२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अझै पत्ता लागेन पूर्वराजदूत झाको हत्यारा

काठमाडौं - भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले उनको शरीरमा भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार गरी हत्या भएको जनाएको थियो । तर, तीन साता बित्दासमेत प्रहरीले हत्यारा को हो भन्ने पत्ता लगाएको छैन। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले झाको हत्याबारे अनुसन्धान भइरहेको बताए।

प्रहरीले घरको सुरक्षा गर्ने गार्ड सानुकान्छा तामाङ र बगैंचामा काम गर्ने दुईजना मालीलाई पक्राउ गरेको छ। झाको हत्या हुँदा घरमा ८० वर्षीय राजदूत र उनकी श्रीमती र सुरक्षा गार्ड पनि सोही घरमा बस्थे। घटना भएको दिन भने प्रहरीले केही दिनभित्रै हत्यारा पत्ता लगाउने जनाएको थियो। घटना भएको १९ दिनसम्म पनि प्रहरीले सो विषयमा अनुसन्धान गरिरहेको छ । ‘झा हत्याको विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले सकेसम्म सबै प्रकारका प्रविधि प्रयोग गरेर अनुसन्धान गरिरहेको छ,’ महाशाखा प्रमुख एसएसपी सिंहले भने।

त्यस्तै भदौ १७ गते काठमाडौंको बसुन्धरास्थित एक गेस्ट हाउसमा एक युवतीको शव फेला परेको थियो। धादिङ घर भएकी २० वर्षीया युवती लक्ष्मी परियारको शव फेला परेपछि प्रहरीले उनको हत्यारा खोजिरहेको जनायो। करिब २२ वर्षीया परियार बसुन्धरास्थित स्पिड गेस्ट हाउसमा कोठा लिएर बसेकी थिइन्। होटल सञ्चालकले प्रहरीलाई दिएको जानकारी अनुसार गत भदौ १३ गते बिहान लक्ष्मीसँगै आएका युवक भने बाहिरबाट कोठामा ताल्चा लगाएर गएका थिए। कोठामा बस्ने बेलामा परियार र ती युवकले आफूहरू श्रीमान्–श्रीमती भएको बताएका थिए। हत्यारा नभेटेकाले उनीहरूको के सम्बन्ध थियो भन्ने बारेमा यकिन भएको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बसुन्धराको गेस्ट हाउसमा मृत फेला परेकी परियारको हत्या भएको आशंका व्यक्त गरेका थिए। ‘उनको हत्या भएको हुनसक्छ, उनीसँगै आएका केटा साथी वा श्रीमान् जो भए पनि उनको खोजी भइरहेको छ,’ एसपी जोशीले भने।

सोही दिन अर्थात् भदौ १७ गते नै बाग्लुङ बुर्तिवाङका संगीत जीसी मृत अवस्थामा फेला परेका थिए। काठमाडौंको स्वयम्भूमा टाउको चुँडिएको अवस्थामा उनको शव फेला परेको हो। स्वयम्भूमा फेला परेको शवको टाउको चुँडिएको भए पनि सो शव कसको थियो भन्ने पत्ता नलागेपछि पोस्टमार्टमका लागि प्रहरीले शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो। भदौ १० देखि हराइरहेका जीसीको खोजीका लागि प्रहरीमा उजुरी गरेका आफन्तले शिक्षण अस्पतालमा उनको शवको पहिचान गरेका थिए। जिसी अध्ययनका लागि काठमाडौंमा बसेका थिए । संगीत जिसीका आफन्त मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् भने उनीहरूले दोषीलाई कारबाहीको माग गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन।

जीसीका आफन्तले प्रहरी परिसर काठमाडौंमा पुगेर हत्या भएको आशंका गरेका छन्। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालाई जीसीका आफन्तले भेट गरी अनुसन्धान गर्न माग गरेका छन्। जीसीको शव अहिले पनि शिक्षण अस्पतालमै छ।

भदौ २० स्वयम्भू हाइटमा गाडीभित्र शव फेला थियो। स्वयम्भूको पार्किक क्षेत्रमा राखिएको बा८च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव फेला परेको हो। मृतक काठमाडौं नैकापका श्याम श्रेष्ठ भएको खुल्न आए पनि उनको मृत्यु कसरी भयो भन्ने वियषयमा प्रहरीले केही बताएको छैन। उनको शव फेला परेको कार आफ्नै भएको खुलेको छ। उनी शेयर कारोबारीसमेत हुन्। उनको हत्या भएको हो वा आफैं आत्महत्या गरेका हुन् भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७५ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App