१६ चैत्र २०८० शुक्रबार
समाज

निर्मला हत्यापछि २८ बलात्कृत

धनगढी - कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन्। निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ। निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भने रेडिमेड जबाफबाहेक प्रहरीसँग अर्को उत्तर छैन।

निर्मलाको हत्यापछि कञ्चनपुरमा मात्र नौवटा बलात्कारका घटना भएका छन्। प्रहरीका अनुसार पछिल्लो पटक असोज ४ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा सात वर्षीया बालिका बलात्कृत भइन्। आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताए। त्यस्तै कञ्चनपुरकै पुनर्वास गाउँपालिकाामा पनि नौ महिने बालिका बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको एसपी कुवेर कडायतले बताए।

‘यी दुई घटनाले समाजमा बलात्कार कति डरलाग्दो रुपमा बढिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ’, शिक्षक तीर्थराज पाण्डे भन्छन्, ‘बलात्कारीलाई कडा कारबाही गर्न र समाजमा चेतनाको स्तर बढाउन नसके यसले अझै भयावह रुप लिन सक्छ।’ बलात्कार विरुद्ध सडकमा प्रदर्शन भइरहेका बेला पनि यस्ता घटना बढ्नु चिन्ताजनक भएको उनी बताउँछन्।

बलात्कार नरोकिएपछि समाजमा त्रास फैलिएको छ। ‘छोरीलाई यताउता कामले पठाउन पनि डर लाग्ने अवस्था आएको छ’, अभिभावक नरबहादुर साउदले भने।

प्रहरी नायब उपरीक्षक ओझाका अनुसार कञ्चनपुरमा साउनयता भएका (निर्मलाको हत्या ‘केस’ बाहेक) बलात्कार घटनाका आरोपित आठजनालाई पक्राउ गरिएको छ।

प्रदेश ७ प्रहरी कार्यालय अनुसार जेठमा ११, असारमा १७ र साउन १० र भदौमा १७ वटा बलात्कारका घटना भएका छन्।

प्रदेश ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केसीले साउन र भदौमा यस प्रदेशका विभिन्न स्थानमा २७ वटा बलात्कारका घटना भएको उजुरी परेको बताए। ‘अधिकां बलात्कार घटनाका आरोपित पक्राउ परेका छन्’, उनले भने।

बलात्कारका घटना बढ्नुमा मदिरा सेवन, लागूऔषध प्रयोग, दण्डहीनता र समाज छाडा गतिविधितर्फ उन्मुख हुनु, मोबाइलमा अश्लिल सामग्रीको पहुँच, नैतिक शिक्षाको खडेरी जस्ता कारणले काम गरेको जानकार बताउँछन्। राजनीतिक र आर्थिक पहुँच भएका मानिसले अपराध गर्दा पनि उन्मुक्ति पाउने अवस्था भएकाले बलात्कारका घटना पनि बढ्दै गइरहेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकन्द कलौनी बताउँछन्। राजनीतिक हस्तक्षेपले गर्दा अपराधीले उन्मुक्ति पाउने गरेको उनी बताउँछन्। अनियन्त्रित मदिरा बिक्री र सेवन पनि अपराधको प्रमुख कारण रहेको उनको बुझाइ छ। ‘सरकारले मदिरा नियन्त्रण गर्नुपर्छ’, उनी भन्छन्। ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट हरेक क्षेत्रमा दण्डहीनता मौलाएकाले बलात्कारका घटना पनि बढिरहेको बताउँछन्। ‘कारागार चलान भएका अपराधीसमेत राजनीतिक र आर्थिक चलखेलमा छुटिरहेका छन’, उनले भने, ‘पहुँच भएकालाई कानुनको डर नभएकाले बलात्कार जस्ता अपराध बढिरहेका छन।’

प्रकाशित: ८ आश्विन २०७५ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App