१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

तालमा सयर गर्दै हुनुहुन्छ, हाेसियार!

वेगनासतालमा डुंगा सयर गर्दै सर्वसाधारण। फाइल तस्बिरः उमेश पुन/नागरिक

पोखरा – २०६८ वैशाख ५ गते वेगनासतालमा भएको डुंगा दुर्घटनामा ३ जनाको मृत्यु भयो। तालमा सयर गरिरहँदा चट्याङ लागेर तीनजना महिलाले तालमा खसेर ज्यान गुमाएका थिए।

– २०६९ चैत २१ गते वेगनासतालमै भएको डुंगा दुर्घटनामै पोखरा रामबजारका ५ जनाको ज्यान गयो। यात्रु सवार डुंगा दुर्घटना हुँदा पाँचैजनाले तालमा डुबेर ज्यान गुमाएका थिए।

– २०७५ भदौ २३ गते (शनिबार) बेगनासतालमै डुंगा पल्टिँदा ८ जनाको मृत्यु भयो। तीजको दर खान आफन्तको घर जानेक्रममा यात्रु सवार डुंगा तालमा डुब्दा उनीहरूको ज्यान गएको थियो।

वेगनासतालमा डुंगा डुब्दा भएका मानवीय क्षतिका यी केही उदाहरण मात्र हुन्। तालमा डुबेर बर्सेनि स्थानीय र पर्यटकले ज्यान गुमाउने गरेका छन्। वेगनासमा मात्र नभई फेवातालमा पनि बारम्बार डुंगा डुब्दा मानवीय क्षति हुने गरेका छन् । पर्यटकीय गन्तव्यका यी दुई ताल पछिल्लो समय सर्वसाधारणले अनाहकमा ज्यान फाल्ने ठाउँ बनेका छन्। तालमा सयर गरिरहँदा हुने यी दुर्घटनाले हरेक वर्ष अकालमा ज्यान लिने गरेको छ । जसको पछिल्लो उदाहरण शनिबारको घटना हो।

आखिर किन हुन्छ डुंगा दुर्घटना? डुंगा व्यावसायी भन्छन्, ‘यसमा यात्रु, चालक, मौसम, समय, स्थानीय प्रशासन सबैको दोष छ। वेगनास डुंगा व्यावसायी समितिका निवर्तमान अध्यक्ष झकनाथ कँडेल डुंगा दुर्घटना हुनुमा सबै जिम्मेवार रहेको बताउँछन् । यात्रुले अटेर गर्ने, व्यावसायीले बेवास्ता गर्ने र प्रशासनले कडाइ नगर्दा बेलाबेला दुर्घटना हुने गरेको उनी बताउँछन् । ‘डुंगा दुर्घटना एक दिन होइन, धेरैपटक भइसके,’ उनले भने, ‘तालमा रमाउन पुग्दा ध्यान दिएन भने ज्यानै जान सक्छ । तर, धेरैले तालमा सयर गर्नुलाई मनोरञ्जनका रूपमा मात्र हेर्छन् । सुरक्षामा पटक्कै ध्यान दिँदैनन्।’ भवितव्यबाहेक अरू बेला बेवास्ता गर्दा तालमा दुर्घटना हुने गरेको उनी बताउँछन्।

उनका अनुसार डुंगामा सयर गर्दा व्यावसायीले पर्यटकका लागि लाइफ ज्याकेट अनिवार्य गरेको छ। लाइफज्याकेट लगाउँदा अतिरिक्त शुल्क लाग्दैन। तर, यात्रुले लाइफ ज्याकेट लगाउनै मान्दैनन्, व्यावसायीको जोडबलले ज्याकेट लगे पनि डुंगा चढ्ने बेला लगाउँछन्, अलिक पर पुगेपछि उतार्छन्। उनीहरूले चालकलाई टेर्दैनन्। ‘लाइफ ज्याकेट लगाएर सयर गर्दा केही गरी डुंगा घोप्टियो भने ज्याकेटले माथि उतार्छ । नआत्तिइकन हातखुट्टा चलाउने हो भने तैरिन सकिन्छ,’ कँडेलले नागरिकसँग भने, ‘सुरक्षाको भरपर्दाे व्यवस्था गरेर हामीले यात्रुलाई पठाउँछौ। तर, उनीहरू अटेर गर्छन् । सयर गरेर किनारमा फर्किंदा कसैको शरीरमा ज्याकेट हुँदैन, सबैले खोलिसक्छन्।’

उनका अनुसार डुंगामा सयर गर्दा गर्नै नहुने काम यात्रु, र चालकले गर्छन्। त्यसले दुर्घटना निम्त्याउँछ। सयर गर्नुअघि डुंगा चुहिने छ वा छैन भन्ने पनि हेक्का राख्नुपर्छ। ‘डुंगाको क्षमता पनि थाहा पाउनुपर्छ। एकजना त बढी हो भनेर क्षमतालाई उपेक्षा गर्नु हुँदैन,’ उनले भने, ‘चारजना क्षमताको डुंगा भनेर पनि हुँदैन, यात्रुको तौलमा भर पर्छ।’ केही पैसा जोगाउने लोभमा खचाखच तरिकाले डुंगा सयर गर्नु पनि जोखिम निम्त्याउनु रहेको उनले बताए।

चालकबाहेक आफैंले चलाएर डुंगा लैजाने हो भने कतिवटा बहाना छन् भन्ने हेर्नुपर्ने उनको सुझाव छ। हरेक डुंगामा कम्तीमा दुईवटा बहाना अनिवार्य छ । एउटा बहानाको भरमा सयर गर्दा केही गरी बहाना तालमा खस्यो भने बीचमै अलपत्र पर्ने अवस्था आउने उनले बताए। ‘तालको बीचमा बहाना अभावमा हलचल गर्न नपाउने हुन सक्छ, त्यसैले दुईवटा बहाना हुनैपर्छ,’ कँडेलले भने।

स्थानीय बासिन्दाले लाइफ ज्याकेट नलगाउने र एकजना मान्छे थपिदेऊ भनेर जबर्जस्ती भार बढाउने पनि गर्छन्। त्यो पनि तालमा जोखिम हुने उनको भनाइ छ । कँडेलको अनुभवमा डुंगामा सयर गर्दा मौसमको ख्याल गर्नुपर्छ । चैतदेखि जेठसम्मको मौसममा हावाहुरी चल्ने भएकाले ध्यान दिएर मात्र डुंगा चढ्नुपर्छ।

‘डुंगाचालकको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ । जो मान्छे चलाउन जान्ने छ, उसले मात्र चलाउने हो, जानेको छु वा सिक्नुप-यो भनेर नजान्नेलाई चलाउन दिनुहुन्न,’ उनले भने, ‘अलिअलि जानेको छु भन्दैमा उसलाई पनि दिनुहुन्न । किनकि यो तालमा डुंगा खियाउने हो, सडकमा साइकल गुडाउने होइन।’

कँडेलका अनुुसार मादक पदार्थ सेवन गरेर डुंगा चलाउनु हुँदैन । ‘आफैं डुंगा लिएर जानेले सुरुमा सेवन गरेका हुँदैनन् तर फर्किने बेला शरीरै धान्न नसक्ने अवस्थामा आउँछन्, यसले तालमा दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘मादक पदार्थ सेवनले सबैभन्दा बढी जोखिम निम्त्याउँछ ।’ उनका डुंगामा सयर गर्ने क्रममा डुंगा हल्लाउने गर्नु हुँदैन । डुंगामा सयर गर्दा बढी जान्ने भएर यताउति गर्ने, उठ्ने, नाच्ने, हल्लिने गर्दा सन्तुलन बिग्रन्छ र दुर्घटना निम्तिन्छ।

कँडेलको सुझावमा डुंगामा उभिएर सेल्फी खिच्दा पनि खतरा हुन्छ । खुट्टा जोडेर उभिएर सेल्फी खिच्दा डुंगाको भार एकातिर बढ्न सक्ने र त्यसले जोखिम निम्त्याउँछ । त्यसैले सेल्फी खिच्नै मन लागे खुट्टा फट्टाएर उभिएर खिच्दा सन्तुलन मिल्छ । त्यसबाहेक ४–५ जना मान्छे एकैतिर फर्किएर सामूहिक तस्बिर खिच्ने बेलामा पनि खतरा हुन्छ । यस्तोमा डुंगाको एकापट्टि भागमा मात्र तौल बढ्न गई ढल्केर डुब्ने जोखिम हुन्छ । त्यसैले समूहमा फोटो खिच्दा पनि खतरा हुन्छ। अनि रमाइलो गर्न आएको भनेर डुंगामा बसेर पानीले छ्यापाछ्याप गर्दा पनि जोखिम हुन्छ । छ्यापाछ्याप खेल्दा गोजीका मोबाइल, पर्सजस्ता मूल्यवान वस्तु खस्ने र ती जोगाउन खोज्दा मान्छे नै सन्तुलन बिगारेर तालमा डुब्न सकिने भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ।

‘तालमा डुबेको मान्छेको ५ मिनेटभित्र उद्धार भएमा ज्यान जोगिन्छ । नत्र जीवित फर्कने सम्भावना निकैकम हुन्छ,’ उनी भन्छन्, ‘शनिबारको दुर्घटनाबारे १५ मिनेटपछि मात्र उद्धार टिमलाई थाहा भएको थियो । त्यो निकै नै ढिला थियो ।’ शनिबार सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । हरेक डुंगामा कम्तीमा एउटामात्र ज्याकेट भयो भने पनि त्यसले केहीको ज्यान जोगाउँने कँडेल बताउँछन् । ‘एउट ज्याकेटमा तैरिएर डुंगामा झुन्डिन सक्यो भने ज्यान जोगिन्छ,’ उनले भने।

वेगनासमा मात्र २५७ वटा डुंगा छन् । तीबाहेक उद्धारका लागि २ वटा मोटरबोट छन् । ती मोटरबोट १०–१२ जना उद्धारकर्ता बोकेर १० मिनेटमा तालको कुनै पनि बिन्दुमा पुग्न सक्छन् । स्थानीयलाई भने त्यहाँ लाइफ ज्याकेट अनिवार्य छैन । पर्यटकका लागि २ सय ८० वटा ज्याकेट छन् । व्यावसायीका अनुसार एउटा ज्याकेटको १५ सय रुपैयाँमात्र पर्छ।

समितिका सचिव पुष्पराज पाण्डे भन्छन्, ‘पर्यटकका लागि अनिवार्य हो । तर, स्थानीयका लागि होइन ।’ कास्की प्रशासनले २०६९ मा तालमा सवार गर्दा सबैले लाइफ ज्याकेट लगाउन अनिवार्य गरेको थियो । तर, वेगनासमा स्थानीयबाहेकलाई मात्र त्यो नियम लागू गरियो । ‘स्थानीयका आफ्नै डुंगा छन् । कुनै पनि बेला आउजाउ गर्ने भएकाले ज्याकेट राख्न झन्झट भएपछि खुला छाडेका हौं,’ पाण्डे भन्छन्, ‘शनिबारको घटनाले हामीलाई सबैका लागि लाइफ ज्याकेट भन्ने सिकाएको छ । अब त्यो लागू गर्छौै।’

निवर्तमान अध्यक्ष कँडेलका अनुसार व्यावसायीले पनि केही नियम पालना गर्न जरुरी छ । उनका भनाइमा ढुंगामा अनिवार्य रूपमा कम्तीमा एउटा ज्याकेट राख्नुपर्छ । एउटै ज्याकेटमा समाएर पनि बच्न सकिन्छ । त्यस्तै डुंगामा लामो डोरी राख्ने र त्यसमा ट्युब बाँधेर डुंगामा राख्यो भने उद्धारमा सहज हुन्छ ।
डुंगाको नियमित मर्मतसम्भार, ताल किनारमा लडेका बुट्यानको सरसफाइ पनि नियमित हुनुपर्छ । किनकि त्यही बुट्यानमा ठोक्किदा दुर्घटना हुन्छ । त्यसबाहेक चालक अनिवार्य हुनुपर्छ । चालकले अरूलाई डुंगा चलाउन दिनुहुन्न ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा अब घरायसी काममा जाने वा रमाउन आउनेले लाइफ ज्याकेटबिना सयर गर्न नपाउने गरी कडाइ गरिने बताए । व्यावसायीले ज्याकेट अनिवार्य नगरे उसलाई डुंगा चलाउन नदिने पनि उनले बताए। ‘हामीले ठूलो मानवीय क्षति व्योहोरेका छौं । अब लाइफ ज्याकेटबिना कोही पनि डुंगा सयर गर्न पाउँदैन। कसरी कडाइ गर्ने भन्नेमा हामीले तत्काल छलफल गर्दैछौ,’ बुढाले भने।

डुंगा चढ्दा अपनाउनुपर्ने विधि
– लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्छ ।
– डुंगाको अवस्था यकिन गरेर मात्र चढ्नुपर्छ ।
– क्षमताभन्दा बढी चढ्नु हुँदैन ।
– पैसा जोगाउन खोजेर खचाखच चढ्नु हुँदैन ।
– कम्तीमा २ वटा बहाना लिएर मात्र डुंगा चलाउनुपर्छ ।
– अनावश्यक जिद्दि गर्नु हुँदैन ।
– चैतदेखि जेठसम्म मौसमको बढी ख्याल गर्नुपर्छ । त्यो बेला हावाहुरी आउन सक्छ ।
– डुंगाचालकको अवस्था पहिचान गर्नुपर्छ ।
– सिकारुसँग सयरमा जानु हुँदैन ।
– अलिअलि जानेको छु भन्दै जबर्जस्ती चलाउन वा डुंगा लिएर जान हुँदैन ।
– मादक पदार्थ सेवन गरेर चलाउनु हुँदैन । चालकलाई पनि मादक पदार्थ खुवाउनु हुँदैन ।
– डुंगा बसेर हल्लिन नहुने ।
– सेल्फी खिच्दा पनि खतरा हुन्छ । खुट्टा जोडेर सेल्फी खिच्नु हुँदैन ।
– ४/५ जना मान्छे एकैतिर आएर फोटो खिच्दा पनि खतरा हुन्छ । हलचल गर्नु हुँदैन ।
– पानी छ्यापछ्याप गर्न हुँदैन ।

प्रकाशित: २६ भाद्र २०७५ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App