८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

क्रसर उद्योगको अवैध उत्खनन, प्रहरी हस्तक्षेपपछि ठेकेदारको भागाभाग

रौतहट– रौतहटको वृन्दावन नगरपालिकाको भागमा पर्ने बागमती नदीको रमौली घाटबाट दिनहुँ २२ टिपरभन्दा बढी गिटी, बालुवा र ढुंगा उत्खनन गरेर गरुडा नगरपालिका ५ झाँझपुलमा रहेको शिवशंकर क्रसर उद्योगले निर्वाध लगिरहेको थियो। वृन्दावन नपाका मेयर राम सिनेही यादवले भने खोलामा एक्जाभेटर लगाएर उत्खनन गरेको देखेपछि शिवशंकर क्रसर उद्योगका सञ्चालक दयाराम साहसँग सम्पर्क गर्दा जिल्ला अनुगमन समिति रौतहटले आफूलाई उत्खननको इजाजत दिएको बताएपछि चुप लागेका थिए। दैनिक २२ खेप ढुंगा, गिटी र बालुवा ओसारिरहेको टिपर हिँड्ने ग्रामीण बाटो एक हप्ता नपुग्दै धुजा धुजा भएको र नहरको पुल पनि भाँसिएको देखेर स्थानीयबासीले नै उत्खननको बारेमा चासो लिएर सोधखोज गर्न थालेपछि सबै काम अवैध रहेको देखिएपछि प्रहरीले मंगलवार हस्तक्षेप गरेको छ।

रौतहट र सर्लाहीको बीचमा बग्ने बागमती नदीबाट प्रहरीले हस्तक्षेप गरेर एउटा एक्जाभेटर र तीनवटा टिपर नियन्त्रणमा लिएको छ। रौतहटको वृन्दावन नगरपालिकाको रमौली घाटबाट मंगलवार प्रहरीले खोला दोहन गर्दै गरेको अवस्थामा सबै साधनलाई नियन्त्रणमा लिएको हो। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालको निर्देशनमा रौतहट प्रहरीले ना ७ ख ६८५३, ना ७ ख ९३९०, ना ७ ख ९३९१ गरी तीनवटा टिपर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय समनपुरमा पु¥याएको छ भने एक्जाभेटरलाई प्रहरी निगरानीमा खोलामै राखिएको छ।

गत पाँच दिनदेखि दैनिक २२ टिपरले प्रहरी चौकी हर्षाहा, प्रहरी चौकी विर्ता र इलाका प्रहरी कार्यालय गरुडाको अगाडिबाटै गिटी, ढुंगा र बालुवा लोड गरी बिना इजाजत खोलाबाट उत्खनन गरी क्रसर उद्योगमा पु¥यारहेको थियो। उद्योगले वृन्दावन नगरपालिकाका मेयरलाई ढाँटेर अवैधरुपमा खोलालाई दोहन सुरु गरेको थियो। निर्माण व्यावसायी संघ रौतहटका अध्यक्षसमेत रहेका शिवशंकर क्रसर उद्योगका संचालक दयाराम साह जिल्ला अनुगमन समिति रौतहटको नाममा स्थानीय सरकार प्रमुखलाई ढाँटेर प्रहरी कार्यालयलाई पनि छलेको देखिन्छ।

जिल्ला अनुगमन समिति रौतहटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनुगमन समितिबाट चालू आवको लागि कसैलाई पनि बागमती नदीमा उत्खननको अनुमति नदिएको स्पष्ट पार्दै भनेका छन्, ‘अनुगमन समितिले अझै कसैलाई अनुमति दिएकै छैन्। अवैधरुपमा उत्खनन गरिरहेको खबर थाहा पाएपछि प्रहरी परिचालन गरिएको छ।’

वृन्दावन नपाले बागमतीको रमौली घाटलाई गिटी बालुवा उत्खनन गर्न चालू आर्थिक वर्षको लागि १ करोड ६० लाखमा बाबा विश्वकर्मा निर्माण सेवा हर्दिया ४ ठेक्का दिएको छ, तर यस निर्माण सेवाका प्रमुख हरेन्द्र ठाकुर लोहारले भने बागमती नदी उत्खननको विषयमा आफूलाई जानकारी नै नभएको बताए। आफूले ठेक्का लिएको ठाउँमा अरुले उत्खनन गरेको थाहा पाएर आफूले पनि प्रहरीलाई जानकारी गराएको र अब आफूले सम्बन्धित ठेकेदारसित क्षतिपूर्ति माग गर्ने ठेकेदार ठाकुरले दाबी गरेका छन्।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव टेकराज पन्थीले बिना इजाजत नदी उत्खननको अधिकार कसैलाई नभएको र प्रहरीले खोलामा हस्तक्षेप गरी कानुनको मर्यादा बढाएको बताए। नगरपालिकाको तर्फबाट अहिलेसम्म कसैलाई पनि खोला उत्खननको लागि अनुमति नदिइएको पन्थीको दाबी छ।

गत वर्षको तुलनामा खोलामा बाढी निकै कम आएकोले खोलामा ढुंगा, गिटी र बालुवा पर्याप्त भनएको अवस्थामा ३ देखि ४ मिटरसम्म गहिरो खाल्टो खनेर अवैधरुपमा उत्खनन गर्दा बागमती किनारका रौतहट र सर्लाहीका दर्जनाँँै गाउँ बाढीको उच्च जोखिममा परेको स्थानीयबासीको आरोप छ। समनपुरका नन्दकिशोर यादवले भने, ऐतिहासिक बजारलाई खतरामा पार्ने काम जानाजान भइरहेको छ। उत्खननले बागमती नदीमा निर्माणाधीन समनपुर पुललाई पनि खतरा छ।

वातावरणीय मूल्यांकन नै नभई बलजफ्ती रुपमा खोलामा एक्जाभेटर पसाएर अबैध रुपमा उत्खनन गरी क्रसर उद्योगमा सयौँ टिप ढुंगा, गिटी र बालुवा संग्रह गरिसकेका उद्योग संचालक साहले धेरैलाई प्रलोभनमा पारेर अवैध काम सुरु गरेको स्थानीयको दाबी छ।

प्रकाशित: ४ मंसिर २०७५ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App