१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तेह्रथुमको समग्र हितका लागि पूर्वाग्रह विना काम गर्छु : मन्त्री ढकाल

तस्बिर सबै : प्रेम गुरागार्इं

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले तेह्रथुमको समग्र हितको निम्ति कुनै आग्रह–पूर्वाग्रह विना काम गर्ने बताएका छन्। तेह्रथुम सरोकार समाजले आज राजधानीमा आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै मन्त्री ढकालले आफू पनि तेह्रथुमकै भएको बताउँदै तेह्रथुमको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए। 

विभिन्न ठाउँमा छरिएर रहेका तेह्रथुमेहरूलाई एकै थलोमा ल्याएर आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमले भातृत्वको भावना बढाउने आफूले विश्वास लिएको ढकालले बताए। उनले यस्ता खाले कार्यक्रमले संस्कृतिको विकासमा टेवा पु-याउने समेत बताएका छन्।
देउसी–भैलो मार्फत संकलित रकम समाज सेवामा खर्चिनु तारिफ योग्य कार्य भएको बताउँदै मन्त्री ढकालले समाजले चालेको कदमले आफूलाई खुसी तुल्याएको बताए।

देउसी–भैलो मार्फत संकलित रकम जिल्लाका विपन्न तथा आपतविपतमा परेकालाई सहयोग गरिने समाजका अध्यक्ष मोहन कुमार डाँगीले बताए। यस्तै पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले समाजसेवामा खर्चिने यस्ता कार्यमा सबैले दान गरे पुन्य कमाइने बताए। उनले यस्तो प्रकारको देउसी–भैलोबाट संस्कृतिको जगेर्ना हुनुका साथै समाजसेवा समेत हुने बताए। नेता मैनालीले अबको समय विकास गर्ने समय भएको बताउँदै सबै एकजुट भएर निश्वार्थ भावनाका साथ विकासमा जुट्नुपर्ने बताए।

देउसी–भैलोबाट एक दिनमै समाजले १२ लाख, ५० हजार रकम संकलन गरेको समाजका उपाध्यक्ष हरिपतिलाल श्रेष्ठले बताए। कार्यक्रममा तेह्रथुमको झल्को दिने च्याब्रुङ नाच, मारूनी नाच, पञ्चे बाजा, गीत, नृत्य लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा पूर्वराज्यमन्त्रीद्वय सीता गुरूङ, तुलसी सुब्बा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रतिनिधि सभाका सदस्य डा. बिजय सुब्बा, समाजका सल्लाहकार लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए। यस्तै समाजका बरिष्ठ उपाध्यक्ष डिल्लीराम ढुंगेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रमकाे उद्घाटन कानुनमन्त्री ढकालले पानसमा दिप प्रज्वलन गर्दै गरेका थिए भने उपस्थित अतिथिहरुलार्इ समाजका अध्यक्ष डाँगीले माला लगार्इ स्वागत गरे। कार्यक्रमकाे सञ्चालन महासचिव केशब  भट्टरार्इले गरेका थिए।

तस्बिर सबै : प्रेम गुरागार्इं
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App