२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व (पेप्सीकोला)तिर हेलिकप्टर पार्किङ क्षेत्र छ। १० वटा हेलिकप्टर कम्पनीका ३५ भन्दा बढी हेलिकप्टरको पार्किङ तथा उडान त्यहीँबाट हुन्छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने उक्त क्षेत्रमा शौचालयको व्यवस्था गर्न सकेको छैन।

विमानस्थल कार्यालयले हेलिकप्टर पार्किङ, सुरक्षा, विमानस्थल विकासलगायतका शीर्षकमा हेलिकप्टर कम्पनीबाट शुल्क लिन्छ। सुविधाका नाममा भने पाइलट तथा यात्रुका लागि न शौचालय छ न त यात्रुका लागि प्रतीक्षालय नै छ।

‘शौचका लागि एक किलोमिटर टाढा साइड अफिस पुग्नुपर्छ,’ पाइलट सुरज थापाले भने, ‘साइड अफिसमा पनि विमानस्थलले होइन, हामी आफैंले शौचालय बनाएका हौं।’ उनका अनुसार शौचको समस्या भएपछि पाइलटहरू मिलेर पार्किङभन्दा एक किलोमिटर टाढा साइड अफिसमा सामान्य खालका शौचालय बनाएका हुन्। हेलिकप्टरमा आवतजावत गर्दा यात्रुलाई शौच आएमा पनि एक किलोमिटर पर लग्नुपर्ने बाध्यता पाइलट थापाले सुनाए। ‘यात्रु आउँछन्, भनेका बेलामा उडान हुँदैन्,’ उनले भने, ‘उडान पर्खिरहँदा बस्ने ठाउँ (प्रतीक्षालय) छैन।’ कतियत यात्रु भने एक किलोमिटर दूरीमा रहेको शौचालयमा जानुभन्दा गन्तव्यमा पुगेरै शौच गर्ने गरेको पाइलहरूले बताए।

हेलिकप्टर पार्किङ क्षेत्रमा शौचालय, प्रतीक्षालयलगायतका समस्या वर्षौं पुरानो हो। ‘विमानस्लथ कार्यालयले बनाउनुपर्ने भए पनि विभिन्न झन्झटले कार्यालयले शौचालय, प्रतीक्षालयजस्ता पूर्वाधार निर्माण गर्न सकिरहेको छैन,’ विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘व्यवसायी स्वयंले निर्माण गर्दा पनि फरक पर्दैन।’ उनका अनुसार व्यवसायीले हेलिकप्टरबाट दैनिक लाखौं आम्दानी गर्छन्। आवश्यकता भएपछि ती व्यवसायीले नै शौचालय बनाउने क्षेत्रीले बताए । विमानस्थल कार्यालयले नयाँ ठाउँमा व्यवस्थित हेलीप्याड बनाउने योजना अघि सारेकाले पनि शौचालय प्राथमिकतामा नपरेको उनले बताए।

वायुसेवा सञ्चालक संघ नेपालले भने विभिन्न शुल्क लिने तर सामान्य सुविधासमेत नदिएको आरोप लगाएको छ। ‘हामीले विमानस्थललाई पार्किङ, सुरक्षा, सरसफाइलगायत शीर्षकमा शुल्क तिरिरहेका छौं,’ संघका महासचिव तथा प्रवक्ता घनश्याम आर्चायले भने, ‘विमानस्थलले भने सामान्य सुविधासमेत हामीलाई दिएको छैन।’ उनका अनुसार डोमेस्टिक उडान पार्किङ क्षेत्रमा पनि शौचालय थिएन। तीन वर्षअघि व्यवसायीहरूले नै मिलेर शौचालय बनाएका हुन्। ‘आवश्यक पूर्वाधारको विकास हामीले गर्ने हो भने शुल्क तिर्नुको अर्थ के रह्यो र,’ उनले भने, ‘सामान्य पूर्वाधार नहुँदा हेलिकप्टर पाइलट र यात्रु समस्यामा परेका छन्।’

विमानस्थल कार्यालयका महाप्रबन्धक क्षेत्रीका अनुसार हेलिकप्टर पार्किङ क्षेत्रमा शौचालय आवश्यक रहेको कुरा कार्यालयले बुझेको छ। यसअघि पनि कार्यालयले शौचालय बनाउने कार्य अघि सारेको थियो। तर, व्यवसायीबीचमै कहाँ बनाउने भनेर एकमत नभएपछि रोकिएको उनले बताए। ‘सबै हेलिकप्टर कम्पनीलाई सहज हुनेगरी यो ठाउँमा बनाउँदा ठीक हुन्छ भनेर प्रस्ताव आओस्,’ क्षेत्रीले भने, ‘नयाँ ठाउँमा बनाइने हेलिप्याडसँगै त्यहाँ शौचालय निर्माण गरिनेछ।’ उनका अनुसार शौचालय बनाउन सामान्यतया १५ लाख रुपैयाँ खर्च हुन्छ।

प्रकाशित: २० आश्विन २०७५ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App