सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबिच सहमति भएको छ ।
आइतबार सरकार र मेयर भट्टराईबिच १६ बुँदे सहमति भएको हो। सहमतिमा बाँस, स्वदेशी काठ वा यस्तै नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका सबै निकायमा अव आइन्दा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, नेपाल सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गरिने भएको छ।
त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गरी जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने , बाँदरको बन्ध्याकरण लगायतका न्यूनीकरण उपायहरुहरुको अध्ययन गरी Piloting को रुपमा बाँदर, बन्ध्याकरण र अन्य न्यूनीकरणका उपायहरूका बारेमा विज्ञसँग परामर्श लिई खोटाङ्ग जिल्लाबाट यसै आर्थिक वर्षमा सुरुवात गरी प्राप्त परिणामका आधारमा देशभरि कार्यान्वयन गर्ने सहमति भएको छ।
बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान। सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकारवालाहरूलाई प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकासका लागि क्षमता अभिवृद्धि गर्ने, प्रचारप्रसार, बजारीकरणमा सहयोग, मेला, प्रदर्शनी र ट्रेड(फेयर आदिमा सहभागी गराउने र अन्य प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले सञ्चालन गर्ने, गराउने पनि सहमति पत्रमा उल्लेख छ।
प्रकाशित: १८ श्रावण २०८२ १८:५९ आइतबार





