नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो।
काठमाडौँ महानगरपालिका-६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन्।
मोरङको कानेपोखरी गाउँपालिका-७ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट सोही प्रकृतिको पदार्थ एक सय ३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू पक्राउ परेका छन्। झापा गाउँपालिका-४ चर्तागाछीबाट भने पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्।
यसैगरी, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम तीन सय ८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्।
धनुषाको शहीदनगर नगरपालिका-३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम पाँच सय ८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन्।
पर्साको पोखरिया नगरपालिका-५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब पाँच सय ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम आठ सय ४० मिलिग्रामसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो एक सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्।
बाँकेको डुडुवा गाउँपालिका-२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।
प्रकाशित: ७ भाद्र २०८३ १२:१६ आइतबार





