हजार २ सयसम्म भाडा असुल्ने गरेको यात्रु प्रकाश भट्टराईले बताए। उनले भने, ‘सहज बाटो र छोटो दुरीमा पनि चर्को भाडा असुल्दा प्रशासन र स्थानीय तह चुप छ।’ निजी सवारीसाधनले ओभरलोड हुनेगरी यात्रु र सामान बोक्दासमेत प्रशासन मौन बस्दा आश्चर्य लागेको उनले बताए। सवारीसाधनको क्षमताभन्दा बढि यात्रु चढाउँदा सोताङ र माहाकुलुङ गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यातायात व्यवसायीले करिब २७ किलोमिटर धुले सडकको यातायाता भाडा ९ सयदेखि १२ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन्।

सोताङ शिवटारमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय भए पनि दुवै निकायले यातायात व्यवसायीको मनपरी रोक्न चासो नदिएको सर्वसाधारणले गुनासो छ। गाउँपालिकाका जनप्रतिनिधिले समेत भाडाको विषयमा व्यवसायीसँग छलफलको कोसिस समेत नगरेको सर्वसाधारणको आरोप छ।

भाडाका विषयमा सर्वसाधारणको गुनासो आएपछि ध्यानाकर्षण भएको इलाका प्रशासन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख विनोद गौतमले यातायात व्यवसायीले मनपरी र चर्को भाडा असुल्दै आएको गुनासो आएकाले जनप्रतिनिधिसँग समन्वय गरी भाडादर तोकिने बताए। ‘दुरीको हिसाबमा भाडा महंगो छ,’ उनले भने, ‘दुवै गाउँपालिकाका जनप्रतिनिधि र यातायात व्यवसायीसँग छलफल गरी न्यायोचित भाडादर निर्धारण गर्न म प्रतिबद्ध छु।’ यातायात व्यवसायीले उक्त सडकमा एकतर्फी यात्रु बोक्दा ९ हजार रुपैयाँ उठाउने गरी भाडा लिँदै आएका छन्।
माहाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले प्रशासनसँग समन्वय गरी भाडा निर्धारण गर्ने विषयमा व्यवसायीसँग छलफल गर्ने बताए। ‘दूधकोसीमा बेलिब्रिज हाल्ने र ह्युममपाइपको माध्यमबाट अस्थायी सीधा सवारीसाधन सञ्चालन गर्ने तयारीले भाडा निर्धारणतर्फ ध्यान जान सकेन,’ उनले भने, ‘अब छिट्टै भाडा घटाउने छौं।’ यसअघि व्यवसायीसँगको सामान्य छलफलबाट भाडादर कायम गरिए पनि कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ।

अघिल्लो वर्ष मंसिरको पहिलो साताबाट दूधकोसीमा ह्युममपाइप बिच्छ्याई सीधा यातायात सञ्चालन गरेको स्थानीय तह यो पटक भने अहिले त्यसलाई निरन्तरता दिन असफल बनेको छ। गत वर्ष राखिएका ह्युमपाइप पानीले पुरिएपछि सीधा समस्या भएको छ। अहिले खाद्यान्न र निर्माण सामग्री बोकेका ट्रयाक्टर आधा ट्रली डुबाएर तार्दै आइएको छ। यसरी सामाना तार्दा सामान पानीले भिज्ने र दुर्घटनाको जोखिम रहेको व्यवसायी बताउँछन्।

थप आधा दर्जन ह्युमपाइप नदीमा बिच्छ्याउन सके साना सवारीसमेत वारपार गर्न सक्ने भए पनि सोताङ गाउँपालिकाले चासो देखाएको छैन्। पानीको सतह घटेपछि पुरानै ह्युमपाइपले काम गर्ने गाउँपालिकाको सोच छ।

प्रकाशित: १५ मंसिर २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App