१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छठको स्वागतमा राजधानी

काठमाडौंको कमलपोखरीमा छठका लागि पोखरी सफा गरिँदै । तस्बिरः रासस

काठमाडौं – गुह्येश्वरीस्थित बागमती किनारमा हरेक वर्षझैं यसपटक पनि बाँसको अस्थायी पुल बनेको छ । नदीको दुई किनारमा बसेर छठीमाईको पूजा गर्ने भक्तालुका लागि ओहोरदोहोर गर्न सहज होस् भनेर कामचलाउ साँघु बनाइएको हो । राजधानीमा विगत डेढ दशकदेखि मनाइँदै आएको छठले पहाडी र मधेसी समुदायलाई जोड्ने ‘पुल’ को काम गरेको छ।

परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पर्व पछिल्ला वर्षमा सामुदायिक र धार्मिक सद्भावको साझा पर्व बन्न थालेको छ । एक÷डेढ दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बीमा सीमित छठ पछिल्लो समय पहाडी समुदायसँगै अन्य धर्मावलम्बीको समेत पर्व बनेको छ।

बागमती किनारमा छठ पर्व मनाउनेको नाम सूची हेर्दा पहाडी समुदायको उपस्थिति बढ्दै गएको देखिन्छ । गौरीघाट छठ पूजा समितिका अनिल सिंहले पाँच सय ५० पूजास्थल बुकिङ भइसकेको जानकारी दिए । ‘समग्रमा पैंतीस प्रतिशत जति पहाडी समुदायका छन्,’ उनले भने, ‘यहाँ त मुस्लिम समुदाय सहभागी छ।’

छठ मनाउनेको सूचीमा महतो, भट्टराई, महत, गुप्ता, रौनयार, पासवान, कोइराला, अग्रवाल, ओली, ढकाल, मैनाली, पण्डित, ठाकुर थरका धेरै छन् । ‘सूर्य भगवान् सबैका साझा हुन्,’ सिंहले भने, ‘पर्व मनाउने पनि सबै समुदायका छन् ।’ छठको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

राजधानीको कमलपोखरी क्षेत्रमा पनि छठको तयारी अन्तिम चरणमा पुगेको छ । ब्रतालुका लागि त्रिपाल राख्ने कामसँगै झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको छ । कमलपोखरीमा छठ मनाउन तीन सयभन्दा बढी परिवार सहभागी हुने रामनरेश चौधरीले जानकारी दिए । ‘ब्रतालु बस्ने ठाउँ मात्र तीन सयभन्दा बढी हो,’ उनले भने, ‘तिनका आफन्त र सर्वसाधारणको भीडले यहाँको रौनक झनै बढाउँछ ।’ छठको सामाग्री किनमेलका लागि कालीमाटीमा पनि उपभोक्ताको भीडले बढेको छ।

सुनसरी घर भई चाबहिल बस्दै आएकी निर्मला ठाकुर र काभ्रे घर भइ चाबहिल बस्दै आएकी अंशु गिरीले विगत चार वर्षदेखि सँगै छठ मनाउँदै आएका छन् । ‘यसपटक पनि किनमेल सँगै गर्यौं ’ ठाकुरले भनिन्, ‘पूजा पनि सँगै गर्छौं।’

उपत्यकामा करिब आठ दशकअघि टंकेश्वरको विष्णुमती नदी किनारमा सीमित व्यक्तिले छठ पर्व मनाउन सुरु गरेको अनुमान छ । अहिले भने उपत्यकाका दुई दर्जनभन्दा बढी स्थानमा छठपूजा हुने गर्छ । छठ पूजाका लागि कालीमाटी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थानमा सिंगारिएका छन् । भूकम्पपछि रानीपोखरी पुनर्निर्माण नहुँदा त्यहाँ छठ पूजा हुन सकेको छैन । विगतमा रानीपोखरी क्षेत्रमा छठ मनाउँदै आएका श्रद्धालु कमलपोखरी तथा गुह्येश्वरी क्षेत्रमा जान बाध्य छन् । ‘सरकारले पोखरी तयार नगरेकाले यसपटक पनि छठ मनाउन समस्या भएको छ,’ रानीपोखरी क्षेत्रमा छठ पर्व मनाउँदै आएका मोहनलाल गुप्ताले भने, ‘आउँदो छठ रानीपोखरीमा मनाउने आशा लिएका छौं।’

त्यस्तै सरकारले टंकेश्वर क्षेत्रमा चासो नदिएको गुनासो विगत लामो समयदेखि त्यहाँ छठ मनाउँदै आएको रौनियार समाजको गुनासो छ । ‘सरकारले केही क्षेत्रमा मात्र बढी चासो दिएको छ,’ सन्तोष रौनियारले भने, ‘सबैभन्दा पुरानो यस क्षेत्र भने उपेक्षा गरिएको छ ।’ सरकारले बेवास्ता गरे पनि समाजले यस क्षेत्रमा सरसफाइ गर्नुका साथै रङरोगन गरी तयारी पूरा गरेको जानकारी उनले दिए।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार सुरु भएको छ । आइतबार पहिलो दिन पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना गरिन्छ । त्यस्तै मंगलबार नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै सुरु हुने छठ पर्व बुधबार उदाउँदो सूर्यलाई पूजा गरेसँगै सम्पन्न हुनेछ।

प्रकाशित: २७ कार्तिक २०७५ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App