२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण : भ्रष्टाचार भएको जनप्रतिनिधिको आरोप

सिन्धुपाल्चोक - स्थानीय तहका जनप्रतिनिधिले भूकम्पपछिको पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्। भूकम्पले सर्वाधिक क्षति व्यहाेरेकाे सिन्धुपाल्चोककाे पुनर्निर्माणको समीक्षा गर्न सोमबार सदरमुकाममा आयोजित बैठकमा उनीहरुले अनियमितताको क्षेत्र किटेरै भ्रष्टाचार भएको आरोप लगाएका हुन्। भूकम्पबाट क्षतिग्रस्त सरकारी कार्यालय र विद्यालय भवन निर्माणमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ।

पुनर्निर्माणमा स्थानीय तहसँग समन्वय नगरेको भन्दै उनीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्लास्थित आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) प्रति आक्रोश व्यक्त गरे। पुनर्निर्माणको नाममा संघीय संरचनामा जिल्लामै नरहने विभिन्न सरकारी कार्यालय भवन धमाधम बनाएको आपत्ति जनाउँदै उनीहरुले एकै स्वरमा भने, ‘माथिदेखि तलसम्म सेटिङमा सबै काम भइरहेको छ।’

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले पुनर्निर्माणमा भ्रष्टाचार भएका क्षेत्र नै किटान गरेर आरोप लगाए। विद्यालय भवन बनाउने जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र सरकारी कार्यालयका भवन निर्माण गर्ने जिम्मेवारी पाएको अर्को इकाइ (भवन) प्रति आक्रमक रुपमा प्रस्तुत हुँदै अर्यालले भने, ‘विद्यालय र सरकारी भवनको पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भइरहेको छ।’ इकाइ प्रमुख कृष्ण सुवेदीले विद्यालय भवन निर्माणबारे प्रगति विवरण पेश गरिरहँदा उनलाई बीचमै रोकेर प्रमुख अर्यालले विद्यालय पुनर्निर्माणमा सबैभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाए। ‘गत वर्ष पाएको विद्यालय भवनको पुनर्निर्माण सकिएको छैन, त्यही ठाउँमा अर्को भवन बाँडिएको छ,’ उनले थपे, ‘यसको भित्री मक्सद भनेको भ्रष्टाचार नै हो।’ विद्यालयलाई चन्दा दिने ठेकेदारलाई ठेक्का दिएकोे दाबी गर्दै उनले साँठगाँठका आधारमा विद्यालय भवन वितरण गरेको जिकिर गरे। मेलम्ची नगर प्रमुख अर्यालसहित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा, पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष तासी लामा लगायत जनप्रतिनिधिले सरकारी भवन निर्माणमा प्रश्न उठाए। ‘जिल्लास्थित विषयगत कार्यालय स्थानीय तह जाने भनिएको छ, तर सदरमुकाममा धमाधम सरकारी भवन बनिरहेका छन्,’ आक्रोश पोख्दै उनीहरुले प्रश्न गरे, ‘भूतबंगाला बनाउन किन लगानी गरेको ? यसको भित्री उद्देश्य के हो ?’

जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार–जिमाली) ले भूकम्पपछिको पुनर्निर्माणको समीक्षा गर्न बैठक आयोजना गरेको थियो। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत सहितको समीक्षामा जिमालीका जिल्ला आयोजना व्यवस्थापकले ५१ प्रतिशत अर्थात झण्डै ४५ हजार घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए।

डिएलपिआइयु (भवन) प्रमुख टंक गौतमले जिल्लामा भूकम्प पीडित लाभग्राही ८६ हजार रहेकोमा विभिन्न अनुदान किस्ता वितरण अन्तिम चरणमा पुगेको बताए। गाैतमले भूकम्पबाट ६० सरकारी कार्यालय तथा संरचना क्षतिग्रस्त भएकोमा ५० को पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। डिएलपिआइयु (शिक्षा) प्रमुख कृष्ण सुवेदीले भूकम्पबाट जिल्लाका ५ सय २८ सामुदायिक विद्यालयमा क्षतिग्रस्त भएकोमा २ सय ६ विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

खानेपानी, सिञ्चाइ लगायत विभिन्न विषयगत कार्यालयले भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगति प्रस्तुत गरेका थिए। समीक्षामा आ–आफ्ना धारणा राख्दै जनप्रतिनिधिहरुले जिल्ला स्थित विषयगत कार्यालयले स्थानीय तहलाई असहयोग गरेको गुनासो गरे।

प्रकाशित: १ आश्विन २०७५ १४:३८ सोमबार

स्थानीय_तह भ्रष्टाचार जनप्रतिनिधि भुकम्प