१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डेढ महिनामा ३३ बलात्कार, बढी जोखिममा बालिका

नेपालगन्ज – रूपन्देही कञ्चनपुर गाउँपालिकामा ६ वर्षीया बालिकालाई २० वर्षीय विकल पुनले प्रलोभनमा पारेर बलात्कार गरे । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार चकलेट र पैसाको लोभ देखाएर विकलले बालिका बलात्कार गरेका थिए । परिवारले घटनाबारे प्रहरीमा उजुरी दिएपछि विकल पक्राउ परे।

गत साउनमा बाँकेको राप्ती सोनारी भत्तेपुरमा ४५ वर्षीय पुरुषबाट ११ वर्षीया बालिका गाउँकै जंगलमा घाँस काट्न गएको बेला बलात्कारको सिकार बनिन् । पीडितले घटनाबारे घरमा बताएपछि प्रहरीसम्म खबर पुग्यो । प्रहरीले बलात्कार गर्नेलाई प्रहरी हिरासतमा लिएर कारबाही गरिरहेको छ । यसै साता नेपालगन्जमा १८ वर्षीय युवकले छिमेककी १३ वर्षीया बालिकालाई राति बलात्कार गरेको उजुरी प्रहरीकहाँ पुग्यो । प्रहरीले ती युवकलाई थुनामा राखेर मुद्दा चलाइरहेको छ ।

घोराही उपमहानगरपालिका–१६ की राधा (नाम परिवर्तन) आफूलाई रोगव्याध लाग्नासाथ छिमेकी धामीकहाँ पुगिहाल्थिन् । धामीकै झारफुकले निको भएको महसुस गर्ने उनको पहिलो उपचार थलो नै छिमेकी धामीको घर थियो । बिरामीलाई झारफुक गर्ने उनै धामीको रूप सेवकका रूपमा मात्रै रहेन । उनले आफूकहाँ झारफुक गर्न आउने राधामाथि गिद्धे नजर लगाउन सुरु गरे।

गत साउन १६ मा सन्चो नभएपछि राधा उनै धामीकहाँ पुगिन् । घरमा धामी एक्लै थिए । सुरुमा झारफुकजस्तो गरेका धामीको मनमा पाप कुर्लियो । आफूकहाँ उपचार गराउन आएकी राधालाई उनले बलात्कार गरिछाडे । ‘सधैं बिरामी भएका बेला उपचारका लागि जाने गरेकी ती महिलाका लागि धामी नै बलात्कारी बनिदिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतम भन्छन्, ‘भरपर्दो उपचारको विश्वासमा राधालाई बलात्कारको सिकार हुनुपर्याै।’

धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ पुगेर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ। 

यी घटना रूपन्देही, बाँके र दाङमा देखिएका यी केही उदाहरण हुन् । प्रदेशमा ५ मा बलात्कारका घटना डरलाग्दो रूपमा बढेको छ । गत साउनयता प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् । प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ बलात्कार सामाजिक विकृतिका रूपमा देखिएको बताउँछिन् । उनले भनिन्, ‘घटना ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यसलाई ढाकछेप गर्नहुन्न भन्ने मान्यता विकास हुनु राम्रो पक्ष हो । अझै थोरै घटनामात्र सार्वजनिक भएका छन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ पुगेर मिलाउने प्रयास गरिन्छ । अनि दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ।’

प्रदेश ५ प्रहरी कार्यालयका अनुसार जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता संख्या डरलाग्दो छ । साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै देखिएको छ । बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी मुद्दा रूपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व) मा १, बर्दियामा ४ वटा दर्ता भएको प्रदेश ५ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । गुल्मी र अर्घाखाँची भने जबरजस्ती करणी उद्योगको एउटा मुद्दा पनि दर्ता भएको छैन।

सञ्चारमाध्यम र प्रहरीमा आएको उजुरी हेर्दा महिलालाई सार्वजनिक रूपमा हिँड्डुल गर्नसमेत अप्ठ्यारो पर्ने अवस्था आउन लागेको सांसद केसीले बताइन् । उनले भनिन्, ‘महिला कति असुरक्षित छन् भन्ने पछिल्ला घटनाले देखाउँछ । कञ्चनपुर घटनालाई हेर्दा पुग्छ । कानुन बनाएर मात्र हुँदैन । कार्यान्वयन गर्ने निकाय नै कसरी बलात्कारका घटना लुकाउन खोज्छन् भन्ने उदाहरण हो त्यो घटना । शक्तिमा भएका व्यक्तिले बलात्कारलाई ढाकछोप गर्न खोज्छन् । दुर्भाग्य हो यो । राज्यका निकायप्रति विश्वास गर्न नसक्ने वातावरण देखिएको छ । राज्यले यस्ता घटनामा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्छ । प्रदेश र स्थानीय सरकारले यसलाई रोकथाम गर्न कडा कानुन बनाउनुपर्छ।’

गत वर्षको तथ्यांकअनुसार प्रदेश ५ का १२ जिल्लामा २ सय ६४ वटा बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत वर्ष रूपन्देहीमा सबैभन्दा बढी ४५ बलात्कारका मुद्दा दर्ता भएका थिए । प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता पुष्पराज मल्ल बलात्कारका घटना सार्वजनिक हुनेक्रम बढ्दै गएको बताउँछन् । प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेत भन्छन्, ‘सांस्कृतिक, आर्थिक र सामाजिक कारणले बलात्कारका घटना भइरहेका छन् । प्रहरीले उजुरी आउनासाथ कारबाही प्रक्रिया अगाडि बढाइएकाले बलात्कारका घटनालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्ति कम भएको र घटना सार्वजनिक हुनेक्रम बढेको छ ।’ पछिल्लो समय यस्ता घटना दबाएर राख्नहुन्न भन्ने मान्यताका कारण प्रहरीसमक्ष उजुरी धेरै आउने गरेको उनको भनाइ छ । प्रदेशको तथ्यांक अध्ययन गर्दा बलात्कारको सिकार हुनेमा अधिकांश बालिका छन्।

इन्सेक दाङले जिल्लामा गत साउनयता अहिलेसम्म १० वटा बलात्कारका घटना भएको र यो अहिलेसम्मकै अधिक रहेको जनाएको छ । साउनमा मात्रै ७ वटा घटनामा ९ जना पीडित बनेका छन् । इन्सेकका अनुसार यी सबै घटनामा अधिकांश बालिका बलात्कृत भएका छन् । ‘सबैजसो बालिका बलात्कारका घटना हुन्,’ इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले भने, ‘चार वर्षदेखि १३ वर्षसम्मका बालिका बलात्कारको सिकार बनेका छन्।’

गत पुसयताका ६ महिनामा मात्रै जिल्लामा २७ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भए । यी घटनामा २३ बालिका पीडित भए । इन्सेकका अनुसार यी घटनामा ३ वर्षदेखि १६ वर्षसम्मका बालिका तथा किशोरी पीडित भएका छन् । इन्सेकका जिल्ला प्रतिनिधि सागरले भने, ‘६ महिनायता जिल्लामा तीन वर्षकी बालिकासमेत बलात्कृत भएकी छिन् ।’ दाङमा गत वर्ष यही ६ महिनाको अवधिमा पनि बालिका नै बलात्कारको सिकार बनेका घटना बढी छन् । गत वर्ष जिल्लामा १८ बलात्कारका घटना भए । यी घटनामा ११ बालिका बलात्कारको सिकार बनेका थिए । गत वर्ष पनि ४ वर्षदेखि १३ वर्षसम्मका बालिका बलात्कृत भएको उनले बताए।

तीन बालिका आफ्नै बाबुबाट बलात्कृत भएको पनि उनले बताए । ‘जिल्लाको घटनाक्रम हेर्दा बालिकाहरू आफ्नै घरभित्र पनि असुरक्षित बन्दै गइरहेका छन्,’ उनले भने, ‘बाबु, दाजुबाटै बलात्कार भएका घटना बढ्दै गएका छन् ।’ गत वर्ष जिल्ला प्रहरी कार्यालय रोल्पामा ५ वटा बलात्कारका मुद्दा थिए भने ३ जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भए । त्यसो त रोल्पामा हुने कतिपय यस्ता घटना गाउँमै छलफलबाट समेत मिलाउने गरिन्छ।

यस वर्षको साउन १६ मा पश्चिम रोल्पाकी एक महिलामाथि जबरजस्ती करणी गरिएको मुद्दा दर्ता भएको छ । एकान्त ठाउँको घोरेटो बाटोमा आमालाई लछारपछार पारी बलात्कार गरिएको भन्दै छोरीले उजुरी दिएकी छिन् । जाहेरी दिने छोरीका अनुसार साँझ साढे सात बजेतिर एकान्त ठाउँमा रहेको घोरेटो बाटोमा आमालाई लछारपछार पारी बलात्कार गरिएको थियो।

त्यस्तै भदौ ७ गते एक पुरुषले आफ्नी पत्नीलाई छिमेकी पुरुषले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । माडी गाउँपालिका–१ घर्तीगाउँका ती पतिले आफ्नी पत्नीलाई छिमेकी ४८ वर्षीय वीरबल बुढामगरले बलात्कार गरेको आरोपसहित इलाका प्रहरी कार्यालय घर्तीगाउँमा शनिबार उजुरी दिए । आइतबार नै आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइयो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । प्रहरीमा परेको उजुरीमा आफ्नी पत्नीलाई छिमेकी बुढामगरले उनकै पसलमा लगेर बलात्कार गरेको उल्लेख गरेका छन् । पतिको जाहेरीका आधारमा बलात्कारमा परेकी भनिएकी महिलालाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

यसैगरी रुकुमको आठबीसकोट नगरपालिका–९ की २० वर्षीया एक महिला गत साउन २० गते राति बलात्कृत भइन् । आफ्नी एक छोरीसँगै घरमा सुतिरहेको अवस्थामा गाउँकै १६ वर्षीय दीपक बुढाथोकी र १४ वर्षीय भीमबहादुर बटालाले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै उनले प्रहरीसमक्ष उजुरी दिइन् । उनको उजुरीका आधार दुवैजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि अहिले हिरासतमा राखेको छ । उनीजस्तै जिल्लामा चालू आर्थिक वर्षको साढे एक महिनाको अवधिमा तीन महिलालाई बलात्कारको सिकार हुनुपरेको छ । रोल्पा प्रहरीमामा गत वर्ष ५ बलात्कार ३ जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भए।

ग्रामीण क्षेत्रमा बलात्कारका घटना बाहिर आउँदैनन् । समाजबाट घृणित हुन सक्ने भन्दै केही महिला यस्ता घटना लुकाउँछन् । अदालतसम्म पुगे पनि पीडितले न्याय नपाउने र उल्टै महिलाको बेइज्जत हुने भन्दै ग्रामीण क्षेत्रका महिला बलात्कारजस्तो गम्भीर अपराध लुकाउन बाध्य हुने पीडित बताउँछन्।

(कमल खत्री/नेपालगन्ज, देबेन्द्र बस्नेत/दाङ, विनाेद परियार/रूपन्देही, निर्मल घिमिरे/बर्दिया, दिनेश सुवेदी/राेल्पा, शमशेरविक्रम जिसी/प्युठान, लाेकेन्द्र खनाल/रूकुम)

प्रकाशित: १३ भाद्र २०७५ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App