४ वैशाख २०८१ मंगलबार
समाज

योजनावद्ध हत्या भएको आफन्तको आशंका

बर्दिया - प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन्। स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका हुन्। उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका–६ का यादव ३० वर्षीय यादवको गत शुक्रबार राति हिरासतमै मृत्यु भएको थियो।

यही भदौ ७ गते बर्दियामा आयोजित एक कार्यक्रममा जाने क्रममा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेपछि प्रहरीले सिके राउत समूहका जिल्ला सदस्य यादवसहित चार नेता पक्राउ गरेको थियो। पक्राउ परेका अन्यमा सिके राउत समूहका बाँके–बर्दियाका सह–संयोजक हरपाल सिंह, बाँके जिल्ला संयोजक हरफन शेष र क्षेत्रीय संयोजक राजितराम बर्मा छन्। उनीहरूविरुद्ध प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। मुलकी अपराध संहिता ऐन २०७५ को दफा ४९ अन्तर्गत राज्यविरुद्ध अपराधमा १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

पोस्टमार्टमका लागि यादवको शव काठमाडौंस्थित ट्रमा सेन्टरमा राखिएको छ। पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेका मृतकका भाइ विमल यादवले प्रहरीको नियन्त्रणमा रहेका आफ्नो दाइको मृत्यु रहस्यमय भएको बताए। ‘प्रहरीले स्वस्थ अवस्थामा पक्राउ गरेको दाइको कसरी मृत्यु भयो?,’ उनले भने, ‘हत्या भएको हुन सक्ने हाम्रो आंशका छ।’ वैदेशिक रोजगारीका लागि मलेसिया रहेका उनी शनिबार काठमाडौं पुगेका हुन् । उनी दुई दिनदेखि दाईको शव परीक्षण भइरहेको ट्रमा सेन्टरमा छन्।

प्रहरी वृत्त महाराजगन्जमा दाइको हत्या भएको हुन सक्ने आशंका गर्दै विमलले घटनाको सत्यतथ्य छानबिनका लागि अदालत जाने बताए । ट्रमा सेन्टरमै रहेका मृतकका आफन्त जाफर यादवले पनि उनको हत्या नै भएको आशंका व्यक्त गरे । उनले भने,‘पोस्टमार्टमा रिपोर्ट आएपछि सबै कुरा बाहिर आउला ।’ कुनै संगठनमा आवद्ध भएकै आधारमा प्रहरीले भने काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको दाबी गरेको छ । प्रहरीका अनुसार बिहीबार बिहान बेहोस भएका यादवलाई बर्दिया, बाँके हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । तर, उपचारकै क्रममा शुक्रबार राति २ बजे उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

यसैबीच प्रहरी हिरासतमा रहेका हरफन शेष पनि बिरामी भएका छन्। लामो समयसम्म पखाला चलेपछि शेषको अहिले बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार पखालाबाट पीडित शेषलाई सलाइन पानी चढाएर उपचार गरिएको छ।

प्रकाशित: १८ भाद्र २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App