२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

टिटी खोपको अभाव

भक्तपुर - भक्तपुर जिल्लाभरि टिटी खोपको अभाव भएको छ। बिरामीको अत्यधिक चाप हुने भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयलगायतका क्लिनिकमा टिटीका खोप नपाइँदा समस्या भएको छ। सामान्य चोटपटक लागेका बिरामीका आफन्त टिटी खोप खोज्न भौंतारिइरहेका छन्।

खुट्टामा किलाले घोचेर चोट लागेका भक्तपुरका किरण न्हौमिखाले खोप कतै पनि नपाइएको बताए। ‘च्याम्हासिंह जनस्वास्थ्य केन्द्रमा छैन भनेपछि भक्तपुर अस्पताल पुगेँ। त्यहाँ पनि पाइएन,’ उनले नागरिकसँग भने, ‘विभिन्न औषधि पसल चहारें तर कहीँ भेटिनँ।’

बागीश्वरी माध्यामिक विद्यालय च्याम्हासिंहका सहायक प्रिन्पिसल ज्ञानसागर प्रजापतिले जिल्लाभरि टिटी खोप नपाएको जनाए। ‘विद्यार्थीलाई चोटपटक लागेपछि खोपका लागि जिल्लाभरि खोंजे तर पाइएन,’ उनले भने, ‘खोपको अभाव हुँदा सामान्य चोटपटक लागेका बिरामीहरुलाई धेरै समस्यामा पारेको छ।’

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्णबहादुर चन्दले जिल्लामा सबैतिर टिटी खोपको अभाव भएको स्वीकारे । उनका अनुसार सरकारले बढी जोखिमको खोजी गरी त्यसअनुसार खोप कार्यक्रम सञ्चालन गर्ने गर्दछ । त्यसमा टिटी खोप पर्दैन। त्यसकारण टिटी खोप निजी रुपमै बिक्री वितरण हुन्छ । टिटीबाहेक सरकारी खोप कार्यक्रमअन्तर्गतका विभिन्न खोप सरकारी तथा निजी अस्पताल, क्लिनिकमा सहजै पाइने उनले जानकारी गराए।

उनका अनुसार सरकारले बढी जोखिमका गर्भवती र पाँच वर्ष मुनिका बालबालिकालाई टिटी खोप दिँदै आएको छ । तर उनीहरुलाई पनि टिटी नभई टिडी खोप दिइने उनले जनाए। टिटीका साथ अरु खोपलाई टिडी नामाकरण गरिएको उनले स्पष्ट पारे । गर्भवतीलाई दुई पटक र जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकालाई टिटीसहित सात पटक टिडी खोप दिइने उनले बताए।

खिया लागेको किलाले घोच्दा, घाउ लागेको ठाउँमा गोबर लाग्दा र अन्य चोटपटक हुँदा टिटी खोप लगाउनुपर्ने हुन्छ। पहिला नै मात्रा पूरा गरेर टिटी खोप लगाइएको भए घाउचोटपटक लाग्दा टिटी खोप नलिए पनि हुन्छ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत राजकुमार थापाले टिटी खोपको माग कम भएकाले सबैतिर नपाइएको हुनसक्ने बताए। टिटी खोपबाट हुने संक्रमणको समस्या पनि खासै नदेखिएकाले यसको माग कम भएको उनको बुझाइ छ। बढी जोखिमका पाँचवर्षभित्रका बालबालिका र गर्भवतीलाई सरकारी कार्यक्रम अनुसार नै खोप लगाइसक्ने भएकाले बजारमा यसको माग कमै हुने गरेको बताइन्छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App