१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

नियम मिचेर क्रसर संचालन

नियम मिचेर सञ्चालित धनगढीमाई नगरपालिकास्थित एक क्रसर उद्योग। तस्बिरः मिथिलेश/नागरिक

लहान - मापदण्ड नपुगेर नवीकरण नभएका ६ वटा क्रसर उद्योग जिल्लाको विभिन्न स्थानमा गैरकानुनी रूपमा सञ्चालित भएको पाइएको छ। यी क्रसर उद्योगलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय र उद्योग मन्त्रालयसँग निर्देशन मागेका छन्।

जिल्लामा गैरकानुनी तरिकाले सञ्चालित क्रसर उद्योगबारे समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जेठ महिनामा दुई सदस्यीय अनुगमन समिति गठन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएका थिए। लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईको संयोजकत्वमा घरेलु तथा सना उद्योग कार्यालय लहानका निमित्त प्रमुख लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ।

प्रतिवेदनमा धनगढीमाई नगरपालिका पर्ने साविक अयोध्यानगर–८ स्थित सन्नी क्रसर उद्योगको नवीकरण म्याद सकिएको तीन वर्ष भइसके पनि उद्योग सञ्चालनमै रहेको पाइएको उल्लेख छ। सो उद्योगको ०७१/०७२ असार मसान्तसम्म मात्र नवीकरण म्याद थियो। अनुगमनको क्रममा नवीकरण नभएको पाइएको सो क्रसर उद्योग सञ्चालकलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित घरेलु कार्यालयमा आउन पत्र काटिए पनि हालसम्म सम्पर्कमा नआएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, लहान नगरपालिकाको साविक वस्तिपुर–९ मा सञ्चालित जयकाली ढुंगा क्रसर उद्योगको नवीकरण म्याद पनि ०७२÷०७३ असार मसान्तमै समाप्त भइसकेको छ। यद्यपि सो क्रसर उद्योग हालसम्म सञ्चालनमै छ । मिर्चैया नगरपालिकाको चन्द्रउदयपुर–८ मा रहेको शिवम् क्रसर उद्योगको पनि नवीकरण म्याद ०७२/०७३ असार मसान्तमै सकिएको हो। तर पनि सो क्रसर उद्योग निर्वाध रूपमा चलिरहेकै छ। लहान नगरपालिकाको वस्तिपुर–९ मै रहेको हिमाल क्रसिंग उद्योगको नवीकरण म्याद ०७४/०७५ असार मसान्तमै सकिएको हो । म्याद सकिएको सो क्रसर उद्योगले पनि हालसम्म नवीकरण गरेको छैन । कर्जन्हा नगरपालिकाको बडहारामाल–४ स्थित जानकी क्रसर उद्योगको नवीकरण म्याद ०७२÷०७३ असार मसान्तमा सकिएको भए पनि उद्योग हाल पनि सञ्चालनमै रहेको छ।

‘यी क्रसर उद्योगहरुको हकमा कारबाहीका लागि गृह मन्त्रालय र उद्योग मन्त्रालयमा पत्र लेखी निर्देशन माग गरेको छु,’ प्रजिअ पण्डितले भने, ‘विभागीय अड्डा प्रमुखसहितको अनुगमन टोलीले दिएको प्रतिवेदन साथमा राखी कारबाहीका लागि मन्त्रालयसँग निर्देशन माग गरेको छु।’ मन्त्रालयबाट निर्देशन आउनेबित्तिकै गैरकानुनी रुपमा सञ्चालित क्रसरमाथि कारबाही सुरु हुने उनले बताए। गैरकानुनी क्रसरमाथिको कारबहीमा किन ढिलासुस्ती भएको हो भन्ने जिज्ञासामा उनले भने, ‘हामीले आलटाल गरेका होइनौं, निर्देशन आउनेबितिकै कारबाही थाल्छौं।’

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मीप्रसाद पौडेलले यी क्रसरहरुले नियमानुसार मापदण्ड पुगेको कागजात पेश गर्न नसक्दा नवीकरण हुन नसकेको बताए। खुला सीमानाका कारण अनुगमन र कारबाही गर्न असुरक्षित भएको बताउँदै उनले ज्यान जोखिममा पारेर कारबाही गर्न नसकिने बताए।

लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयमा ढुंगारोडा क्रसिङ गरी गिट्टी उत्पादन गर्ने १० क्रसर उद्योग दर्ता भएका छन्। जसमध्ये जगदम्बा क्रसर उद्योग सञ्चालनमै आएको छैन भने बाँकी ९ वटा उद्योगहरुमध्ये हिमालबाहेक ८ वटाको नवीकरण हुन सकेको छैन। क्रसर उद्योग सञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ। क्रसरको नवीकरणका लागि मापदण्ड चेकजाँच गरेर नियमानुसार भए नभएको हेर्ने गरिन्छ।

नियम मिचेर बालुवा प्रसोधन उद्योग दर्ता
धनगडीमाई नगरपालिका–९ मा स्वेच्छा वालुवा प्रशोधन केन्द्रले घरेलु तथा साना उद्योग कार्यालय लहानबाट सञ्चालन अनुमति लियो। ०७३ मंसिर १३ मा दर्ता उक्त उद्योगको हकमा पनि क्रसर सञ्चालन मापदण्ड पु-याउनुपर्ने प्रावधान छ। तर, मापदण्डबाहिर गएर सो उद्योगलाई अनुमति दिइएको पाइएको छ। राजमार्गसँग टाँसिएको भूमिमा सञ्चालित यो उद्योगको पूर्वमा मुसहर्निया टोल छ।

त्यस्तै सोही नगरपालिका–८ मा अर्को पुकार बालुवा प्रशोधन केन्द्र दर्ता भएको छ। यद्यपि सो उद्योग सञ्चालनमा छैन। कर्जन्हा नगरपालिका–९ बडहरामालमा प्रशान्त बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छ । ०७३ भदौमा दर्ता सो उद्योग पनि क्रसर उद्योग सञ्चालन मापदण्डभित्र पर्दैन। यो उद्योग पनि मानववस्ती नजिकै छ।

घरेलु कार्यालयका निमित्त प्रमुख पौडेलले पहिला कसरी बालुवा प्रशोधन केन्द्रको अनुमति दिइयो भन्नेबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। उनले भने, ‘म निमित्त भएदेखि क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्रको अनुमति दिइएको छैन।’ सर्वोच्च अदालतको ०६७ साउन २१ को आदेश तथा वातावरण मनत्रालयको ०६७ भदौ २३ को निर्णय तथा मन्त्रिपरिषद्को २०७० भदौ ७ गतेको निर्णयले क्रसर संचालनका लागि नयाँ मापदण्ड र सर्त तोकेको छ।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइए) पनि गराउनुपर्ने प्रावधान छ। आइइए प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदा अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान छ। क्रसर मेसिनका लागि सेड अनिवार्य रुपमा राख्नुपर्ने उल्लेख छ। नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने उल्लेख गरिएको छ।

गाउँपालकिाको हकमा उद्योग मानव वस्तीबाट २ किलोमिटर टाढा हुर्नुपर्ने प्रावधान छ। खोला किनारबाट ५ सय मिटर टाढा र राजमार्गबाट ५ सय मिटर टाढा हुनुपर्ने प्रावधान पिन तोकिएको छ। धार्मिक सांस्कृतीक र पुरातात्विक महत्वको स्थानबाट पनि २ किलोमिटर टाढा हुनुपर्ने उल्लेख छ।

प्रकाशित: ८ भाद्र २०७५ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App