१५ चैत्र २०८० बिहीबार
समाज

शंकास्पद सबैको डिएनए जाँच गर्ने प्रहरी तयारी

कञ्चनपुर - निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ। सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ। ‘शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौं’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने। अहिले पनि केही जना शंकाको घेरामा रहेको उनको भनाइ छ। ‘अहिले संख्या नभनिहालूँ, केही व्यक्ति शंकाको घेरामा छन्। उनीहरुको डिएनए जाँच हुन सक्छ।’ डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् । उनी भन्छन्, ‘डिएनए एउटै जनाको मिल्ने हो। यो भरपर्दो हो।’ विश्वका अन्य देशमा पनि डिएनएलाई आधार मानेर अपराधी पत्ता लगाएको उदाहरण रहेको उनी बताउँछन्।

बेलायतमा एउटै केसमा अपराधी पत्ता लगाउन ७ हजारजनाको डिएनए गरेको र हालै पाकिस्तानमा १२ सयको जाँच गरेको उनले उदाहरण दिए। ‘एउटै केसका लागि ७ हजारजनासम्मको डिएनए जाँच गरिएका उदाहरण छन् । एकजनाको मिल्ने हो, ढिलोचाँडो जे भए पनि डिएनए भरपर्दो हो’, उनले भने । निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरीले दुई सयभन्दा बढी जनासँग सोधपुछ गरिसकेको उनले बताए । तर प्रहरीले कुनै तथ्य फेला पार्न भने सकेको छैन । जिल्लाको प्रहरी टोली र केन्द्रीय अनुसन्धान प्रहरी ब्युरो (सिआइबी) को टोलीले संयुक्त रुपमा अनुसन्धान गरिराखेको उनले बताए। सिआइबीले प्राविधिक कुरालगायतमा सपोर्ट गरिरहेको उनले जानकारी दिए।

प्रहरीले एक हजारभन्दा बढी व्यक्तिको कल डिटेल जाँच गरेको छ । ‘हजारौं व्यक्तिको कल डिटेल जाँच गरेका छौं, यकिन संख्या अहिले भन्न सकिएन’, उनले भने, ‘कल डिटेल जाँच गरिसकेको र फिल्टर गर्ने काम भइरहेको छ।’ यसैगरी जिल्ला र केन्द्रमा शंकास्पद व्यक्तिका सामाजिक सञ्जालको स्टाटस केलाउने काम प्रहरीले गरिरहेको छ। सोधपुछ, कल डिटेल, सामाजिक सञ्जाल केलाउँदा शंकास्पद देखिएका सबैको डिएनए जाँच गर्ने तयारीमा प्रहरी छ । सिआइबीको टोलीलेजिल्लामै बसेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धान दायरामा चिनजानका व्यक्ति
प्रहरीले अनुसन्धान साँघुरिँदै गएको जनाएको छ । ‘हामीले अनसन्धान साँघु¥याउँदै लगेका छौं’, एसपी कडायतले भने, ‘अहिले भनिहाल्ने कुनै तथ्य फेला परिसकेको छैन ।’ चिनजानको र घटनास्थलको जानकारी भएको व्यक्तिले हत्या गरेको बढी सम्भावना हुन सक्छ भनेर पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘अनुसन्धानको आँखाले हेर्दा केके कुरामा बढी सम्भावना हुन सक्छ भनेर हेरिन्छ’, उनले भने, ‘चिनजान भएका, घटनास्थल थाहा भएका व्यक्तिले पनि हुन सक्छ भनेर अनुसन्धान गरिराखेका छौं ।’ प्रहरीले घटनास्थलवरिपरि र निर्मलाका गाउँका शंकास्पद व्यक्तिका बारेमा पनि सूक्ष्म अनुसन्धान थालेको छ । निर्मला र निर्मला पढ्न गएको रोशनी बमको घरको दूरी १३ सय मिटर छ । दुवै घरको बीचमा रहेको उखुबारीमो निर्मलाको शव फेला परेको थियो । डिएनएको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उब्जिरहेका बेला प्रहरीले भेजाइनल स्वाब निर्मलाकै भएको दाबी गरेको छ। ‘निर्मलाको रगत जाँच र भेजाइनल स्वाबको डिएनए मिलेको छ’, एसपी कडायत भन्छन्, ‘शतप्रतिशत निर्मलाकै भेजाइनल स्वाब हो ।’ भेजाइनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको विकसित डिएनए प्रोफाइलबाट दोषी पत्ता लाग्नेमा उनी विश्वस्त छन् । अहिलेसम्म ९ जनाको डिएनए जाँच भइसकेको छ।

पाँच दिनदेखि धर्ना जारी
हत्यारा पत्ता लगाउन माग राखी निर्मलाका आमाबुवाले ५ दिनदेखि जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना जारी राखेका छन्। उनीहरुसँगै अधिकारकर्मी, नागरिक समाजका व्यक्ति पनि धर्नामा बसेका छन्। विभिन्न ठाउँबाट आएका व्यक्तिले पनि निर्मलाका आमाबुवालाई भेटेर ऐक्यबद्धता जनाउने गरेका छन् । ‘विभिन्न ठाउँबाट हामीलाई समर्थन दिन आइरहेका छन्’, निर्मलाका बुवा यज्ञराज पन्तले भने। आइतबारदेखि उनीहरु अहोरात्र धर्नामा बसिरहेका छन । धर्नामा बस्दा बिरामी भएको पन्तले बताए। ५ दिन धर्नामा बस्दा पनि सरकारले कुनै ध्यान नदिएको गुनासो निर्मलाकी आमा दुर्गादेवीले गरिन्। ‘न्यायका लागि हामी धर्नामा बसेका हौं’, उनले भनिन्, ‘अहिलेसम्म सरकारले ध्यान दिएको छैन।’ हत्यारा पत्ता नलागेसम्म धर्नामा बसिरहने उनले बताइन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App